२६ असार २०८३, शुक्रबार

बीमा प्राधिकरणका अध्यक्ष पोखरेलले सम्हाले कार्यभार

असार ३१, २०८२
काठमाडौं
बीमा प्राधिकरणका अध्यक्ष पोखरेलले सम्हाले कार्यभार

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सेवन्तक पोखरेलले मंगलबार प्राधिकरणमा अध्यक्षको कार्यभार सम्हालेका छन् ।

अर्थ मन्त्रालयका सहसचिव पोखरेललाई सरकारले अर्को व्यवस्था नभएसम्मका लागि प्राधिकरणको अध्यक्ष भई कामकाज गर्न जिम्मेवारी दिएको छ ।

प्राधिकरणमा कार्यभार सम्हाल्दै पोखरेलले बीमा ऐन, नियम र निर्देशिका अक्षरश: पालना गर्दै बीमा कम्पनीको अनुगमन र नियमनलाई कार्ययोजनाका साथ अझै प्रभावकारी रूपमा अगाडि बढाउन निर्देशन दिए । 

सरकारले आर्थिक वर्ष २०८२/०८३ को बजेट वक्तव्यमार्फत् ल्याएका बीमा सम्बन्धी नीतिगत व्यवस्थाको कार्यान्वयनलाई प्राथमिकताका साथ अगाडि बढाउन निर्देशन दिँदै अध्यक्ष पोखरेलले भने, ‘संस्थाको उद्देश्य प्राप्ति र बीमा क्षेत्रको विकास एवं पहुँच विस्तारका लागि टिमवर्कका साथ काम गरौं, संस्थाको जिम्मेवारी ठूलो छ, बीमितको हकहित संरक्षण गर्नुछ, बीमा क्षेत्रको भविष्य राम्रो छ, सबै मिलेर इमान्दारिताका साथ काम गरौं ।’

अध्यक्ष पोखरेलले बीमा सचेतनामार्फत् बीमाको पहुँच बढाउन, बीमा व्यवसायलाई स्वच्छ, पारदर्शी, प्रतिस्पर्धी र विश्वसनीय बनाउन, बीमा सेवाको गुणस्तर अभिवृद्धि गर्न र बीमा क्षेत्रमा देखिएका समस्या समाधान गर्न जिम्मेवारीपूर्वक अगाडि बढ्नु आवश्यक रहेको बताए ।

कार्यक्रममा अध्यक्ष पोखरेललाई स्वागत गर्दै प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले बीमा ऐन, नियमले प्राधिकरणलाई सुम्पिएको दायित्व पूर्ण प्रतिवद्धता साथ निर्वाह गर्दै आएको बताए । 

salt training

कमेन्ट गर्नुहोस्