२८ जेठ २०८३, बिहीबार

अब विमानस्थलमा खादा, माला तथा कुनै संस्थाको पहिचान खुल्ने पोशाक लाउन नपाइने

असार २६, २०८२
काठमाडौं
अब विमानस्थलमा खादा, माला तथा कुनै संस्थाको पहिचान खुल्ने पोशाक लाउन नपाइने

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खादा, माला तथा कुनै संस्थाको पहिचान खुल्ने पोशाक र सामग्री प्रयोगमा प्रतिबन्ध लगाइएको छ । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले एक सूचना जारी गर्दै विमानस्थलको अध्यागमन क्षेत्र संवेदनशील र सुरक्षात्मक हुने भएकाले यस्ता सामग्री प्रयोगमा रोक लगाइएको जनाएको छ ।

यो नियम सम्पूर्ण यात्रु, ट्राभल एजेन्सी तथा म्यानपावर कम्पनीका लागि लागू हुने कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

अध्यागमन प्रक्रियामा सहभागी हुँदा वा काउन्टरमा रहँदा कुनै पनि प्रकारको खादा, माला वा अन्य सजावटी वस्तु (एक्सेसोरिज) प्रयोग गर्न पाइने छैन । यस्ता वस्तुले सम्भावित सुरक्षा जोखिम बढाउने र अनावश्यक ढिलाइ गराउन सक्ने भएकाले प्रतिबन्ध लगाइएको कार्यालयको भनाइ छ।

कार्यालयले परिचय झल्किने पोशाकमा समेत प्रतिबन्ध लगाएको छ । ‘कुनै विशेष समूह, संगठन, ट्राभल एजेन्सी वा मेनपावर कम्पनीको परिचय वा आबद्धता झल्काउने किसिमका पहिरन, टोपी, ब्याच वा अन्य कुनै पहिचानजन्य वस्तुको प्रयोगमा पूर्ण रोक लगाइएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस्तो पहिरनले कुनै यात्रुलाई विशेष व्यवहार गरिएको भान पर्न सक्ने वा सुरक्षा संवेदनशीलतामा प्रश्न उठ्न सक्ने देखिएकाले सबैलाई समान व्यवहार सुनिश्चित गर्न यो नियम लागू गरिएको हो ।’

कार्यालयले यी नियमको पालना गरी अध्यागमन प्रक्रियालाई सहज बनाउन सहयोग गरिदिन सबैमा अनुरोध समेत गरेको छ । नियमको उल्लंघन गरेको पाइएमा कानून बमोजिम कारबाही हुने चेतावनी दिइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्