
-प्रदीप सापकोटा
लघुकथा आख्यानको लघुतम रूप मानिन्छ । यसमा सूत्रात्मक शैलीमा व्यक्त गरिन्छ । लघुकथामा आफ्ना भाव, विचारले पाठकलाई झड्का दिने हिसाबले लघुकथाकारले लेखेको राम्रो हो । व्यङ्ग्य चेतको प्रबलता भयो भने उस्तै बलशाली हुन्छ लघुकथा । दुई सय पचास शब्दसम्मको लघुकथा राम्रो मानिन्छ । यो कथासँग निकट रहन्छ ।
ध्रुवराज थापा ‘पुरुष’ हालै नेपाली लघुकथाको क्षेत्रमा सपनाको पहाड लिएर देखा परेका छन् । यसमा मानवेत्तर कृत्यहरूको लघुकथाहरू परेका छन् । यसमा समाविष्ट लघुकथाका विषयहरू विहङ्गम छन् । समाजको मर्दै गएका मौलिकपनप्रति परिलक्षित छन् । राजनीतिक क्षेत्रको विकृतिप्रति कटाक्ष छ । समाजका गलतपनहरूको चित्रण छ । तर, मलाई आजकल लाग्न थालेको छ, लेखन शैली भनेकै पृथक सर्जकको आ-आफ्नो तौर तरिका हो । ध्रुवराज थापामा पनि यही कुरा लागू हुनु अनौठो भएन । लघुकथाप्रति उनको दुर्दम्य आकर्षण देखिन्छ । समाजको विभिन्न अवयवहरूमा व्यापक चेतनाको अभिव्यक्ति आएका छन् थापाका लघुकथाहरूमा । तसर्थ प्राय: लघुकथाहरूका विषय नै सामाजिक, राजनीतिकलगायतका क्षेत्रहरूमा हाल मौलाएका विकृत परिवेशप्रति व्यङ्ग्य चेतले ओतप्रोत छन् ।
थापाजीको गुण बखान गर्नु जरुरी ठानिन् । उनको बारेमा यतिमात्र भनेँ- उनी साहित्यमा लिप्त छन् । अनुभूतिको गहिराइमा डुबेर मज्जैले कथानक टिप्छन् र लघुकथाको रूपमा सिँगार्छन् । उनी नेपाली साहित्यका विभिन्न विधामा चार दशकदेखि लागिपरिरहेका व्यक्ति हुन् ।
सपनाको पहाडभित्र ५८ थान कथाहरू समावेश गरेका छन् । जसमा विषयगत विविधता प्रष्टै देख्न सकिन्छ ।
देशमा हर क्षेत्रमा भ्रष्टीकरण छ । यसको प्रत्यक्ष र परोक्ष असर आम जनतालाई नपर्ने कुरै भएन । उनले एक सचेत नागरिक भएर लघुकथामार्फत भ्रष्टाचार र बेथितिविरुद्ध आवाज बुलन्द गरेका छन् । राजनीतिक नेताहरूमा मौलाउँदै गरेको गलत विचार र सोचको कारण उनी दिक्क छन् र त लेख्छन् जिम्मेवार भएर । आफ्ना गलतलाई काखमा लिएर सुरक्षाकवज पहिर्याउने र अरु इमानदार भए पनि सुली चढाउने वर्तमान विषम राजनीतिको साङ्गोपाङ्गो चरित्र कथामार्फत उजागर गर्छन् । नेपाली राजनीतिक नेतृत्वको यथार्थता नेपाली जनताको दुर्नियतिको यथार्थता जगजाहेर गर्ने ‘प्राथमिकता’ आदिजस्ता यस कोटीमा परेका छन् । यसैगरी यसमा राजनीतिक विकृतिप्रति जनताको प्रतीकात्मक विद्रोहका लघुकथाहरू यसमा पढ्न सकिन्छ । जस्तै: आसन ग्रहण, उचित सम्मान, छटेल, आदिजस्ता लघुकथा यसैतिर लक्षित गरी लेखिएको जस्तो लाग्छ । ‘सुगर फ्रि’ राजनीतिज्ञहरूको कमजोर चेतना, अल्पज्ञानी दिमागलाई औंल्याउने लघुकथा हो ।

विघटित हुँदै गएको पारिवारिक सम्बन्धप्रति परिलक्षित भएर थापाले लघुकथा लेखेका छन् । ‘पीडा’ यही सवालको प्रतिनिधि लघुकथा लाग्छ ।
मानिसको विकृत मानसिकताको उपज लाग्छ ‘पशुवध’ । कथाकार हाम्रो वर्तमान परिवेशमा विकृति मौलाउँदै गएको नेपाली संस्कृतिप्रति चिन्ताभाव प्रकट गर्छन् र लेख्न पुग्छन्– ‘टीका र जमरा’, ‘चक्मा’, ‘तीज’, ‘विकृति’ । यसैगरी धर्मको नाममा हुने बलि प्रथा राम्रो होइन भन्ने सन्देश सम्प्रेषण पनि गरेको छ ‘धर्म’ले । नेपाली समाज पितृसत्तात्मक सोचले ग्रसित छ । यही भएर जहाँ पनि पुरुषत्व प्रकट गर्छ पुरुषले । यसै कुराको यथार्थपरक चित्रण छ । पुरुषको दोहोरो चरित्र पनि त्यहाँ छ । पुरुषको रूपलाई ‘पुरुषत्व’ लघुकथाले चरितार्थ गरेको छ । महिलालाई हेय भावले हेर्ने हाम्रो समाजको मानसिकतामाथि क्रूर भएर आक्रोश पोख्छन् लघुकथाहरू– ‘चोर समाज’, ‘दृष्टिकोण’मा ।
प्रेम सुन्दै पवित्र शब्द । व्यवहारमा देखिने कुरा । मनले महसुस गर्नुपर्ने कुरा । जीवनको अपरिहार्य आवश्यकता प्रेम । तर वर्तमान समयमा प्रेम केवल आशक्तिको अर्को रूप बनेको छ । प्रेममा अविश्वास बढेको युग हो यो । यसै कुरालाई ‘प्रेमालाप’, ‘ट्याटु’जस्ता शीर्षकृत कथाहरू लेखिएका छन् । जहाँ अविश्वास र ब्लाकमेलिङ देख्न सकिन्छ । यो वर्तमान समयको यथार्थता हो ।
नेपाली भाषा बिगार्ने विद्वान भनाउँदाहरूसँग आक्रोशित छन् थापा । यसैले भाषा र त्यसको अर्थ विगार्नेहरूप्रति व्यङ्ग्य कस्छन्– ‘श्रद्धाञ्जली’जस्ता लघुकथामार्फत भने ‘लज्जावोध’मा भाषाको माया गर्न सिकाउँछन् । साहित्यमा देखिएका विकृति र विसङ्गतिप्रति लक्षित कथा हो– ‘विडम्बना’ । यसैगरी निकम्मा हुँदै गएको राज्यको नीतिप्रति कटाक्ष आएको छ– ‘विश्व रेकर्ड’, शहीदको मूल्यहीन भएको वर्तमान अवस्थाको चित्रण– ‘दुखेसो’ । अनावश्यक र बेतुकको कार्यक्रमहरू ध्रुवलाई मन पर्दैन र कथानक टिपेर लेख्छन्– ‘फुपूको श्राद्ध’। सामाजिक सञ्जालहरूको विकृति र यसको दुरुपयोगबाट ठगिने घटनाहरू हामीले सुन्दै आएका छौं यसैको उपज जन्मेको लघुकथा लाग्छ– ‘लुट’।
अहिलेका विज्ञानका आविष्कार, प्रविधिको उच्चतम प्रयोगले समाजमा धेरै कुराहरूमा नयाँ-नयाँ प्रयोग र परीक्षण सफल भएका छन् । यस्तै प्रविधि मिसाइएको रोचक लघुकथा हुन् ‘क्यू आर’, ‘गर्भाधान’, ‘यन्त्रमस्तिष्क’। यी प्रयोगबादी कथा लाग्छन् ।
अहिले हाम्रो समाजमा अरुको देखासिकी र नक्कल गर्ने प्रवृत्ति मौलाएको छ । असल र राम्रा कुरा हैन, अनावश्यक र नराम्रा, फजुल कुराहरूको नक्कल गर्ने प्रवृत्तिले लघुकथाकार हैरान छन् । उनलाई यो कुरा बिझ्छ र जन्मिएको छ कथा– ‘देखासिकी’ । नेपालमा सुविधाभोगी कर्मचारीतन्त्रमा मौलाउँदै गएको सुविधाभोगी चिन्तन र जिम्मेवारी बहन नगर्ने चरित्र देखाउँछ– ‘चेक’ । वर्तमान बेथिति र विकृति हर क्षेत्रमा झाँगिदो छ । विरोधाभास छन् । थुप्रै समस्या छन् । सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक र धार्मिक क्षेत्रहरूमा देखिएका विसङ्गतिपूर्ण कुराहरूमा कथाकारको मन जान्छ । ध्यान पुग्छ र तिनै उपरका विषय वस्तुमाथि कथा लेख्छन् । यो लघुकथाकारको कथा प्रवृत्ति नै हो । समाजका विषम कुराहरूमा घोत्लिनु र मसिनोसँग केलाएर सृजनामा ढाल्नु उनको विशेषता हो । उनले अन्तिम कथा जिन्दावादमा सबै विकृति र विसङ्गतिको विरुद्ध जनताहरू जाग्नुपर्छ । एकजुट हुनुपर्छ भन्ने विद्रोही चेत प्रकट गरेका छन् ।
लघुकथाहरू पढेपछि पाठक द्रवित हुन्छ । वर्तमान समाजको मनोवृत्तिलाई कथाहरूमा जस्ताको तस्तै उतार्न सक्षम छन् । कमजोर मानसिकतालाई बलियो बन्न प्रेरित गर्नसक्छ । समाजका यी कुराहरूमा परिवर्तनको चाह र हुटहुटी स्रष्टामा देखिन्छ । लघुकथाका सर्वप्रचलित मान्यताका निकट भएर लघुकथाहरू लेखिएको पाइन्छ । लघुकथाकार कथ्यवस्तु, पात्र चयन, शीर्षकीकरण र भाषिक सौम्यताको दृष्टिकोणले पनि सफल छन् । रूपविधानले भरिपूर्ण, स्वैर कल्पनाको सुन्दर प्रयोगले लघुकथाहरू पठनीय देखिएका छन् । ध्रुवराज थापा ‘पुरुष’लाई सपनाको पहाडको निम्ति हार्दिक बधाई ।