२६ असार २०८३, शुक्रबार
क्यानडाको ऐतिहासिक सफलता

क्यानडा विश्वकपको प्रिक्वार्टरफाइनलमा प्रवेश, रच्यो इतिहास

असार १५, २०८३
काठमाडौं
क्यानडा विश्वकपको प्रिक्वार्टरफाइनलमा प्रवेश, रच्यो इतिहास

विश्वकपको सह-आयोजक क्यानडाले दक्षिण अफ्रिकालाई १-० गोल अन्तरले स्तब्ध पार्दै पहिलो पटक विश्वकपको प्रिक्वार्टरफाइनल (अन्तिम १६) मा आफ्नो स्थान बनाएको छ । 

गएराति अमेरिकाको लस एन्जलस स्टेडियममा सम्पन्न 'राउण्ड अफ ३२' को  प्रतिस्पर्धात्मक खेलमा क्यानडालाई यो ऐतिहासिक सफलता प्राप्त भएको हो।

करिब ७० हजार दर्शकको उपस्थिति रहेको स्टेडियममा खेलको निर्धारित ९० मिनेटसम्म दुवै टोलीबाट कुनै गोल हुन सकेको थिएन। खेल अतिरिक्त समयतर्फ धकेलिने संकेत देखिइरहँदा स्टेफन युस्टाकियो क्यानडाका लागि नायक सावित भए । उनले इन्जुरी समयको दोस्रो मिनेटमा पेनाल्टी एरियाको छेउबाट उत्कृष्ट 'लो स्ट्राइक' मार्फत गोल गर्दै टोलीलाई जित दिलाए। 

खेलभरि क्यानडाले नै दक्षिण अफ्रिकामाथि दबाब कायम राखेको थियो। तर अन्तिमसम्म गोलको खडेरी रहेको थियो । 

यो जित क्यानडाको फुटबल इतिहासमा एक कोशेढुङ्गा सावित भएको छ। यसअघि सन् १९८६ र २०२२ को विश्वकपमा सहभागिता जनाए पनि क्यानडाले कुनै खेल जित्न सकेको थिएन। तर यसै प्रतियोगिताको समूह चरणमा कतारलाई ६-० ले पराजित गर्दै पहिलो जित दर्ता गरेको क्यानडाले अहिले नकआउट चरण पार गरेर नयाँ कीर्तिमान कायम गरेको छ।

जितपछि क्यानडाका मुख्य प्रशिक्षक जेसी मार्शले आफ्ना खेलाडीहरूलाई 'देशका नायक' को संज्ञा दिए। उनले मैदानमै खेलाडीहरूलाई सम्बोधन गर्दै यो ऐतिहासिक उपलब्धिले क्यानडामा फुटबलको भविष्यलाई सधैँका लागि बदलिदिने र नयाँ पुस्ताका लागि प्रेरणा बन्ने बताए। 

salt training

कमेन्ट गर्नुहोस्