२९ जेठ २०८३, शुक्रबार
कांग्रेस कोषाध्यक्षसँग संवाद

आँटेरै आएको हुँ, कांग्रेस कोष चलाउने पैसा नउठे म आफैं भने पनि दिन्छु– उमेश श्रेष्ठ [अन्तर्वार्ता]

असार ३०, २०८२
काठमाडौं
आँटेरै आएको हुँ, कांग्रेस कोष चलाउने पैसा नउठे म आफैं भने पनि दिन्छु– उमेश श्रेष्ठ [अन्तर्वार्ता]

नेपाली कांग्रेसको १४ औं महाधिवेशन भएको २ वर्षपछि (२०८१ मंसिर ९ गते) व्यावसायिक पृष्ठभूमिका नेता उमेश श्रेष्ठ कोषाध्यक्ष मनोनीत भएका थिए ।

अरू थुप्रै राजनीतिक दलका नेतालाई पछाडि पार्दै श्रेष्ठ कोषाध्यक्ष मनोनीत भएको ७ महिना भएको छ ।

केही दिनअगाडि मात्रै श्रेष्ठसहितका नेताले केन्द्रीय कार्यालय विस्तारका लागि १३ करोडको २० आना जग्गा किन्न बैना गरिसकेका छन् ।

यो अवधिमा कांग्रेसको कोष सुधार्ने गरी श्रेष्ठले के प्रयत्न गरे ? आधा कार्यकाल बाँकी हुँदा कसरी कांग्रेसको कोषलाई व्यवस्थित बनाउने योजना बनाएका छन् ? यिनै सेरोफेरोमा कांग्रेस कोषाध्यक्ष एवं व्यवसायी उमेश श्रेष्ठसँग लोकान्तरका लागि रमेश सापकोटाले कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :

कोषाध्यक्ष बनेको ७/८ महिनामा कांग्रेसको आर्थिक कोष कस्तो पाउनुभयो ?

नेपाली कांग्रेस प्रजातान्त्रिक पार्टी हो । यो आफैं चल्ने पार्टी हो । चल्नका लागि पैसा पनि त्यहीँबाट आउँछ । व्यवस्थापन मात्रै पार्टीका नेताहरूले गर्ने हो ।

पार्टी जति लेबी लिएर चल्नुपर्ने हो, त्यो प्रणालीमा जसोतसो चल्न खोजेको छ । हाम्रा ८ लाख बढी सदस्य भएकाले हामीले लेबी उठाएर धेरै काम गर्न सक्छौं । तर, प्रजातान्त्रिक पार्टी भएकाले त्यत्ति कडाइ गरेर लेबी उठाइएको पाइँदैन ।

म त एउटा व्यावसायिक पृष्ठभूमिको मान्छे हुँ । त्यसैले व्यवस्थित हिसाबले कोष बनाउनुपर्छ भन्ने सोच र चिन्तनका साथ काम गर्दैछु । यो कामलाई अगाडि बढाउँछु । कोषाध्यक्षमा नियुक्त हुनेबित्तिकै कांग्रेसको कोषलाई अल्पकालीन, मध्यकालीन र दीर्घकालीन कोष बनाएर जानुपर्छ भनेर काम गरिरहेको छु ।

पार्टीको बैठकमै पनि व्यवस्थित कोष सञ्चालनको कार्ययोजना पेश गरेको छु । यसमा कुन ठाउँबाट स्रोत व्यवस्थापन गर्न सकिन्छ भन्ने योजना छन् । यो कुरालाई पार्टी बैठकले पनि स्वीकारेको छ ।​
null

कांग्रेस कोष सञ्चालनका लागि ‘ड्रिम’ योजना भन्दै आउनुभएको छ ।  के हो त्यो भनेको ?

कांग्रेसमा कोषका लागि लेबी सबैभन्दा ठूलो ठाउँ हो । ८ लाख ७० हजार बढी क्रियाशील सदस्य छन् ।

वर्षको जम्मा २ सय उठाउँछौं । जनप्रतिनिधि, मन्त्रीदेखि सांसदबाट पनि उठाउँछौं । यसबाहेक विदेशस्थित शुभेच्छुकबाट पनि उठाउन सकिन्छ ।

कांग्रेससँग आबद्ध धेरैसँग लेबी उठाउन सकिन्छ । चार वर्षमा सदस्यता नवीकरण गर्दा धेरै छुट दिने अभ्यास अहिले छ । चार वर्षको लेबी एक वर्षमा उठाउने, त्यो पनि १५० देखि २०० उठाउने रहेछ । प्रत्येक वर्ष उठाउने चलन नै छैन । तर, लेबी भनेको रक्तसञ्चार हो । लेबी नै सबैभन्दा ठूलो हो ।

व्यवस्थित हिसाबले लेबी उठाउने विषय मेरो प्राथमिकतामा छ । जानकारी गराउने, अनुरोध पत्र लेख्ने तयारी पनि गरेको छु । यसका लागि ५/७ जनाको कमिटी बनाएर उठाउने, उठाएको पैसा केन्द्रीय खातामा पारदर्शी हिसाबले जम्मा हुने व्यवस्था गर्छु ।

कांग्रेसमा आस्था राख्ने उद्योगी व्यवसायीसँग पनि पैसा मागेरै कोष बनाउन सकिन्छ । कांग्रेसमा सक्षम मान्छे छन् । उनीहरूसँग वर्षको एक हजार, ५, १०, ५० हजार, १ लाख कति दिन सक्छन्, लिएर पनि मजबुत कोष बनाउन सकिन्छ । राम्रो काम देखाएर पैसा उठाउन सकिन्छ ।

विदेशमा बस्नेसँग सहयोग माग्ने, क्राउड फन्डमा जाने, राम्रा मान्छेसँग किन पैसा उठाउने भनेर विश्वास दिलाउने, गाला डिनर गर्ने, ठूला संस्थाहरूलाई सपोर्ट पनि गर्ने गर्न सकिन्छ । ट्याक्सिङ गरेर पैसा माग्नुभन्दा सेवा दिएर पैसा उठाउन सकिन्छ । कसलाई के समस्या हो ? हामी किन समृद्ध भएनौं ? आज उद्योगी र व्यवसायीलाई अप्ठ्यारो छ । होटल, हाइड्रोपावर, कृषि क्षेत्रले पनि समस्या झेलेका छन् । उनीहरूसँग छलफल गर्ने, सहजीकरण गर्ने काम पार्टीले गर्न सक्छ । नेता विशेषले चन्दा लिने परिपाटी बन्द गरेर सोझै पार्टीले पारदर्शी रूपमा लिन सक्छ । पैसा दिएको रिकग्नाइज गरेर समेत उठाउन सकिन्छ ।

ढिला गरी तपाईं पार्टीको कोषाध्यक्ष बन्नुभयो । अब आधा कार्यकाल बाँकी छ । यो अवधिमा कांग्रेसको कोष कस्तो बनाउनुहुन्छ ?

आउनेबित्तिकै मैले साधारण खर्च कति लाग्छ, पूँजीगत खर्च कति लाग्छ, भनेर छुट्याएको छु । कांग्रेस ठूलो पार्टी हो ।

केन्द्रीय कार्यालयमा गाडी पार्किङ गर्ने पर्याप्त ठाउँ छैन । यस्तोमा आँट्नुपर्छ भनेर लागिएको छ । म पनि आँट्ने र देखाउने मान्छे हो । आँट नगरी काम हुँदैन भनेर मैले कार्यालयको अगाडि २० आना हाराहारीको जग्गा लिने प्रयत्न गरेको छु । अझै केन्द्रीय कार्यसमितिका लागि व्यवस्थित बैठक हल छैन । आईटीलाई चाहिने पर्याप्त पूर्वाधार छैन ।

हामी बहुपदमा गएका छौं, तर सहमहामन्त्रीदेखि अरू नेतालाई बस्ने ठाउँ पर्याप्त छैन । विभागीय प्रमुखलाई पनि छैन । यस्तोमा कार्यालय भवनलाई रिस्ट्रक्चर गर्नुपर्ने अवस्था छ । राम्रै पैसा खर्च गरेर, कार्यालयलाई व्यवस्थित र अपांगमैत्री बनाउने सोच बनाएको छु । लेबीबाट पनि उठ्छ, दिन सक्ने साथीसँग माग्छौं । दिल खोलेर पार्टीलाई सहयोग गर्नुस् है भनेर सहयोग उठाउने राम्रो अभिलाषा लिएका छौं ।

तपाईंले भनेजस्तो रिफर्म कहिलेबाट शुरू हुन्छ ?

यसको शुरूआत भइसकेको छ । पार्टीमा डिजिटाइज गर्ने काम शुरू भइसकेको छ । हललाई व्यवस्थित गर्ने, विभागलाई परिचालन गर्न नियमित बैठक राख्ने, पुस्तकालय व्यवस्थित गर्ने काम गरिसकेका छौं । एक डेढ वर्षको समयमा अझै धेरै काम गर्न सकिने आशा लिएर अगाडि बढेका छौं ।

पार्टी कार्यालयसँगै जग्गा किन्ने गरी एड्भान्स दिनुभएको छ । पार्टीको कोषचाहिँ आजका दिनमा कति बलियो छ ?

हामीले २० आना जग्गा किन्न एडभान्स दिएका छौं । हिजोजस्तो पार्टी चल्नै नसक्ने अवस्था आजको दिनमा छैन । म आइसकेपछि के पक्का छ भने पार्टीका लागि स्रोत परिचालन गर्न सक्छु । आफैंले पार्टीलाई यति दिएँ, उति दिएँ भनेर मैले जीवनमा कहिल्यै भन्दिनँ, भन्नु पनि भएन । कहीँबाट आएन भने पनि पार्टीलाई दिन्छु, किनकि स्रोत परिचालन गर्ने जिम्मा मेरो हो । मैले आँटेको छु भने पुर्‍याएरै छाड्नुपर्छ । कसरी सफल बनाउने भन्ने मेरो योजना छ । यो योजनाअनुसार भए पार्टीलाई आर्थिकरूपले कुनै दु:ख हुन्न । तर, हिजो कोषाध्यक्ष नहुँदा जस्तो तलब खुवाउन, रातदिन सामान्य कुरा गर्न अप्ठ्यारो हुँदैन । यसैको जिम्मेवारी बहन गरेर गएकाले कोषाध्यक्षको ठूलो जिम्मेवारी हुन्छ ।

हाम्रोजस्तो ठूलो पार्टीमा २ करोड आम्दानी, ४ करोड खर्चको कुरा ठीक होइन । कार्ययोजना पेश गर्दा केन्द्रीय समितिमा पनि भनें, नेकपा एकीकृत समाजवादी पार्टी त्यति सानो छ, तर उसको आम्दानी ४ करोड २४ लाख छ । हाम्रो आम्दानी २ करोड ५९ लाख छ । यति ठूलो र पुरानो पार्टी २ करोड ३२ लाख घाटामा, तर साना पार्टी करोडौं नाफामा, यो कसरी भयो ? एमालेले १४ करोड ७९ लाख आम्दानी गर्दा ४ करोड ९१ लाख खर्च गरेको छ । एमालेभन्दा ठूलो दल कांग्रेसको इफोर्ट नपुग्दा कोषको यो बेहाल भएको हो । यसैले महामन्त्रीज्यूहरू, पूर्व अर्थमन्त्री तथा मन्त्रीहरूलाई सल्लाहकार राखेर कांग्रेसका लागि काम गरौं भन्ने सोच बनाएको छु ।

तपाईं एक सफल व्यवसायी पनि हो । थुप्रै दाबेदारका बीच सबैभन्दा ठूलो र पुरानो पार्टीको कोषाध्यक्ष कसरी बन्नुभएको थियो ?

नेपाली कांग्रेसले मलाई धेरै चिज दिएको ठानेको छु । संविधान बनाउँदा संविधानसभामा सदस्य भएर काम गर्ने अवसर पाएँ । समानुपातिक सांसद, केन्द्रीय सदस्य भएर काम गर्न पाएँ । केन्द्रीय सदस्य भएँ । पार्टीबाट प्रतिनिधिसभामा टिकट पनि पाएँ ।

व्यवसाय गर्ने व्यक्तिको नाताले राजनीतिमा मेरो १०/१२ वर्ष ग्याप भयो । तर, गर्नुपर्ने दुई/चारवटा कुरा बाँकी छन् । एउटा डेमोस्ट्रेटिभ फार्म खोलेर कृषिमा लाग्न खोजें । चुनावपछि कृषिको अभियानमा लाग्न खोजें । त्यसअघि ४५ वर्ष शिक्षामा काम गरें । बैंकिङ सेक्टर, रियलस्टेट, पर्यटन, होटल व्यवसायदेखि नेपालमा के कुराले समृद्धि हुन्छ, केही रोजगार बढाउन सकिन्छ कि भनेर काम गर्दै आएको छु । विस्तारै काम गरेर देखाउने प्रयासमा छु । ठूल्ठूला डेमोस्ट्रेटिभ फार्म खोल्ने विचार थियो । पार्टीको कृषि विभागको जिम्मेवारी पनि थियो ।

यही बेला लामो समय पार्टीको कोषाध्यक्ष खाली भयो । साँच्चै भन्ने हो भने कोषाध्यक्ष अरू साथीहरूलाई बनाउनुस् भनेर सभापतिलाई भनेको थिएँ । पदाधिकारी र कार्यसमितिले विश्वास गरेर यो मान्छे राख्दा उचित हुन्छ भनेपछि पार्टीले अफर गर्‍यो । विशेष गरेर सभापति शेरबहादुर देउवाज्यू र अग्रज नेताहरूले अफर गर्नुभयो । मैले पनि ८० वर्षको इतिहास बोकेको पुरानो पार्टीमा काम गर्दा एउटा लिगेसी पनि हुन्छ, त्यसैले कोषाध्यक्षको जिम्मेवार पद पाउनु अहोभाग्य हो भन्ने ठानें । ७/८ महिनादेखि यो पद ग्रहण गरेर काम गरिरहेको छु ।

null

उद्योगी व्यवसायीबाट सहयोग लिने कुरा गर्नुभयो । तर, राजनीतिमा लाग्नका लागि पार्टीकै झोला बोक्नुपर्ने भाष्य छ । फरक पेशा र व्यवसायबाट आउनेलाई पार्टीमा राम्रो व्यवहार भएन भन्ने गुनासो छ । तपाईंको पनि पृष्ठभूमि राजनीति होइन । के भन्नुहुन्छ ?

यो सोच परिवर्तन गरेनौं भने कुनै पार्टीलाई अब ‘सस्टेन’ गर्न सहज हुने छैन । जेलनेल खाएका, हिजोका आन्दोलनको रापताप भोगेका, लडेका आदरणीय नेताप्रति हाम्रो सम्मान छ । तर, मत फ्युजन हुनुपर्छ भन्छु । प्राध्यापक, बुद्धिजीवी, डाक्टरदेखि समृद्धिको हाम्रो अभिलाषामा सहयोग गर्न सक्नेलाई कांग्रेसले पार्टीमा आमन्त्रण गर्नुपर्छ ।

व्यवसाय गर्ने मान्छे पनि पार्टीमा आउन जरुरी छ । तर, हाम्रो पार्टीभित्र पैसा हुने र व्यवसाय गर्नेलाई हेर्ने र कुनै पद दिनुपर्‍यो दिनेबारेको दृष्टिकोण एकदमै नकारात्मक छ । यो कुरालाई विस्तारै चिरेर जानुपर्छ । हिजोका दिनमा राजनीतिक संक्रमण थियो । नेताहरू लड्नुपर्थ्यो, भिड्नुपर्थ्यो, वर्षौंसम्म राजनीतिको झोला बोक्नुपर्थ्यो । तर, आजका दिनमा त राजनीतिक संक्रमण छैन । यसैले कसैले पार्टीमा लाग्छु, योजना बनाउँछु, देशको समृद्धिको नारामा योगदान गर्छु भन्छ भने किन रोक्ने ?

अहिले रुपान्तरणको स्टेज हो । यस्तो बेला यो बहस हुनु अन्यथा पनि होइन, किनकि ‘प्याराडाइम शिफ्ट’को बेला यस्तो बहस हुन सक्छ ।

अहिलेको अवस्थामा पार्टी यति पुरानो, नेता यति वर्ष जेल बसेको मात्रै भनेर पार्टी चलाउन गाह्रो हुन्छ । यस्तोमा नयाँ पुस्तालाई आकर्षित गर्न सकिँदैन । हामी एकातिर नयाँ पुस्तालाई आकर्षण गर्न सकिएन भनेर चिन्तित छौं । तर, अर्कातिर पार्टीमा योगदान गर्छु भनेर आउनेलाई थुन्छौं भन्ने मानसिकता बनाउँछौं, यसरी हुँदैन । हाम्रा कार्ययोजना, सोचहरू, समृद्धिका आधारहरू, रोजगारी विकास गर्ने कुराहरू हाम्रो प्राथमिकतामा हुनुपर्छ । 

सफल व्यवसायी, विज्ञ र विद्धान पनि राजनीतिमा जोडिँदा कस्तो फाइदा हुने देख्नुभएको छ ?

जो व्यवसायी छ, जसले काम गरेर देखाएको छ, जसले रोजगारी सिर्जना गरेको छ र जो सफल छ, राजनीतिमा यस्ता मान्छे पनि आवश्यक छन् । ल्याउनु पनि पर्छ । संसारभरि नै यस्तो अभ्यास भइरहेको छ । कुनै पेशामा सफल छ, भिजनरी छ र काम गर्न सक्छ भने त्यस्ता मान्छेलाई किन रोक्ने ? यो कुरालाई पार्टीले मनन गर्नुपर्छ ।

व्यवसायी वा बाहिरका मान्छे आए भने सहयोग हुँदैन, नीतिगत कुरामा मात्रै खेल्छन् भनेर अविश्वास गर्ने मानसिकता छ नि ?

यस्तो मानसिकताले त हुँदैन, विश्वास गर्नुपर्‍यो नि ! म एउटा व्यवसायी हुँदै राजनीतिमा छिरेको मान्छे । मैले मन्त्री हुँदा गाडीको सुविधा लिइनँ । तलब लिइनँ । खाजाको पनि आफैं तिर्थें, किनकि एउटा उदाहरण बन्नुपर्छ भनेर मैले काम गरें । मन्त्री हुन जाने भनेको देश बनाउन हो । केही न केही परिवर्तन गर्नका लागि हो । युवालाई विश्वास दिन जाने हो । यो कुरा बुझ्न जरुरी छ ।

 nullयसअघि शेरबहादुर देउवा पहिलोपटक सभापति हुँदा उहाँको कार्यकक्षलाई वास्तुशास्त्र अनुसार यहाँले बनाइदिनुभएको थियो नि होइन ?

यति ठूलो इतिहास बोेकेको पार्टी सभापतिको कार्यालय राम्रो चाहिन्छ । उपसभापति, महामन्त्री र अरू पदाधिकारीसहितको व्यवस्था पनि राम्रो गर्नुपर्छ । प्रभावकारी कार्यसम्पादनका लागि कार्यस्थल पनि व्ववस्थित चाहिन्छ भनेर हामीले त्यतिखेर पनि प्रयत्न गरेका थियौं । अहिले पनि यही प्रयासमा छौं । अब समग्र पार्टीकै अफिस राम्रो हुनुपर्छ भनेर लागेका छौं । कोठाहरूलाई पनि रिफर्निसिङ गरिरहेका छौं ।​ 

तपाईंहरूको योजना केन्द्रीय कार्यालयलाई मात्रै व्यवस्थित गर्ने छ कि प्रदेश कार्यालय र ७७ वटै जिल्ला कार्यालय पनि प्राथमिकतामा छन् ?

हाम्रा सात प्रदेश र जिल्ला कार्यालयहरू पनि छन् । केन्द्रसँगै यी कार्यालयको पनि सुधार गर्न सकिन्छ । विस्तारै सुधार गर्दै जान्छौं । ७७ वटै जिल्लामध्ये १० हाराहारी जिल्लामा हाम्रो आफ्नै कार्यालय भवन छैन । ती जिल्लामा आफ्नै कार्यालय बनाउँछौं । भएको अफिसलाई व्यवस्थित गर्छौं । यसका लागि मास्टर प्लान बनिरहेको छ । जिल्लाका पार्टीका सभापति, कोषाध्यक्ष, सचिव तीन जनाको दरले बोलाएर काठमाडौंमा अन्तरक्रिया गर्छौं । अहिलेसम्म कसरी चलेका छन् र अब पार्टी कार्यालयलाई कसरी व्यवस्थित गर्ने भनेर छलफल गर्छौं । दशैंलगत्तै राष्ट्रिय स्तरको सिम्फोजियम गर्छौं । उहाँहरूसँग पनि आइडिया लिएर काम गर्छौं ।​ 

निर्वाचनको साढे दुई वर्षपछि कांग्रेस अनुशासन समितिले गरेको कारबाहीको विषय विवादमा उत्पन्न भएको छ । यसलाई कसरी लिनुहुन्छ ?

म संस्था चलाएर आएको मान्छे हुँ । पार्टीभित्र यस्तो हुँदोरहेछ कि जसले जे गर्दा पनि हुने । म एउटा मास्टर भएको नाताले मेरै ठाउँमा पार्टीका साथीहरूले के व्यवहार देखाए ? मलाई के गरे भन्ने कुरा मेरो मनभित्र छ । बाहिर भनेको छैन । ३५ वर्ष हेडमास्टर भएको मान्छेले यो कुरा भन्नुहुन्न है भनेर कसैको कम्प्लेन पनि गरिनँ । मेरो प्रतिस्पर्धी उम्मेदवारको पनि विरोध गरिनँ । एकले अर्कोलाई भयंकर हिलो छ्याप्ने काम गर्छन् । तर, हामी प्रतिस्पर्धा हुँदा एकअर्कालाई हिलो छ्यापिएको छैन ।

null

पार्टीभित्र अनुशासन एकदमै आवश्यक चिज हो, किनकि म त एउटा मास्टर हो । हामी जे चाहन्छौं, त्यही गर्न पार्टीभित्र छुट भएको जस्तो लाग्छ । पार्टीले गरेको निर्णयलाई म स्वागत गर्छु, किनकि प्रमाण पुगेरै कारबाही गरेको हामीले बुझेका छौं । कारबाही गरेका कुरामा सचेत गराउन, कसैले गल्ती स्वीकार गरे त्यसलाई पनि फुकाउन सकिन्छ । तर, आफ्नो कमजोरी स्वीकार्नुपर्‍यो । एउटाले अर्कोलाई बोकेर समस्या आएको हो । जो–जोलाई कारबाही गरिएको छ, कारबाही गरिएको सन्दर्भमा मेरो पार्टी हो । मेरो गल्ती भो होला, सच्चिन तयार छु भनेर निवेदन दिए त्यस्ता नेतालाई आममाफी दिए हुन्छ । पाटी बनाउने कुरामा जसले जे गर्दा पनि हुन्छ भन्ने उपद्रो छाड्नुपर्छ । पार्टीमा एउटाले टिकट पाउँछ । तर, अर्कोले हराउन लाग्छ भने कहिल्यै पनि पार्टी बन्न सक्दैन । यस्तोमा पार्टीमा अनुशासन चाहिन्छ । समेटेर अगाडि बढ्नुपर्छ ।

एमालेसँगको समीकरणको एक वर्ष पुगेको छ । सरकारको एक वर्ष पुग्दा मन्त्री परिवर्तन गर्ने कि भन्ने चर्चा पनि छ । पार्टीको तयारी केही छ ?

मैले पनि सुनें, तर आजभोलि नै मन्त्रिमण्डल परिवर्तन होला जस्तो मलाइ लाग्दैन । तर, मिलेरै जानुपर्ने, मिलेरै सरकार बनाउनुपर्ने स्थितिमा हाम्रो संसद्को अंकगणित छ । अहिलेको संवैधानिक व्यवस्थाअनुसार एकछत्र सरकार चलाउने गरी बहुमत ल्याउन सक्ने स्थिति छैन । यस्तोमा धेरै नेता हुँदा मन्त्रीको लागि आकांक्षा हुनु स्वाभाविक हुन्छ । मन्त्री धेरै परिवर्तन गरेर मात्रै पनि हुँदैन । भारतमा एउटै मन्त्रीले १२/१५ वर्ष काम गर्न पाउँछ । यसैले उसले नतिजा पनि ल्याउँछ । नतिजा ल्याउन नसक्नेलाई पार्टीले फाल्ने गरेको छ । हाम्रोमा आजको भोलि नहोला, तर कार्यसम्पादनको कुरा र कतिपयलाई पालो दिन केही मन्त्री परिवर्तन हुन पनि सक्छन् ।  ​ 

nullएमालेसँगको समीकरणबारे तपाईंको मत के छ ?

कांग्रेस पार्टी सभापति वचन दिएपछि यस्तो अठोटमा बस्नहुन्छ, कि बोलेको पुर्‍याएरै छाड्नुहुन्छ । कसैलाई पनि धोका दिने उहाँको नेचर नै छैन, अरू पार्टीले धोका दिए छुट्टै कुरा हो । कांग्रेसले धेरैपटक धोका पाएको छ । धोका दिने पार्टीले पनि अहिले रियलाइज गरिसक्यो । शेरबहादुर र कांग्रेस पार्टी पक्का रहेछ भनेर माओवादी केन्द्रका अध्यक्ष (पुष्पकमल दहाल) प्रचण्डले भनिसक्नुभएको छ ।

गल्ती गरेको हामीले नै हो भनेर नेताहरूले रियलाइज गरिसक्नुभएको छ । अरूले धोका दिए थाहा छैन, तर हाम्रो पार्टीले धोका दिएर अर्को पार्टीसँग समीकरण बनाउने सोच हाम्रो सभापतिको छैन । सरकारमा एउटासँग बसेर अर्को पार्टीसँग छलफल गर्ने स्वभाव हाम्रो सभापतिको छैन ।

salt training

कमेन्ट गर्नुहोस्