मध्यपूर्वका दुई पुराना झगडिया देश इजरायल र इरानबीच गत जुन १३ देखि २५ सम्म १२ दिन भएको हानाहानलाई विश्वभर तेस्रो विश्वयुद्धको शुरूआतका रूपमा चर्चा गरिएको थियो ।
तर, अन्तिम समय (जुन २२ तारिख)मा अमेरिकाले इजरायलका ३ न्यूक्लियर प्रशोधन केन्द्रमा बम प्रहार गरेपछि युद्ध समाप्तिको मोडमा पुग्यो । इरानले कतारस्थित अमेरिकी सैन्य अड्डामा नाम मात्रको मिसाइल प्रहार गरेर प्रतिशोध पूरा भएको घोषणा गर्यो ।
त्यसलगत्तै इजरायल र इरानबीच युद्धविराम घोषणा भयो । युद्धविरामपछि विश्वको ध्यान प्यालेस्टाइनको गाजा क्षेत्रमा मोडिएको छ । त्यहाँ पनि इजरायल र हमासबीच युद्धविराम हुने चर्चा चलेको छ ।
इजरायलले एकाएक इरानका उच्च वैज्ञानिक र राजनीतिज्ञमाथि निशाना साँधेपछि शुरू भएको युद्धमा दुवै पक्ष र अमेरिका सबैले आ-आफूलाई लाभ भएको दाबी गरिरहेका छन् । तर, देखिने गरी कसैले पनि लाभ उठाएका छैनन् ।
१२ दिने युद्ध सकिएपछि इजरायल र अमेरिका गाजा क्षेत्रमा शान्ति ल्याउने कार्यमा संलग्न छन् । इरानमा भने भित्रभित्रै असन्तुष्टिको आगो फैलिरहेको छ । तत्कालका लागि इरान बाह्य रूपमा सुरक्षित देखिएको छ, तर आन्तरिक रूपमा थप खोक्रो हुँदै गइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
युद्धविरामपछि पनि इरानको जनजीवन, अर्थतन्त्र र राजनीति थप अस्थिरताको चपेटामा छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धकै क्रममा फालेको 'रेजिम चेन्ज' कार्डले इरानी शासन र जनतामा त्रास तथा आक्रोश बढाएको छ ।
युद्धको प्रभाव र जनजीवन
इरानको तीन आणविक स्थानमा अमेरिकी अपरेशन ‘अपरेशन मिडनाइट ह्यामर’अन्तर्गत बी-२ स्टिल्थ बमवर्षक र टमहक मिसाइलले ठूलो क्षति पुर्याएको दाबी गरिएको थियो । तर, इरानले त्यसको खण्डन गरेको छ । वास्तविक क्षतिको अनुमान अहिलेसम्म पनि हुन सकेको छैन ।
लगत्तै, अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए)ले विकिरण चुहावट नभएको पुष्टि गरे पनि युद्धको त्रासले लाखौं इरानीहरू तेहरान र अन्य शहर छोडेर गाउँतिर लागेका थिए ।
त्यतिबेला सामाजिक सञ्जाल एक्समा इरानी कवि मेसमले तेहरान छोड्दा 'सडकमा धुवाँ र विस्थापितहरूको भीड' देखेको वर्णन गरेका थिए ।
युद्धविरामपछि जनजीवन सामान्य बन्न खोजे पनि इन्धन, खाद्य सामग्री र बिजुलीको अभावले कठिनाइ थप बढाएको छ ।
युद्धविराम अघि नै जुन २३ मा इरानमा भएको भारी वर्षापछि पहिरो जाँदा १० जनाको मृत्यु भएको थियो । युद्ध र प्राकृतिक प्रकोपको दोहोरो सामना इरानी जनताले गर्नुपरेको थियो ।
अहिले इरानमा विशेषगरी अफगान शणार्थीहरू जोखिममा छन् । युद्धको समयमा दैनिकरूपमा ७ हजार शरणार्थीले इरान छोडेका थिए ।
इरानमा २० लाखभन्दा बढी अफगान शरणार्थीहरू छन् । तीमध्ये ८ लाख शरणार्थी दर्ता भएर त्यहाँ बसेका छन् भने बाँकी अवैधानिक रूपमा बसोबास गरिरहेका छन् ।
आफ्नै नागरिकको जनजीवन अस्तव्यस्त भइरहेका बेला इरानीहरूले अफगानी शरणार्थीलाई देश छोड्न बाध्य बनाइरहेका रिपोर्टहरू सार्वजनिक भएका छन् ।
इरानको सरकारले पनि उनीहरूलाई देशनिकाला गर्नेबारे कानून ल्याउने तयारी गरिरहेको छ ।
आर्थिक संकटर ऊर्जा चुनौती
इरान तेल र ग्यासमा विश्वको महाशक्तिमध्ये एक हो, तर पनि युद्ध र अन्तर्राष्ट्रिय प्रतिबन्धले त्यहाँको अर्थतन्त्रलाई निकै कमजोर बनाएको छ ।
सिरिया र लेबनान रहेका हुथी र हिजबुल्लाह जस्ता सहयोगी समूहहरूको पतनले इरान बाह्य रूपमा कमजोर बनेको छ । तेल निर्यातमा आएको कमी र मुद्रास्फीतिले त्यहाँ आधारभूत वस्तुको मूल्य आकाशिएको छ ।
इरानका कतिपय क्षेत्रमा गर्मीमा ५० डिग्री सेल्सियससम्म तापक्रम पुग्छ । त्यहाँ अहिले बिजुली र पानीको अभाव छ । यसले जनजीवन झन् कष्टकर बनेको छ । कतिपय सामाजिक सञ्जालहरूमा इरानी जनताले यस्तो असन्तुष्टि पोखिरहेका छन् ।
इरानमा रोजगारीका अवसर थप सीमित बन्दै गइरहेका छन् । सम्पत्ति शुद्धिकरणबारे निगरानी गर्ने संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)ले इरानलाई कालोसूचीमा राखेको छ ।
यसैकारण विदेशमा काम गर्ने इरानीहरूले पनि आफ्नो कमाई इरान पठाउन सक्दैनन् । इरानमा विशेष गरी महिलाको जीवन थप असुरक्षित र कष्टकर रहेको अन्तर्राष्ट्रिय मानवाधिकार संस्थाहरूले जनाएका छन् ।
युद्धविरामपछि तेलको विश्व बजारमा मूल्यमा उतारचढाव आएको छ ।
इरानले पटक-पटक होर्मुज स्ट्रेट बन्द गर्ने धम्की दिने गरेको छ । होर्मुजबाटै इरानको अधिकांश तेल निर्यात हुने हुनाले यसको प्रत्यक्ष असर खेप्न इरान आफैं तयार हुनुपर्नेछ ।
सामाजिक असन्तुष्टि र मानवअधिकार
३ वर्षअघि सन् २०२२ मा इरानमा 'महिला, जीवन, स्वतन्त्रता' नामको आन्दोलन छेडियो । उक्त आन्दोलनले इरानमा सामाजिक परिवर्तनको माग गरेको थियो ।
पछिल्लो युद्धविरामपछि सरकारले उक्त आन्दोलनका आन्दोलनकारीसँगै सरकारका विरोधीलाई दबाउन कठोर नीति अपनाएको रिपोर्टहरू सार्वजनिक गरिएका छन् ।
युद्धविरामयता सयौँ कार्यकर्ता, पत्रकार र विद्यार्थीलाई गिरफ्तार गरिएको छ ।
कुर्द कार्यकर्ता पाख्सान अजीजीलाई मृत्युदण्डको सजाय सुनाइएको छ । बाहाई, कुर्द र अन्य अल्पसङ्ख्यक समुदायमाथि भेदभाव र दमन कम हुने छाँटकाँट देखिएको छैन ।
यद्यपि, सामाजिक सञ्जालमा इरानी जनताको राष्ट्रवाद पनि बेलाबेलामा पोखिने गरेको छ । गत, जुन २८ मा तेहरानमा युद्धमा मारिएका सैन्य कमान्डर र वैज्ञानिकहरूको अन्त्येष्टिमा लाखौंले सहभागिता जनाएका थिए ।
आन्तरिकरूपमै विरोध चुलिएपछि पछिल्लो समय इरानले हिजाब नीतिमा केही लचकता अपनाएको भएपनि महिलामाथिको सामाजिक र कानूनी प्रतिबन्ध कायमै राखिएको छ ।
इरानको भावीन्यूक्लियर नीति
अमेरिकी राष्ट्रपति ट्रम्पले गरेको 'रेजिम चेन्ज' टिप्पणीले इरानमा त्रास र आक्रोश दुवै बढाएको छ । यद्यपि, अमेरिकी रक्षामन्त्री पिट हेगसेथले आक्रमणको उद्देश्य न्यूक्लियर कार्यक्रम रोक्नु मात्र भएको बताएका थिए ।
४ दिनअघि राष्ट्रपति मसुद पेजेशकियानले आईएईएसँगको सहकार्य स्थगित गर्ने घोषणा गरेका छन् । उनको घोषणाले इरानको न्यूक्लियर महत्त्वाकाङ्क्षालाई थप गोप्य बनाएको टिप्पणी हुन थालेको छ ।
इरानले संवेदनशील न्यूक्लियर सामग्री सुरक्षित स्थानमा सारेको र पुनर्निर्माण सम्भव रहेको दाबी गरेको छ ।
इरानभित्रै पनि न्यूक्लियर हतियारको विषयमा तीव्र बहस छ । इरानी कट्टरपन्थीहरूले हतियार विकासको पक्ष लिएका छन् भने उदारवादीहरूले कूटनीतिक समाधान सुझाएका छन् ।
इरानले युद्धविरामलाई 'विजय'को रूपमा प्रस्तुत गरेर जनसमर्थन जुटाउने प्रयास गरेको छ । युद्ध सकिएलगत्तै विदेशमन्त्री अब्बास अराघ्चीले इजरायललाई पराजित गरेको दाबी गरे । इरानले रुस, चीन र उत्तर कोरियासँग सम्बन्ध बलियो बनाएर बाह्य दबाबविरुद्ध कसिलो रणनीति बनाउन खोजेको छ ।
राष्ट्रपति पेजेशकियानले मध्यपूर्वको अर्को क्षेत्रीय शक्ति साउदी अरबसँग कुराकानी थालेका छन् । उनले युवराज मोहम्मद बिन सलमानसँग हालै गरेको कुराकानीमा अमेरिकासँग मतभेद हटाउन तयार रहेको संकेत दिएका थिए ।