
भारत उत्तर प्रदेशको विशेष कार्यबल (एसटीएफ)को नोएडा युनिटले गाजियावादको कविनगर क्षेत्रमा सञ्चालन भइरहेको एक नक्कली दूतावासको पर्दाफास गरेको छ ।
प्रहरीले घटनास्थलबाट मुख्य आरोपी हर्षवर्धन जैनलाई पक्राउ गरेको छ । जैन एक भाडाको घरबाट आफूलाई ‘वेस्ट आर्कटिक’, ‘साबोर्गा’, ‘पोल्भिया’, र ‘लोडोनिया’ जस्ता काल्पनिक देशको दूत (राजदूत/काउन्सलर) भनेर चिनाउँदै व्यापक ठगीमा संलग्न रहेको पत्ता लागेको छ।
एसटीएफले जैनको नियन्त्रणबाट कूटनीतिक नम्बर प्लेट जडित चार वटा गाडी, १२ वटा नक्कली कूटनीतिक राहदानी, भारत सरकारको परराष्ट्र मन्त्रालयको नक्कली छापसहितका दस्तावेज, दुई वटा नक्कली प्यान कार्ड, ३४ देश र कम्पनीका नक्कली छाप, दुई वटा नक्कली प्रेस कार्ड, झण्डै ४४ लाख ७० हजार भारतीय रूपैयाँ नगदर थुप्रै देशका विदेशी मुद्राहरू बरामद गरेको छ ।
उत्तर प्रदेश प्रहरीका एडीजी (कानून व्यवस्था) प्रशान्त कुमारका अनुसार, हर्षवर्धन जैनले नक्कली पहिचानको आडमा मानिसहरूलाई भ्रममा पार्थे र कूटनीतिक छुट तथा प्रभावको दुरुपयोग गर्थे । उनको साथबाट भेटिएका थुप्रै विदेशी कम्पनीसँग सम्बन्धित कागजात व्यावसायिक तथा ‘कूटनीतिक गतिविधि’को आवरणमा प्रयोग गरिएको आशंका गरिएको छ ।
हर्षवर्धन जैनले आफूलाई अन्तर्राष्ट्रिय राजनयिक दाबी गर्दै डिप्लोम्याटिक नम्बर प्लेट जडित गाडीमा सवारी गर्ने गर्थे र सर्वसाधारणलाई भ्रमित पार्थे । प्रारम्भिक अनुसन्धानका क्रममा उनले आफैं ती ‘देश’हरूको वैध प्रतिनिधि भएको दाबी गरे पनि प्रहरीले बरामद गरेका सबै कागजात नक्कली रहेको पुष्टि भइसकेको छ ।
हाल यूपीसहित भारतको केन्द्र सरकार अन्तर्गतका सुरक्षा निकायहरू यस घटनालाई अन्तर्राष्ट्रिय आयामबाट पनि अनुसन्धान गरिरहेका छन् । प्रहरीले शंका गरेको छ कि हर्षवर्धनले कुनै विदेशी नागरिक वा गिरोहको सहयोगमा यो ठूलो फर्जी गतिविधि सञ्चालन गरिरहेका थिए ।
साथसाथै, उनले अहिलेसम्म कति व्यक्तिलाई ठगे, कुन–कुन सरकारी वा गैरसरकारी संस्थालाई झुक्याए भन्नेबारे विस्तृत विवरण संकलन भइरहेको बताइएको छ ।
प्रहरीले सर्वसाधारणसँग अपिल गर्दै भनेको छ, ‘यदि कसैसँग हर्षवर्धन जैनसम्बन्धी थप जानकारी छ वा उनीबाट ठगिएका पीडित छन् भने कृपया अगाडि आएर उजुरी दिनुहोस् ।’