२९ जेठ २०८३, शुक्रबार
खबरदारीका खम्बा

पोखराको प्रश्नलाई मर्न नदिएका राम पौडेल

साउन १०, २०८२
पाेखरा
पोखराको प्रश्नलाई मर्न नदिएका राम पौडेल

शान्त शहरको रूपमा चिनिन्छ पोखरा । प्रकृतिको सौम्यतामा रमाएको पोखराको विनम्रता सामाजिक विषयमा पनि झल्किन्छ । यही विनम्र भावले पोखराको प्रश्न गर्ने चेतना कमै छ । त्यसैले त हो प्रश्नको कठघरामा पोखरा प्राय उभिदैन ।

नागरिक स्तरबाट हुने खबरदारीका औँला यो शहरमा कम उठ्छन् । तर, यही पोखराको भीडबाट एउटा मान्छे दुई दशकदेखि निरन्तर उभिएको छ- खबरदारीको औँला ठडाएर । जसले पोखरामा जिउँदै राखेका छन्, नागरिक समाजलाई ।

२०६१ सालदेखि यसरी सामाजिक विषयमा सक्रियता देखाएका व्यक्ति हुन्- रामबहादुर पौडेल । राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति नेपालमा बसेर उनले काम थाले । सचिव हुँदै अध्यक्ष बनेर उनले संस्थाबाट बिदा लिए । तर, उनको हुटहुटी मेटिएको थिएन । 

सामाजिक क्षेत्रमा सक्रिय भएर लाग्न चाहन्थे । जो निष्पक्ष काम गरोस्, विनाकुनै राजनीतिक दलप्रतिको झुकावमा । जसलाई जोड दिएर २०६७ मा उनले आफ्नो अध्यक्षतामा नागरिक समाज कास्की स्थापना गरे । जसको मुख्य नियम थियो– कुनै राजनीतिक दलको सदस्यता नहुने, नलिने।’

‘सबैको विचार हुन्छ । मैले पनि मत हाल्छु । त्यो मेरो अधिकार हो । नराम्रामध्ये राम्रा छान्ने । तर,मानवअधिकारका विषयमा आवाज उठाउने संस्था कुनै राजनीतिक संघ संगठनसँग नजिक हुनु हुँदैन । पार्टीसँग आबद्ध भएका संस्थाले मानवअधिकारको विषयमा आवाज उठाउँदैनन्’, पौडेलले भने  । 

यही विचारले पनि हो उनले स्वतन्त्र रूपमा नागरिक समाज स्थापना गरेको । जनआन्दोलनको समयमा उनी फिल्डमा खटिरहेका थिए । घाइतेलाई उपचारका लागि लैजाने, सहयोग गर्ने गर्थे । यही क्रममा फोटो पत्रकारले उनको तस्वीर कैद गरे । जसकारण उनी अन्यको नजरमा आइपुगे । त्यसपछि उनी जनअधिकार संस्थाको सचिवमा पदोन्नति भएका थिए । उनको निःस्वार्थ भाव देखेर विभिन्न गैरसरकारी संस्थाले पनि उनीसँग काम गर्न चाहन्थे । तर, उनी विशुद्ध प्रश्न उठाउने हुटहुटीमा थिए ।

null

उनको विचार छ- ‘एनजीओ नागरिक समाज हुन सक्दैन । गलतलाई गलत हो भन्न सक्नुपर्छ ।  मेरै परिवार वा नातागोताले गरेको गलत कुरालाई गलत हो भन्न सक्दिनँ तबसम्म म नागरिक समाजको अगुवा हुन सक्दिनँ ।’

२ असोज २०६७ मा नागरिक समाज स्थापना गरेपछि पहिलो विषय थियो- चाडपर्वमा जथाभावी पटका नपड्काउने । त्यसपछि नागरिक समाजले विस्तारै सार्वजनिक चासोको विषयमा प्रश्न उठाउन थाल्यो । 

यो संस्थाले फिर्के खोला र फेवाताल अतिक्रमणको मुद्दालाई बलियोगरि उठायो । फिर्के अतिक्रमण र प्रदूषणका विषयमा आवाज उठाएर, महानगरलाई झक्झकाएको नागरिक समाजको समूहकै कारण फिर्के संरक्षणको कदम थालियो । प्रकृति बचाउन हिँडेका उनै राममाथि ज्यान मार्ने धम्की समेत आयो ।

शालिन मुद्रा । सधैँ एकै मुद्दामा देखिन्छन् उनी । यो शालिन अनुहारमा विद्रोह छ । जसले नडगमगाइ खबरदारी गरिरहेको छ । यो शालिनता पछाडी पनि विद्रोह कसरी शुरू भयो त ? २०१८ सालमा माइलो सन्तानको रूपमा पोखरा ७ शान्तिचोकमा जन्मिएका हुन् राम । १५ वर्षको उमेरमा बाबाको साथ गुमाएका उनले पछि दिदी र बहिनी पनि गुमाए । बहिनीले उनकै काखमा जीवन त्यागिन् । कलिलो उमेरमै उनले लगातार वियोग सहे । आमाको एक्लो सन्तानको जिम्मेवारी सम्हाले ।

तालबाराही स्कूल हुँदै बाराही विद्यालयबाट आईए पास गरेका उनी सानैदेखि संघसंस्थामा थिए । आठ कक्षा पढ्दापढ्दै उनी स्काउटमा थिए । १० कक्षामा हुँदा राष्ट्रिय सेवा दलमा थिए । यसले पनि सामाजिक भाव उनको मनमा भरेको थियो । आईए पढेपछि उनी २०४९ सालमा यूएन भोलिन्टियरको रूपमा बंगलादेश पुगे । 

दुई वर्ष बंगलादेशमा भोलिन्टियरको रूपमा काम गरेर २०५१ सालमा नेपाल फर्किए । त्यसपछि उनको यात्रा जर्मनीको लागि तय भयो । यसपटक भने रोजगारीको सिलसिलामा उनी जर्मनी गए । घरको एक्लो छोरा जिम्मेवारी पनि त बहन गर्नु थियो । जर्मनीको १० वर्षे अवधि उनका लागि नयाँ अनुभव भयो ।

‘दश वर्ष बसे रोजगारीको लागि । उहाँ गएर फ्लोरी कल्चर गरेँ । पार्ट टाइम काम गर्दै भाषा पढेँ । भाषा जानेकालाई प्राथमिकता दिने रहेछ । त्यस्तो गर्दा गर्दै फ्लोरी कल्चरमा तालिम लिएँ । गार्डेनमा काम गरेँ,’ उनले सम्झिए ।

ती भोगाइ सिकाइ बने । जसले उनलाई वातावरणसँग नजिक हुन सिकायो । पछि, त्यही अनुभव र सामिप्यताले उनलाई वातावरणप्रति चासो राख्न सिकायो । २०६१ सालमा नेपाल फर्किएपछि उनी खाली बस्ने मनाशायमा थिएनन् । केही गर्ने हुटहुटी जिउँदै थियो उनको मनमा ।

फेवाताल र फिर्के खोला सरसफाइ उनको समूहले पहिल्यैदेखि गर्थ्यो । पछि, अतिक्रमण र मापदण्डको विषयमा पनि प्रश्न उठाउन थाले । यही खबरदारीका कारण उनलाई धम्की पनि आउँछ ।

‘यो फेवाताल अति नै प्यारो ठाउँ हो ।  डरधम्की पक्कै पनि आउँछ, कहिले घुमाइ फिराइ । तर, मेरो कर्तव्य निभाउने हो,’ उनले सुनाए ।

उनलाई डरधम्की पनि समुदायकै मान्छेबाट आउँछ । फिर्के खोला संरक्षणको विषय जोडतोडले उठ्न थालेपछि महानगरले पनि संरक्षणमा अग्रसरता देखायो । मापदण्ड बनाउनेदेखि फिर्केखोला मिचेर बनेका संरचनाको अध्ययन भयो । यहीबीच एकजना पार्टीका कार्यकर्ताले उनलाई घर अगाडि आएर धम्काए ।

‘फिर्के खोलाको सन्दर्भमा एकजना पार्टीको कार्यकर्ताले घर अगाडि आएर दाइ नमस्कार भन्दै फोन गर्‍यो । दाइसँग सल्लाह गर्नु थियो भनेर बाहिर बोलायो । बाहिर आएपछि तँलाई म मार्छु र गाड्छु भन्यो एकैचोटी । तैँले फिर्के खोलाको विषय उठाउने ? मापदण्डको विषय उठाउने ? भन्यो’, उनले सुनाए ।

उनले वडामा निवेदन दिए । वडाले मिलापत्रमा अग्रसरता देखाएकाले उनले सो विषयलाई अगाडि सारेनन् । यस्तै धाकधम्की उनलाई फेवातालको विषयमा पनि आउँछ । खपौदी क्षेत्रमा संरचनामा बन्न थालेको धेरै भएको छैन । फेवाताल संरक्षणको विषय उठ्दाउठ्दै महानगरको आँखा अगाडि व्यक्तिले अटेर गर्दै संरचना बनाएका छन् । 

null

खपौदी ताल छेउमै व्यक्तिले आफ्नो जग्गा दाबी गर्दै संरचना बनाएपछि रोक्न पौडेलको टोली पुगे । महानगर पुग्यो । अघिल्लो कार्यकालमा महानगरले संरचना भत्काउन डोजर नै लिएर गयो । स्थानीयका अगाडि लाचार महानगरले यत्तिकै फर्कियो । अहिले सो स्थानमा संरचना बनेको छ । व्यक्तिको जग्गा रहेको उल्लेख गर्दै प्रवेश निषेधको सूचना टाँगिएको छ । पौडेलले यस विषयमा बोल्दाबोल्दै पनि महानगरले संरचना निर्माण रोक्न सकेन । त्यहीका समूहले उनलाई मोसो दल्ने धम्की समेत दिए ।

‘फेवातालको विषयमा एउटा अराजक समूह छ । खपौदीमा बनेको संरचना हटाउनुपर्छ भनेर महानगर ल्याइयो । यिनीहरूले मलाई आएर कालोमोसो दल्ने भने । मार्छु पनि भने,’ पौडेल भन्छन् । 

यी धम्कीसँग उनी डराउँदैनन् । उनको प्रश्नका कारण संरक्षण चेतना सार्वजनिक चासोको विषय बने उनी त्यसैमा आत्मसन्तुष्टि राख्छन् ।

‘मेरा पनि पीडा छन् । तर, मैले दौडधूप गरेर, खबरदारी गरेर अतिक्रमणकारीलाई मुटुमा ढ्याकढ्यका बनाउन तयार छु । तर, कसैलाई अपमान गर्दिनँ । जसले सार्वजनिक सम्पत्तिमाथि धावा बोल्छ, फेवाताल अतिक्रमण गर्छ, फिर्के खोलालाई असर गर्ने काम गर्छ, नागरिक अधिकार खोसिन्छ तब हामीले आवाज बुलन्द गर्नुपर्छ भन्ने मान्यता हो,’ उनले सुनाए ।

उनीजस्तै अडिग रहेर निःस्वार्थ रूपमा लागिपर्ने कमै छन् । उनले उठाएका विषयमा सार्वजनिक स्थानबाट साथ दिने पनि उत्तिकै कम छन् । उनको आड बनेका छन् ग्राउन्ड जिरोमा रहेका टोलवासी र आमा समूह । उनीहरूले नै उनको काममा साथ दिन्छन् । उनको निरन्तरता र काम देखेर कहिलेकसो चिन्ता जताउँछन् परिवारले उनीप्रति । तर,उनमा हिँडिरहने हुटहुटी छ ।

उनी भन्छन्, ‘मेरो छोराहरूले पनि उताबाट आफ्नो आमालाई बालाई यसरी नहिँड्न भन्नु न भन्दा रहेछन् । बालाई दुर्घटना हुन्छ भन्ने चिन्ताले होला । मेरो हुटहुटी हो यो । मेरो देशलाई मैले केही गर्नुपर्छ । कतिन्जेलसम्म सक्छु एउटा बलेको बत्ती जस्तो भएर म हिँडिरहन्छु ।’

salt training

कमेन्ट गर्नुहोस्