१३ असार २०८३, शनिबार
राजनीतिमा पूर्व राष्ट्रपतिको भोक

आफ्नै 'ओज घटाउने' गरी विद्या भण्डारीले पत्रकार सम्मेलनमा बोलेका २ कुरा

साउन ९, २०८२
काठमाडौं
आफ्नै 'ओज घटाउने' गरी विद्या भण्डारीले पत्रकार सम्मेलनमा बोलेका २ कुरा

नेकपा एमालेले राष्ट्रपति भइसकेको भन्दै राजनीतिमा फर्किन नमिल्ने निर्णय गरेको तीन दिनमै पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले ‘काउन्टर’ दिएकी छिन् । आफू पार्टीकै योजनामा राष्ट्रपति भएकाले आफ्नो चिनारी एमालेको पूर्व उपाध्यक्ष नै रहेको उनको दाबी छ ।

राष्ट्रपति हुनुअघि ३५ वर्ष र त्यसयताको १० वर्ष गरी ४५ वर्ष एमालेकै सदस्य भएको दाबी पनि भण्डारीले गरेकी छन् । सोहीकारण पार्टीले आफ्नो सदस्यता कुनै हालतमा खोस्न नमिल्ने जिकिर भण्डारीले शुक्रबार पत्रकार सम्मेलनमार्फत गरेकी हुन् ।

‘जनताको बहुदलीय जनवाद जिन्दावाद, नेकपा एमाले जिन्दावाद’ लेखिएको पत्रकार सम्मेलनको ब्यानरमा मदन भण्डारीको ठूलो तस्वीर राखिएको थियो । एमालेले ‘जनताको बहुदलीय जनवाद’लााई आदर्श सिद्धान्त मान्दै आएको छ । विद्याले यो सिद्धान्तका प्रतिपादक मदन भण्डारीबाट सदस्यता लिएको मात्रै बताइनन्, कसैले खोस्न नसक्ने अर्थपूर्ण अभिव्यक्ति पनि दिइन् ।

‘म अहिले पनि एमाले परिवारको सदस्य हुँ । ४५ वर्षअघि सदस्यता लिएकी हुँ,’ भण्डारीले भनिन्, ‘मदन भण्डारी कोशी–सगरमाथाको इन्चार्ज हुँदा मलाई शपथ गराउनु भएको हो ।’ जबजमा आफ्नो हक र ‘कपिराइट’ लाग्ने आशय समेत भण्डारीको अभिव्यक्तिमा झल्किन्छ ।

पार्टीले सम्मानित व्यक्ति दलको कार्यकर्ता हुन नसक्ने भन्दै उनलाई पूर्व राष्ट्रपतिको हैसियतमा राखेको घोषणा गरेको तीन दिन मात्रै बितेको छ । तर, विद्याले पार्टी नेतृत्वकै शैलीमा कार्यकर्तासामु प्रस्तुत भएर अपिल गरेकी छिन् ।

‘मूल्य एवं आदर्शलाई आधार मानेर बहुत शान्त र गम्भीर भएर म यी कुराहरू राखिरहेको छु । यस आधारमा जबजले अगाडि सारेको पार्टी निर्माणसम्बन्धी अवधारणाको निष्ठापूर्वक रक्षा गर्न म देशभरका सबै एमाले पंक्तिमा आग्रह गर्दछु,’ भण्डारीले भनेकी छिन्, ‘मेरो यो आग्रह र संकल्प अन्तरआत्माको आवाज हो । आफ्नो निर्णयबाट म विचलित हुने छैन । त्यसैले म सम्पूर्ण पार्टीपंक्तिलाई निर्धक्क, ढुक्क र दृढ भएर पार्टीका मूल्यहरूलाई आत्मसात गर्दै पार्टी निर्माणमा सक्रिय हुन समेत हार्दिक आह्वान गर्दछु ।’

null

यसअघिसम्म आफैंले गरेको कार्यक्रममा पनि भण्डारी पूर्व राष्ट्रपतिको रूपमा प्रस्तुत भएकी थिइन् । तर, पत्रकार सम्मेलनमा लिखित विज्ञप्तिमा ‘पूर्व उपाध्यक्ष, नेकपा एमाले’ भनेर उल्लेख गरिएको छ ।

सात वर्ष राष्ट्रपति भएको र अरू ३ वर्ष खाली रहेको समयमा पनि भण्डारीले आफ्नो सदस्यता निष्क्रिय नभएको जिकिर गरेकी छिन् ।

‘कानूनले सदस्यता लिन रोक्दैन, छेक्दैन । यो घामजत्तिकै छर्लंग छ । पार्टी सदस्यताबाट वञ्चित गर्नुपर्ने कारण छैन । पार्टीमा सहभागी हुन पाउनु मेरो संवैधानिक अधिकार हो । अपरिपक्व निर्णयले मलाई दु:खी बनाएको छ,’ भण्डारीले भनेकी छिन्, ‘यसले पार्टीको साखलाई गिराउँछ । यो वैध र परिपक्व हुन सक्दैन । राष्ट्रपति हुँदा सदस्यता लिएको ३५ वर्ष भएको थियो । अहिले ४५ वर्ष भइसकेको छ । यसैले पार्टीको नीति र सिद्धान्तप्रति प्रतिबद्ध हुँदाहुँदै मलाई एमालेका राजनीतिबाट वञ्चित गर्न मिल्दैन ।’

भण्डारीले राष्ट्रपति हुँदा पनि पार्टी परित्याग नगरेको जिकिर गरेकी छिन्, जुन निकै गम्भीर विषय हो ।

‘एमालेको जीवनमा प्रवेश गरेको होइन, पुन: आएको छु । ३५ वर्ष सदस्य भएपछि राष्ट्रपतिको शपथ खाएँ । पार्टीले नै निर्णय गरेर पठाएको हो । छाडेर, पार्टी परित्याग गरेर वा अरू हिसाबले गएको होइन,’ भण्डारीले भनिन्, ‘पार्टीको जिम्मेवारी पाएर गएको हुँ, अरू हिसाबले गएको होइन । आइसकेपछि पनि मैले विधिअनुसार नवीकरण गरेको हुँ । म अहिले पनि नेकपा एमालेको परिवारमा आबद्ध छु । पार्टी परित्याग गरेर गएको होइन ।’

साथै, पूर्व राष्ट्रपति भन्दा एमालेको पूर्व उपाध्यक्षका रूपमा चिनाउने विषय पनि उनको ‘ओज’ घटाउने खालको छ । राष्ट्रपति भइसकेको व्यक्तिका लागि त्यो भन्दा ठूलो चिनारी अर्को हुन सक्ने देखिँदैन ।

पार्टी विधि र प्रणालीले चल्ने भन्दै उनले जसलाई जतिखेर मन लाग्यो त्यतिखेर चलाउने अधिकार नभएको भनेर चेतावनी पनि दिएकी छिन् ।

राष्ट्रपतिको कार्यकाल सकिएपछि आफू मुलुकको सामाजिक, आर्थिक र राजनीतिक विषयको चिन्तनका साथ राजनीतिमा होमिने निर्णयमा पुगेको उनको दाबी छ । साथै, अन्तर्राष्ट्रिय राजनीतिक परिस्थितिका बारेमा अध्ययन तथा चिन्तन–मनन् गरेरै राजनीतिमा आएको भण्डारीले बताएकी छन् । उनले मिडियामा आइसकेपछि मात्र आफूले सदस्यता नवीकरणको विषय बाहिर ल्याएको जिकिर समेत गरिन् ।

‘आफ्नो राजनीतिक यात्रालाई पार्टीमा आबद्ध भएर अगाडि बढाउने/नबढाउने भन्ने विषयमा उपयुक्त समयमा जानकारी गराउने कुरा गर्दै आएको थिएँ । जब म पार्टीमा आबद्ध बनेर नै अगाडि बढ्ने टुंगोमा पुगें, तब मैले पार्टीको सदस्यता विधिपूर्वक नवीकरण गरें,’ भण्डारीले भनेकी छिन्, ‘मैले यो विषय सार्वजनिक नगरिरहेकै अवस्थामा पार्टी कार्यालय, नेता, कार्यकर्ता र शुभेच्छुकको हवाला दिँदै मेरो पार्टी सदस्यता नवीकरणको विषय सञ्चार माध्यमले बाहिर ल्याए । अब यस्तो परिवेशमा मेरो पार्टी सदस्यता नवीकरणको विषयमा चुप रहनु उपयुक्त हुँदैनथ्यो । सदस्यता नवीकरण गर्नुको औचित्य पनि नेकपा एमालेमा आबद्ध भएर अगाडि बढ्नु नै थियो ।’

त्यसैले असार १४ गते राजनीतिमा फर्किएको घोषणा गरेको उनको भनाइ छ । एमाले अध्यक्षसँग सौहाद्रपूर्ण छलफल भए पनि आफ्नो सदस्यतालाई अनावश्यक रूपमा विवादमा तानिएको गुनासो समेत उनले गरेकी छन् ।

‘अघिल्लो दिन नेकपा एमालेको केन्द्रीय कार्यालयमा पार्टी अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली र मेरा बीचमा सौहार्दपूर्ण वातावरणमा छलफल समेत भएको थियो । त्यसो त यसभन्दा पहिले पनि पार्टी सदस्यता नवीकरण र पार्टीमा मेरो जिम्मेवारीको विषयमा पार्टीका नेताहरूसँग पटक–पटक कुरा हुँदै आएको थियो,’ भण्डारीले भनेकी छिन्, ‘मैले पार्टी अध्यक्षसँगको पछिल्लो भेटमा आफूले विधिसम्मत ढंगले पार्टी सदस्यता नवीकरण गरेको र यसकै आधारमा पार्टीमा आबद्ध भएर कार्य गर्ने विषयमा समेत छलफल गरेको थिएँ । यसको भोलिपल्ट पार्टी केन्द्रीय कमिटीले मेरो सदस्यताबारे गरेको निर्णय विज्ञप्तिबाट थाहा पाएँ । वास्तवमा मेरो पार्टी सदस्यता नवीकरण भैसकेकाले यसलाई विवादमा पार्नुपर्ने विषय नै होइन ।’

राजनीतिक व्यक्ति भएकाले राष्ट्रपति भएपछि पनि राजनीतिमा फर्किन मिल्ने उनको जिकिर छ ।

‘म एक राजनीतिक व्यक्ति भएकाले नै राष्ट्रपति निर्वाचित भएको र राष्ट्रपतिको जिम्मेवारी पूरा गरेर राजनीतिक दलमा आबद्ध बनी देश र जनताको सेवा गर्ने संकल्प गर्नु कुनै अनौठो र आश्चर्य मान्नुपर्ने विषय होइन । म राजनीति गरेर, पार्टीको नेता भएर नै राष्ट्रपतिमा निर्वाचित भएको हुँ । र, आफ्नो बाँकी जीवन पनि राजनीतिमा लगाएर नै देश र जनताको सेवामा समर्पित हुने निर्णयमा पुगेको हुँ,’ भण्डारीले भनेकी छिन्, ‘कुनै पदप्रति लालसा, महत्त्वाकांक्षा र आशक्ति ममा छैन । किनकि, मैले राष्ट्रकै सर्वोच्च पदमा पुगेर इतिहासमा आफ्नो नाम दर्ज गरिसकेकै छु । मेरो उद्देश्य भनेको पार्टीको सदस्य बन्ने, पार्टीलाई सबल, सुदृढ र एकताबद्ध बनाउने तथा राजनीतिमार्फत देश र जनताको सेवा गर्ने नै हो । अनि मुलुक र जनतालाई समृद्ध र सुखी बनाउने अभियानलाई अगाडि बढाउने नै हो ।’

null

आफूलाई राजनीतिमा होमिन नेपालको कुनै कानूनले नरोक्ने दाबी उनको छ ।

‘नेपालको संविधानले आस्थाको अधिकार र राजनीतिक दलमा आबद्ध हुने अधिकारलाई मौलिक हकको रूपमा प्रत्याभूति गरेको छ,’ भण्डारीले भनेकी छिन्, ‘संविधानका विभिन्न धारा, मर्म र भावना कहीँ कतैबाट पनि म दलमा आबद्ध भएर राजनीतिमा संलग्न हुन नसक्ने अवस्था छैन ।’

असार १४ गते भण्डारीले एमालेको सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी थिइन् । पार्टी सदस्यता नवीकरण गरेरै राजनीतिमा फर्किएको उनको घोषणा थियो । तर, उनको घोषणापछि पोलिटब्युरो बैठकले अघिल्लो शनिबार भण्डारीको सदस्यता ‘पेन्डिङ’मा रहेको भनेर घोषणा गर्‍यो । सो घोषणापछि भण्डारी थप क्रुद्ध भइन् । साउन ६ गते भण्डारीले भंगाल निवासमा केही पत्रकारसँग आफूले निर्णय गरिसकेको भन्दै राजनीतिबाट पछि नहट्ने बताइन् । आफू ‘माझकिराँत’की छोरी रहेको भन्दै भण्डारीले एमालेको सक्रिय राजनीति गर्ने अडानबाट पछाडि नफर्किने बताइन् ।

त्यसैदिनको मध्यराति एमालेको केन्द्रीय कमिटी बैठकले विद्याबारे निर्मम राजनीतिक निर्णय लियो । भण्डारीले नवीकरण गरिसकेको दाबी गरेको पार्टी सदस्यता ‘होल्ड’ गरियो । गणतन्त्र गौरवको रूपमा सम्मान गरेको, देशको सर्वोच्च नागरिक र नेपाली सेनाको परमाधिपति भइसकेको व्यक्ति दल विशेष कार्यकर्ता बन्न नहुने निर्णय एमालेले गरेको हो ।

सम्मानित व्यक्ति राजनीतिमा आउने विषय संविधान र व्यवस्थाविपरीत हुने एमालेको निर्णय छ । तर, यही निर्णयविरुद्ध भण्डारीले पत्रकार सम्मेलन गरेर आफ्नो मत राखेकी छन् । भण्डारीको सदस्यता खोस्ने निर्णयमा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली र स्थायी कमिटी सदस्य कर्ण थापाले फरक मत राखेका थिए । तर, शुक्रबार भण्डारीको पत्रकार सम्मेलनमा एमालेका कुनै पनि शीर्ष नेता देखिएनन् ।

 

salt training

कमेन्ट गर्नुहोस्