०९ असार २०८३, मंगलबार
चिकित्सकको प्रेरणादायी जोडी

एउटै अस्पतालमा कार्यरत डाक्टर दम्पतीको प्रेम र पेशाप्रतिको समर्पणको कथा

असार २१, २०८२
विराटनगर
एउटै अस्पतालमा कार्यरत डाक्टर दम्पतीको प्रेम र पेशाप्रतिको समर्पणको कथा

डा. आशिष र डा. निशाको जीवन कथा चलचित्रजस्तै र  प्रेरणादायी छ  । दुवै  चिकित्सक पेशामा समर्पित छन् । उनीहरू दम्पती मात्रै होइनन्, आदर्श चिकित्सक पनि हुन् ।

निशाको माइती घर काठमाडौं हो । बुवा नवराज र आमा सुशीलाका तीन सन्तानमध्ये निशा जेठी छोरी हुन् । भाइ पाइलट र बहिनी व्यवस्थापन क्षेत्रमा छन् ।

उनको बाल्यकाल बालाजुस्थित सिद्धार्थ बनस्थली स्कुलमा बित्यो । त्यही स्कुलबाट एसएलसी पास गरिन् । त्यसपछि विज्ञान संकाय लिएर उच्च माध्यमिक तह पनि सिद्धार्थ स्कुलबाटै पढिन् ।

चिकित्सक उनको व्यक्तिगत चाहनाको उपज होइन, यो बुवाको सपना पूरा गर्ने कडी थियो । बुवाको इच्छाले नै उनलाई डाक्टर बनाउनु थियो ।

सन् २००४ मा उनी एमबीबीएस पढ्न चीनतर्फ लागिन् । त्यहाँबाट सन् २०१० मा स्नातक शिक्षा पूरागरी स्वदेश फर्किइन् ।

डा. आशिषको घर मोरङको टंकीसिनवारी (हाल बुढीगंगा गाउँपालिका–१) मा हो । २०४४ असारमा जन्मेका डा. थापा बुवा अर्जुन थापा र आमा देवीका जेठा सन्तान हुन् । आठ जना दाजुभाइ–दिदीबहिनीको संयुक्त परिवारमा उनी हुर्के/बढे

null

उनको शैक्षिक यात्रा विराटनगरबाट शुरू भयो । बकेभीएम (बाल कल्याण विद्यामन्दिर)बाट २०५९ सालमा एसएलसी उत्तीर्ण गरेपछि +२ पढ्न काठमाडौं गए । निस्ट कलेजबाट प्लट टू गरेका उनी सपना पूरा गर्न चीनतर्फ लागे । जियाङ्सी युनिभर्सिटीबाट एमबीबीएस र त्यसपछि चीनकै प्रख्यात सन यात–सेन युनिभर्सिटीबाट न्युरोसर्जरीमा मास्टर्स (एमएस) गरे ।

एमबीबीएस सकेर २०६८ सालमा नेपाल फर्किएपछि उनको करियरले निर्णायक मोड लियो । उनी विराटनगरको न्युरो अस्पतालमा डा. यमबहादुर रोक्कासँग काम गर्न थाले । बाल्यकालमा देखिएको सपना डा. रोक्काको मार्गदर्शनमा यथार्थ बन्दै गयो । डा. थापा सम्झन्छन्, ‘डा. रोक्कासँग काम गर्न थालेपछि मेरो सपनामा लालमोहर लागेजस्तो लाग्यो ।’
 

डा. रोक्कासँग उनले शल्यक्रियाको सीप मात्र नभई अनुशासन, समयप्रति इमानदारी, बिरामीप्रति करुणा र आत्मविश्वास सिके । बिहान ठीक ९ बजे अस्पतालको राउन्ड, हरेक केसको सूक्ष्म विश्लेषण, डकुमेन्टेशनमा स्पष्टता— यी सबै व्यवहारिक पक्षहरू उनले त्यहीँ सिके, जसले आजका डा. थापाको आधार तयार गर्‍यो ।
 

न्युरोसर्जरी एक यस्तो विधा हो, जहाँ समय, धैर्यता र मानसिक स्थिरता अपरिहार्य हुन्छ । डा. थापाले अनुभूत गरेका केही क्षणहरू शब्दमा उतार्न कठिन छ । एकपटक डा. रोक्कासँगै एक जटिल ट्युमरको शल्यक्रिया गर्न उनी दिउँसो २ बजे अपरेशन थिएटर पसे । त्यो अपरेशन भोलिपल्ट बिहान ४ बजेसम्म चल्यो । सोह्र घण्टासम्मको निरन्तर प्रयासपछि बिरामीको ज्यान जोगाउन सफल भए । त्यो क्षण उनको जीवनकै गहिरो सन्तुष्टिपूर्ण क्षण थियो ।

एनले सन् २०११ इन्टर्नसिपको शुरूआत गरेका थिए । काठमाडौंका विभिन्न अस्पतालहरूमा घुमिरहँदा उनले डा. निशालाई भेटे । उनी प्रसूती तथा स्त्रीरोगतर्फ काम गरिरहेकी थिइन् । त्यही वर्ष जीवनले अर्कै मोड लियो, वीर अस्पतालमा काम गर्ने डा. आशिष बसुन्धारामा बस्थे भने निशा गंगबुमा । आशिष पनि त्यही समयमा इन्टर्नसिप गरिरहेका थिए । संयोग, उनीहरूको डेराबाट एकै बस चढेर अस्पताल पुगिने थियो । नेपाल यातायातको पुरानो निलो बसमा बसेर उनीहरू अस्पताल जान्थे ।

बसको यात्रा, अस्पतालको समय तालिका, अनलाइन कुराकानी अनि साझा सपना यी सबै कुराले उनीहरूको सम्बन्धलाई प्रेममा बदलिदियो । एक दिन बसमा भीड हुँदा आशिषले तिमी जाऊ म अर्को गाडीमा आउछु भनेर बस्ने व्यवस्था गरिदिए । अनि आषिशलाई हेर्ने निशाको नजर बदलियो । सन् २०१२ मा दुवैजनाले विवाह गर्ने निर्णय गरे । ‘बिना तामझाम सामान्य तरिकाले मन्दिरमा विवाह भयो,’ निशा भन्छिन्, ‘विवाहपछि विराटनगर कर्मक्षेत्र बन्यो ।’

null

नयाँ ठाउँमा नयाँ जीवनको शुरूआत गर्दै निशाले नोबेल अस्पतालमा काम शुरू गरिन् भने आशिषले न्यूरो अस्पतालमा सेवा थाले । केही वर्षपछि निशा पनि न्यूरो अस्पतालमा सामेल भइन् । ‘म शुरूमा कार्डियो वार्डमा काम गर्थेँ,’ उनी भन्छिन् । त्यही अस्पतालमा काम गर्दा दुवैले स्कलरसिप पाए र एमडी गर्न चीन फर्के । डा. निशा आफ्नो सपना अनुरूप सन् २०१४ मा फेरि गाइनोकोलोजीमा एमडी पढ्न चीन गइन् र २०१७ मा फर्किएर पुन: सेवा थालिन् । एमडी सकेपछि केही समय कोशी अस्पतालमा समेत कार्यरत रहेकी उनी हाल पुन: न्युरो अस्पतालमै काम गरिरहेकी छन् ।

प्रेम, विवाह र सँगसँगैको पेशागत यात्रा सामान्य देखिए पनि डा. निशा र डा. आशिषको यो मार्ग सरल थिएन । एकै अस्पतालमा काम गर्दा निजी र पेशागत सन्तुलन कायम राख्नु ठूलो चुनौती थियो । उनीहरूका दिनहरू अस्पतालमा व्यस्त हुन्थे, रातहरू कहिलेकाँही इमरजेन्सीमा बित्थे । तर, पेशाप्रति समर्पण र एकअर्काप्रतिको समझदारीले सम्बन्ध अझ बलियो बनेको उनीहरू बताउँछन् ।

null

अहिले पनि उनीहरू समय मिलाएर विभिन्न स्वास्थ्य शिविरहरू र जनचेतना कार्यक्रमहरूमा सहभागी हुन्छन् । गाउँ–शहरका महिला तथा बालबालिकाका लागि उनीहरूको पहलले सकारात्मक प्रभाव पारिरहेको छ । गाउँमा सुत्केरी हुने महिलाको अवस्था सुधार गर्न डा. निशा सक्रिय छन् भने डा. आशिष गाउँमा न्युरोसर्जरीको आधारभूत सेवा पुर्‍याउने योजनामा छन् ।

डा. आशिष भन्छन्, ‘स्वास्थ्य सेवा भनेको शहर केन्द्रित हुनु हुँदैन । बिरामीहरू बिरामी भएर मात्र होइन, सेवा नपाएर पनि ज्यान गुमाउँछन् । यसलाई रोक्न हामी सबैले आ–आफ्नो ठाउँबाट पहल गर्नुपर्छ ।’

salt training

कमेन्ट गर्नुहोस्