
घुस लेनदेनको अडियो सार्वजनिक भएपछि विवादमा परेका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताबारे प्रधानमन्त्री केपी शर्मा ओली अझै बुझ्ने प्रक्रियामा देखिएका छन् ।
सोमबार बिहान मात्र प्रधानमन्त्री ओलीले सरकारी निवास बालुवाटार बोलाएर मन्त्री गुप्तासँग सोधखोज गरेका थिए ।
‘अडियो आएपछि विवादित अवस्थाबारे प्रधानमन्त्री बुझ्ने प्रक्रियामा हुनुहुन्छ । केही मिडिया र सामाजिक सञ्जालमा आए पनि सत्यता बुझ्न सोधखोजका क्रममा छ । आज बिहानै पनि प्रधानमन्त्रीले के भएको हो भनेर सोधखोज गर्नुभएको छ,’ बालुवाटार स्रोतले भन्यो, ‘आजै ६ बजे क्याबिनेट बैठकपछि कांग्रेस, एमाले र जसपाको बैठक बस्नेछ । मन्त्रीको विषयमा पनि त्यसपछि नै निर्णय होला ।’
पार्टीलाई बदनाम गराउने विवादमा फसेपछि आइतबारदेखि नै प्रधानमन्त्री निकट स्रोतले नै प्रधानमन्त्रीले मन्त्री गुप्ताविरुद्ध छिट्टै एक्सन लिने दाबी गरेको थियो । राजीनामा दिन लगाउने नभए बर्खास्त नै गर्ने तयारीमा ओली छन् भनिएको थियो । तर, प्रधानमन्त्रीसँग बालुवाटारमा आधा घण्टा छलफल गरेर बाहिरिएका गुप्ता फोन अफ गरेर बसेका छन् ।
एमालेका केन्द्रीय सदस्य एवं सांसद समेत रहेका गुप्ताले मालपोत कार्यालय कास्कीका तत्कालीन प्रमुखको सरुवा रोक्न ५३ लाख र भूमि आयोग कास्कीको अध्यक्ष बनाउन २५ लाख डिल गरेको अडियो सार्वजनिक भएपछि विवादित बनेका थिए ।
आफूलाई फसाउने नियतले पैसाको पोको नै मन्त्री क्वार्टरमा छोडेर बिचौलियाले आफू अनुकूलको अडियो बनाएको दाबी गुप्ताले गरेका थिए । तर, विवादपछि गुप्तालाई राजीनामा दिन सर्वत्र दबाब परेको छ ।
प्रमुख प्रतिपक्ष माओवादी केन्द्र, विपक्षी दल मात्रै होइन सत्तारूढ कांग्रेस र एमालेकै सांसदले समेत मन्त्री गुप्तालाई बर्खास्त गर्न माग गरेका छन् ।
सोमबारको प्रतिनिधिसभा बैठकमा एमाले सांसद किरणकुमार साह, कांग्रेस सांसद ईश्वरी न्यौपानेसहितले गुप्तालाई बर्खास्त गर्न माग गरे । गुप्ता २०७९ को चुनावमा बारा-३ बाट विजयी भएका थिए ।
गुप्तामात्रै होइन भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी पनि यो अडियो काण्डमा जोडिएका मन्त्री हुन् । गुप्ताको अडियोमा अधिकारीले पैसा खाइसक्यो भनेका छन् ।
गुप्ताले यो प्रकरणमा पूर्व भूमि व्यवस्था मन्त्री एवं नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठलाई पनि तानेका छन् । प्रधानमन्त्रीसँग गुप्ताले बिहान ६ बजे बिचौलियासँग पैसा बोकेर श्रेष्ठ नै मन्त्री क्वार्टरमा आएको बताएका थिए ।