
पानी दर्कन्थ्यो, खोला बढ्दथ्यो, चट्याङ पर्दथ्यो ।
हलखेतालाहरू, छत्रिस्याखु ओढ्दै, रोपाइँ गर्दथे ।
स्कुलै बिदा, घरमै बस्ने, लामा थिए दिन ।
बाउआमा मेला, फुर्सद छैन, पकाउने बच्चा हुन् ।
लुतो फाल्ने, गोरु नुहाउने, बिसौली खाइन्थ्यो ।
संक्रान्तिमा खसी, काटेर खाई, रमाइलो गरिन्थ्यो ।
अर्मपर्म, परेली गर्दै, हिलो छाडिन्थ्यो ।
यही हर्षमा नै, रमाइलो गर्दै, दंग परिन्थ्यो ।
फुरौला सेल, मासुभात खाना, परिवार बसेर ।
रमाइलो गर्दै मनाउने हामी, हर्षले हाँसेर ।
साउने संक्रान्ति, बाँचेर मान्ने, किसानको हो चाड ।
पहाड हिमाल, तराई सबैको, अनौठो रिवाज ।
अहिलेको संक्रान्ति, उहिलेको संक्रान्तिमा धेरै नै फरक।
रमाइलो असार, कामपछि भोज,उत्सव अनेक ।
पहिला त वर्षा, समयमा हुन्थ्यो, भदौमा सर्दैनथ्यो ।
रोपाइँ सर, किसानले थकाइ मार्न, नि पाइन्थ्यो ।
अहिलेको चलन, के आयो कुन्नि, वर्षा नै गडबड ।
कहिले हिउँद, कहिले वर्षा, किसान नै अलमल ।
साउन बार्ने, हरियो लाउने, के आयो चलन।
अनेक भाँति, व्रत र कर्म अनौठो भनन ।
न हलोजुवा, न अनौ फाली, नत छ हलगोरु ।
ट्याक्टरको चलन, घन्टैको हजार, महँगो के गरुँ ।
सुनसान गाउँघर, युवा विदेश, साउन आएन।
असारे भाखा, रोपार हली, खेतमा रहेन ।
न बाँझो राखौं, न खेत रोपौं, गाउँलेलाई सकस ।
न मौसम ठेकान, न मल बिउ, समय राकस ।
बेसाहा खान, सस्तो पर्यो, के रोपाइँ गर्ने हो ।
आखिरमा हेर्दा, जसरी पनि, किसान मर्ने भो ।
के खानु मानो, कहाँको, मुरी उब्जाउनु ।
मरिमरि काम गर्नु र पनि पर्छ बेसाउनु ।
विज्ञान आयो, महंगो भयो, काम गर्न सजिलो ।
हुनेलाई मज्जा, छिनमै रोपाइँ, प्रविधि भित्रियो ।
संक्रान्ति मनाउ, हाँसी र खुसी, रोपाइ सकेर।
हाम्रो नै राम्रो, खेती किसानी, गर्वले मानेर ।