२३ असार २०८३, मंगलबार

शुक्लाफाँटा निकुञ्जमा ‘जङ्गल सफारी’ बन्द

असार २५, २०८२
कञ्चनपुर
शुक्लाफाँटा निकुञ्जमा ‘जङ्गल सफारी’ बन्द
फाइल तस्वीर ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी बन्द गरिएको छ । वर्षाका कारण निकुञ्जको बाटो बिग्रेपछि जङ्गल सफारी बन्द गरिएको निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले जानकारी दिए । 

‘वर्षाका कारण सफारी गर्ने मुख्य ‘रुट’को सडक बिग्रेको छ’, उनले भने, ‘जसका कारण सफारी गएका गाडी फस्न र पर्यटकले दुःख पाउन थालेपछि बन्द गरेका हौं ।’

निकुञ्ज कार्यालयका अनुसार चालु आर्थिक वर्षमा तीन हजार सात सय २२ जनाले निकुञ्ज भ्रमण गरेका छन् । तीन सय पाँच वर्गकिलोमिटर क्षेत्रफल रहेको निकुञ्जका ५४ वर्गकिलोमिटरमा विशाल घाँसे मैदान छ । 

उक्त घाँसे मैदान बाह्रसिङ्गाको प्रमुख वासस्थान हो । यहाँ हजारौंको सङ्ख्यामा रहेका बाह्रसिङ्गा हेर्न पर्यटक यहाँ आउने गरेका छन् । शान्त वातावरण, ठूलो घाँसे मैदान र थोरै क्षेत्रफलमा धेरै दुर्लभ वन्यजन्तु हेर्न मिल्ने भएकाले स्वदेशी तथा विदेशी पर्यटकको रोजाइ शुल्लाफाँटा हुने गरेको छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रका ताल र नदी आसपासमा विभिन्न प्रजातिका चराचुरङ्गी देख्न पाइन्छ । वन्यजन्तु मात्रै नभइ दुर्लभ वनस्पतिको लागि पनि शुक्लाफाँटा प्रसिद्ध छ । 

निकुञ्जमा १२ प्रजातिका घस्रने वन्यजन्तु रहेका छन् भने २० प्रजातिका उभयचर, २४ प्रजातीका माछा, ३५ प्रजातीका पुतली, चार सय ४९ भन्दा बढी प्रजातीका चरा रहेको निकुञ्ज कार्यालयले जनाएको छ । विश्वमै दुर्लभ मानिएको सारस, खरमजुर, सिम तित्रा, राजधेश र लेसर भुडीफोर जस्ता वन्यजन्तु पनि छन् ।  

स्तनधारी वन्यजन्तुमा ५३ वटा भन्दा बढी प्रजाती रहेका छन् । जसमा पाटेबाघ, एकसिङ्घे गैँडा, हात्ती बाह्रसिङ्गा, कृष्णसार, सालक, निलगाई, चितुवा चित्तल, लगुना, रतुवा, हिसपीड खरायो, बँदेल आदि रहेका छन् । 

पछिल्लो गणना अनुसार शुक्लाफाँमा दुई हजार तीन सय बढी बाह्रसिङ्गा छन् । यसबाहेक बाघ, गैँडा, हात्ती, कृष्णसार, चित्तललगात वन्यजन्तु यहाँका प्रमुख आकर्षण हुन् ।  
 

salt training

कमेन्ट गर्नुहोस्