
उदयपुरको कटारीमा टिपर दुर्घटना हुँदा सात जना घाइते भएका छन् ।
कटारी नगरपालिका- १ पानीट्याङ्कीस्थित सिद्धिचरण लोकमार्गमा टर्निङ लिने क्रममा ना १ क ५५४९ नम्बरको टिपर अनियन्त्रित भएर सडक किनारमा पल्टिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा कटारी नगरपालिका २ गुराँसे बस्ने ६० वर्षीय शेरबहादुर थापा, ५० वर्षीया सुनिता थापा, २३ वर्षीया जेनी श्रेष्ठ, ४८ वर्षीया सीता श्रेष्ठ, ३९ वर्षीया यशोदा खड्का, ४० वर्षीया कृजा थापा र ४० वर्षीय कुलबहादुर अधिकारी घाइते भएका छन् ।
शेरबहादुर थापा र सुनिता थापाको मिर्चैयास्थित मनकामना अस्पतालमा उपचार भइरहेको छ भने अन्य पाँच जनाको मिर्चैयास्थित विष्णु क्लिनिकमा उपचार भइरहेको छ । उनीहरू सबैको अवस्था सामान्य रहेको छ ।
दुर्घटनापछि टिपर चालक कटारी नगरपालिका- २ ददरिया बस्ने २३ वर्षीय राजेश दनुवार फरार रहेका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।