०७ असार २०८३, आइतबार

पुरानो प्रेम, नयाँ प्रस्तुति: ‘सैयारा’को चर्चा किन बढिरहेको छ ?

साउन ६, २०८२
काठमाडौं
पुरानो प्रेम, नयाँ प्रस्तुति:  ‘सैयारा’को चर्चा किन बढिरहेको छ ?

मोहित सूरीको निर्देशनमा बनेको हिन्दी फिल्म ‘सैयारा’ले रिलिज भएको छोटो समयमै दर्शक र समीक्षकहरूको मन जितेको छ ।

नयाँ अनुहारहरू अहान पाण्डे र अनीत पड्ढाको जोडी, आत्मीय संगीत र भावनात्मक कथावस्तुले यो फिल्म २०२५ को सबैभन्दा चर्चित र व्यावसायिक रूपमा सफल फिल्म बनेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

‘सैयारा’ले अहान पाण्डे (कृष कपूर) र अनीत पड्ढा (वाणी बत्रा)लाई बलिउडमा नयाँ स्टारको रूपमा स्थापित गरेको छ । 
अहान अभिनेत्री अनन्या पाण्डेका भाइ र चंकी पाण्डेका भतिज हुन् । उनी चलचित्रमा एक महत्वाकांक्षी र भावनात्मक गायकको भूमिकामा देखिएका छन् । 

अनीत यसअघि ‘सलाम वेंकी’ र ‘बिग गर्ल्स डन्ट क्राई’मा देखिएकी थिइन् । सैयारामा उनी एक संवेदनशील कवयत्रीको भूमिकामा छिन् । 

समीक्षकहरूले उनीहरूको जोडीलाई राम्रो केमेस्ट्री भन्दै प्रशंसा गरेका छन् । लेनस्मेन रिभ्यूजले उनीहरूको अभिनयलाई ‘प्रेरणादायी’ भनेर टिप्पणी गरेको छ । रेडिटमा धेरैले चलचित्रको पक्षमा रिभ्यु दिएका छन् । 

सैयाराको संगीत, हृदयस्पर्शी गीत र मोहित सूरीको सिग्नेचर भावनात्मक निर्देशनले यो फिल्मलाई विशेष बनाएको छ । 

मिथून, तनिष्क बगची, फहीम अब्दुल्लाह, अरसलान निजामी र सचेत परम्पराले कम्पोज गरेका सात गीतहरूले दर्शकको मन जितेका छन् ।

शीर्षक गीत ‘सैयारा’ले पनि छोटो समयमै राम्रो प्रतिक्रिया पाएको छ । भारतीय लोकप्रिय सञ्चारमाध्यम एनडीटीभीका समीक्षकले यो गीतले ‘समय यात्रा’को अनुभूति गराउने बताएका छन् । ‘बरबाद’, ‘तुम हो तो’ र ‘हमसफर’जस्ता गीतहरूले कथाको भावनात्मक गहिराइलाई थप जीवन्त बनाएका छन् ।

पुरानो प्रेम, नयाँ स्वाद

‘सैयारा’को कथा २००४ को कोरियाली फिल्म अ मोमेन्ट टु रिमेम्बरबाट प्रेरित छ, जसमा प्रेम, रोग, सम्झना र भावनाको मिश्रण छ ।

एनडीटीभीले लेखेको छ, ‘कसैले मोहित सूरीले जस्तो हृदयस्पर्शी प्रेमकथा बनाउन सकेको छैन, ब्याड ब्वाई र गुड गर्लको भेट, ब्रेकअप र पुनर्मिलन ।’

कथा परम्परागत भए पनि मोहित सूरीको निर्देशकीय शैलीले दर्शकलाई भावनात्मक रूपमा बाँध्न सफल भएको लेनस्मेनले उल्लेख गरेको छ । वाणीको विवाहको दिन छोडिएको कथाबाट शुरू हुने यो फिल्मले कृष र वाणीको प्रेम र संगीतमय सहकार्यलाई मार्मिक ढंगले प्रस्तुत गर्छ ।

बक्स अफिसमा रेकर्ड 

‘सैयारा’ले पहिलो दिन २१ करोड भारू र दोस्रो दिन ४५ करोड कमाएर बक्स अफिसमा तहल्का मच्चाएको छ । 

चार दिनमै १०० करोड क्लबमा प्रवेश गरेको यो फिल्म २०२५ को शीर्ष ५ ओपनिङ वीकेण्डमा परेको छ । यो नयाँ कलाकारहरूका लागि ऐतिहासिक उपलब्धि हो ।

फिल्मले धडक (८.७६ करोड) र कहो ना प्यार है को रेकर्ड तोड्दै डेब्यु कलाकारहरूको फिल्मका लागि सर्वाधिक ओपनिङको कीर्तिमान बनाएको छ । 

श्रद्धा कपूर, वरुण धवन र रणवीर सिंहजस्ता बलिउडका दिग्गजहरूले ‘सैयारा’को प्रशंसा गरेका छन् । निर्देशक सुभाष घईले ‘स्टारमा बढी खर्च गर्न छोडेर कथामा ध्यान दिनुपर्छ’ भन्दै फिल्मको कथावस्तु र सादगीको तारिफ गरेका छन् । 

ट्रेड विश्लेषक तारन आदर्शले ‘सैयारा’ले ‘रेकर्ड बुक रिराइट गरेको’ बताएका छन् भने सामाजिक सञ्जालमा पनि दर्शकहरूले फिल्मको भावनात्मक गहिराइ र संगीतको तारिफ गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्