०३ असार २०८३, बुधबार
शिक्षक सूचीकार

उध्रेका कपडामा जीवन भरेर पहिरन बनाउने शिक्षक

असार २८, २०८२
बुटवल
उध्रेका कपडामा जीवन भरेर पहिरन बनाउने शिक्षक

समाजशास्त्रमा स्नातकोत्तर र कानूनमा स्नातक गरेका प्रेमराज परियार अध्यापन गर्छन् । गुल्मीको कालीगण्डकी गाउँपालिका– ५ फोक्सिङ लिथुङका ३० वर्षीया प्रेम दिउँसो विद्यालयमा विद्यार्थी पढाउँछन्, साँझ/बिहान भने फाटेका कपडा मर्मतगरी प्रयोगयोग्य बनाउँछन् ।

पढाइ र साहित्यमा चासो राख्ने प्रेमले बुटवलको योगिकुटीमा आफ्नो खानदानी पेसालाई नयाँ रूप दिएर ‘उध्रेको टेलर्स’ खोलेका छन् । ‘उध्रेको टेलर्स’मा फाटेका पुराना कपडा मर्मत गरिन्छ । च्यातिएको सिलाइन्छ र टालटुल पारिन्छ ।

नयाँ कपडासमेत नसिलाउने प्रेम उध्रेका/फाटेका कपडा जोडजाड र टालो हालेर लगाउन योग्य बनाउँछन् । शहरमा पुराना कपडा मर्मत गर्नसमेत समस्या भइरहेको अवस्थालाई मध्यनजर गरेर आफूले पुराना कपडाको मर्मत सेन्टर खोलेको उनी बताउँछन् ।

प्रेमको टेलर्समा मानिसहरू पैसा बचत गर्न जान्छन् । अर्थात् उनले पुरानो लुगा लगाउनयोग्य बनाएर नयाँ किन्ने पैसा बचाइदिन्छन् । 'अहिलेका युवामा फजुल खर्च गर्ने बानी छ । कपडा सानो, ठूलो वा सामान्य कतै च्यातियो भने फालिहाल्छन् । त्यसलाई रिपेयरिङ गर्न उध्रेको टेलर्स जन्मिएको हो,' उनी भन्छन् । पैसा पनि जोगाउने र ‘रिपेयरिङ’ गरेर कपडा पनि लगाउने बनाउने आफ्नो अभियान रहेको प्रेमको भनाइ छ ।

पुराना कपडा सफा बनाएर लगाउने अथवा नवीकरण गर्ने उनको योजना हो । शहरमा थोत्रा कपडा मर्मत केन्द्र भनेर ठ्याक्कै टेलर्स छैनन् । फुटपाथमा मशिन लिएर बस्ने गरेको देखिए पनि व्यवस्थापकीय पक्षलाई जोड दिई बुटवलमा आफूबाहेक अरू कसैको कपडा मर्मत सेन्टर नभएको प्रेमले बताए ।

ममर्तका सबै मेटयिरयल उनले राखेका छन् । ‘उध्रेको टेलर्स’ नयाँ र फरक नाम अहिले जनजिब्रोमा पनि झुन्डिएको छ । यो अर्गानिक नाम प्रेम आफैंले राखेका हुन् । साँझ–बिहान आफ्नो टेलर्समा समय, श्रम र सीप खर्चेर पुराना कपडालाई नयाँपन दिएपछि उनी सन्तोष मान्छन् । ‘कपडा फिटिङ गराउने, टाँक हाल्ने, पुराना कपडा टाल्ने, भद्दा कपडालाई घटाउनेलगायत काम उध्रेको टेलर्समा हुन्छ’ प्रेम भन्छन्, ‘शहरमा उध्रेको लुगा सिलाउने ठाउँ नदेखेपछि यस्तो टेलर्सको कन्सेप्ट तयार पारेको हुँ । सोचेजस्तो भइरहेको छ, यसमा खुसी छु ।’

null

परियार पढाइको शिलशिलामा गुल्मीबाट एक दशकअघि बुटवल झरेका थिए । अध्ययन/अध्यापनसँगै विक्रम संवत् २०७३ मा सिलाई/बुनाई तालिम लिएर उनले बुटवलमा टेलर्स सञ्चालनमा पनि ल्याए । व्यवसायसँगै बाबालाई पनि उनले बुटवल झारे । बुवाले गाउँको परम्परागत सिलाई/बुनाइको काम छोडेर कान्छो छोरा प्रेमलाई सघाए । तर, सिलाई/बुनाइको काम सोचे अनुरूप चल्न सकेन ।

कोरोना महामारीले प्रेमको व्यवसाय थला पर्‍यो । पाँच लाख ऋणले थिचिएपछि चिन्तित बनेका प्रेम अन्ततः विदेश जाने मनस्थितिमा पुगे । त्यसका लागि आवश्यक प्रक्रिया मिलाउन काठमाडौं हानिए । तर, विदेश जाने उनको सोचमा ठक्कर लाग्यो । पटक–पटक प्रयास र लामो प्रतीक्षा गर्दा पनि भिसा प्रक्रिया सफल हुन सकेन ।

उनी फेरि बुटवल फर्किए । ‘मलाई भाग्यले पुर्ख्यौली पेसा नै गर भनेर बुटवल पठायो,’  प्रेम भन्छन्, ‘फर्केर बुटवल आएँ, बुवा-आमालाई गाउँमा राखेको छु, यहाँ मैले फेरि सिलाई/बुनाइको काम थालेको छु तर, यसपटक फरक गरिरहेको छु । यस पसलमा म नितान्त उध्रेको र च्यातिएका लुगा, झोला, जाडोमा ज्याकेट, कोट मर्मत गर्छु ।’

उनले कामको सकारात्मक प्रतिक्रिया पाइरहेका छन् । प्रेमको टाल्ने कामबारे शिक्षक, कलेजका साथीले र एकपटक सेवा लिएका ग्राहकले प्रचार गर्ने गरेका छन् । ‘सबै जनाले नाम देखेरै रमाइलो मान्नुहुन्छ,’ उनी थप्छन्, ‘सानैमा घरमै देखेर बुबाले अह्राएर सिकेको काम लाग्यो ।’

उनको कामलाई परिवारबाट पनि दरिलो साथ छ । पुर्ख्यौली पेसाका रूपमा सिकेको ज्ञान, सीपलाई प्रेमले आधुनिक र प्रतिष्ठित तरिकाले आय आर्जनसँग जोडेका छन् । न्यूनतम् १० रुपैयाँदेखि ५०० रुपैयाँसम्म सर्ट, पाइन्ट, कोट उध्रेमा सिलाएको ज्याला लिने गरेको प्रेमले बताए ।

यो पेसा बाँकी जीवनको यात्रा चाल्ने माध्यम भएको उनी बताउँछन् । जीवनमा हन्डर, चोट र बाध्यताले धेरै सिकाउँदो रहेछ,’ प्रेम भन्छन्, ‘मलाई कमाइको बाटो चाहिएको थियो, विदेश जाने सपना टुट्यो र शुरू भयो उध्रेको टेलर्स ।’

टेलर्सलाई समाजशास्त्रीय दृष्टिकोणबाट पनि हेर्नुपर्ने उनी धारणा राख्छन् । हाम्रो समाजको टेलरिङ सोसाइटीमा स्तरीय टेलर्समा पुराना कपडा लगेर गए लखेट्छन् । मानिसले आफ्नो पैसा जोगाएर पटक–पटक प्रयोग गर्छु भन्न पनि नपाउने स्थिति शहर/बजारमा छ । अर्को शुभ र अशुभ भन्ने अवधारणा पनि छ । पुराना कपडा सिलाए अशुभ हुन्छ भन्ने पनि गरिन्छ । दिनभरिको काम राम्रो हुन्न भन्ने एउटा चलन पनि छ । त्यस्तो विकृतिलाई चिर्न पनि त्यहीँ विकृति भएकामै काम गर्न लागेको प्रेमले सुनाए । 

केही समय उनले आफ्नो गाउँपालिकामा कृषि संयोजकका रूपमा करार सेवामा काम गरेका थिए । हाल आफ्नो पढाइ र पढाउने कामदेखि बाँकी रहेको समय उध्रेको लुगा सिलाउन खर्किएका छन् ।

उनको कामलाई परिवारबाट पनि दरिलो साथ छ । पुर्ख्यौली पेसाका रूपमा सिकेको ज्ञान, सीपलाई प्रेमले आधुनिक र प्रतिष्ठित तरिकाले आय आर्जनसँग जोडेका छन् । न्यूनतम् १० रुपैयाँदेखि ५०० रुपैयाँसम्म सर्ट, पाइन्ट, कोट उध्रेमा सिलाएको ज्याला लिने गरेको प्रेमले बताए ।

उध्रेको सिलाएर मात्र टेलर्स चल्छ वा बन्द हुने हो कि ? प्रेमलाई ठूलो चुनौती छ । फरक काम फरक तरिकाले गर्दा आउने चुनौतीलाई स्वीकार गरेरै आफूले काम थालेको प्रेमले बताए ।

salt training

कमेन्ट गर्नुहोस्