
लेखक होम परिबागद्वारा लिखित पुस्तक ‘नेपालमा को के ठीक छैन ?’ सार्वजनिक भएको छ । सोसाइटी बुक्स, नेपालले उक्त गैरआख्यान सार्वजनिक गरेको हो ।
नेपाललाई आधा भरिएको गिलासका रूपमा विज्ञहरूले व्याख्या गर्ने गरेकोमा त्यही अवधारणामा यो पुस्तक लेखिएको हो । पुस्तकको मूल उद्देश्य गिलास भरी बनाइ हेर्नुपर्ने अवधारणाबाट प्रेरित छ, यसको माध्यमबाट नेपालमा नयाँ सकारात्मक सोच विचारको चिन्तन शुरू हुनसक्छ भन्ने विश्वास लेखकको रहेको छ ।
नेपाल र नेपालीले के कस्ता समस्यामा बल्झिन, अल्झिन र गुज्रन परेको छ, तिनका मानव सृजित कारण के हुन् ? विगतमा नसोचिएका सामान्य विषयवस्तुलाई लामो समय लगाएर लेखकले सरल तरिकाले यस पुस्तकभित्र उठान गर्ने प्रयास गरेका बताइएको छ ।
पुस्तकमा लेखकले नेपालको राजनीति, राजनीतिज्ञ, राजनीतिक परिवेश, जटिलता, शक्ति सन्तुलन र समस्या, कर्मचारीतन्त्र, पत्रकार र पत्रकारिता, व्यापार र व्यापारी, बैंक तथा वित्तीय संस्था, गाउँ र शहर, गीतसंगीत, कलाकार, नेपाली सेना र प्रहरी, नेपाली कानूनी मामला र वकिललगायतका विषय समेटेका छन् ।
यसैगरी, बस र ट्याक्सी चालक, यात्रा र यात्रु, ठेकेदारी, शिक्षा क्षेत्र, विदेशमा रहेका नेपाली, धनी र गरिबलगायतको पनि विवेचना गरेका छन् । सबै क्षेत्रको विवेचनापश्चात् लेखकले यी दुर्दशा किन शुरू भए र अबको बाटो के भन्ने सन्देश पनि पुस्तकमार्फत् दिन खोजेका छन् ।
गोरखा र धादिङको सिमानामा पर्ने आरुघाटमा जन्मिएका परिबाग हाल बेलायतमा बस्छन् । पत्रकारिताबाट करियर शुरू गरेका परिबागका यसअघि याद हराएको मान्छे (उपन्यास, २०५०) र स्वर सम्राट नारायणगोपालबारे लेखिएको पहिलो पुस्तक ‘यात्राहरू नारायणगोपालका’ प्रकाशित छन् ।
यस्तै, उनले रुमीका कविता र खालिल जिब्रानको पैगम्बरलाई पनि नेपालीमा अनुवाद गरेका छन् ।