२७ जेठ २०८३, बुधबार
स्वास्थ्य संस्थामा बेथिति

बीपी प्रतिष्ठानका प्रा. रेग्मीको गैरकानूनी काम– उता बिदा लिएर सिभिलमा कार्यकारी निर्देशक

बिरामीदेखि सञ्चितसम्मका बिदा लिएका रेग्मी २ वर्षपछि पनि फर्किएनन्, कारबाही गर्ने तयारी
साउन १५, २०८२
काठमाडौं
बीपी प्रतिष्ठानका प्रा. रेग्मीको गैरकानूनी काम– उता बिदा लिएर सिभिलमा कार्यकारी निर्देशक

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका स्थायी प्राध्यापक डा. मोहनचन्द्र रेग्मी प्रतिष्ठानको नियमविपरीत निजामती कर्मचारी अस्पताल (सिभिल सर्भिस हस्पिटल)को कार्यकारी निर्देशक बनेको खुलेको छ ।

प्रतिष्ठानबाट बिरामी बिदा, घर बिदा, पर्व बिदा तथा बेतलबी बिदा लिएर सिभिल अस्पतालमा २ वर्षदेखि काम गर्दै आएका डा. रेग्मी प्रतिष्ठानको नियमविपरीत कार्यकारी निर्देशक बनेका हुन् ।

रेग्मी विगत ४ महिनादेखि सिभिल अस्पतालका कार्यकारी निर्देशक हुन् । ४ वर्षको करार सेवामा उनी कार्यकारी निर्देशक बनेका हुन् । तर, उनी स्थायी जागिरे भने बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका हुन् । रेग्मी धरानस्थित उक्त प्रतिष्ठानको अब्सटेट्रिक्स एन्ड गाइनेकोलोजी विभागमा प्रोफेसर पदमा कार्यरत थिए ।

परिवार काठमाडौंमै रहेको तथा यहाँ अन्य अस्पतालमा समेत काम गर्दा थप आर्थिक आम्दानी हुने भनेर उनले काठमाडौंमै काम गर्न खोजेका थिए ।

सिभिल अस्पताल स्रोतका अनुसार २०८० सालमा रेग्मीले अस्पतालका तत्कालीन कार्यकारी निर्देशक डा. विधाननिधि पौडेललाई आफूले यसै अस्पतालमा काम गर्न खोजेको प्रस्ताव राखेका थिए ।

‘मेरो परिवार यहीँ काठमाडौंमा छ र म त्यहाँ धरानमा बस्दा अप्ठ्यारो भयो । स्वास्थ्य मन्त्रालयबाट काजमा माग गरिदिनुभयो भने मलाई यहाँ आउन सहज हुन्छ भनेर रेग्मीले प्रस्ताव गर्नुभयो,’ सिभिल अस्पताल स्रोतले लोकान्तरसँग भन्यो, ‘उहाँ राम्रै चिकित्सक भएकाले उहाँलाई काजमा ल्याइदिनुपर्‍यो भनेर पौडेलले पनि उक्त प्रस्ताव बोर्डमा लग्नुभएको थियो ।’

२०८० वैशाख ६ गते निजामती कर्मचारी अस्पताल विकास समितिको बैठकको प्रस्ताव नम्बर ३ मा रेग्मीलाई काजमा बोलाउने विषय समावेश थियो ।

‘यस अस्पतालको स्त्री तथा प्रसुती रोग विभागबाट माग भएबमोजिम बीपीकेआईएचएस धरानमा कार्यरत प्रा. डा. मोहनचन्द्र रेग्मी (स्त्री तथा प्रसुती रोग विशेषज्ञ)लाई निजामती कर्मचारी अस्पतालको स्त्री तथा प्रसुती रोग विभागमा अर्को व्यवस्था नभएसम्मका लागि काज अवधिमा नियमानुसारको सेवा सुविधा निजामती कर्मचारी अस्पतालबाटै उपलब्ध गराउने गरी काजमा खटाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग अनुरोध गर्ने,’ उक्त प्रस्तावमा गरिएको निर्णयमा उल्लेख छ ।

सिभिल अस्पतालको अध्यक्ष मुख्यसचिव हुने प्रावधान छ । त्यतिबेला मुख्यसचिव शंकर दास वैरागीको अध्यक्षतामा बसेको बोर्ड बैठकले उक्त निर्णय गरेको थियो । बोर्डमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, अर्थ मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिव सदस्य हुन्छ ।

२०८० वैशाख १३ गते सिभिल अस्पतालका तत्कालीन कार्यकारी निर्देशक पौडेलले बोर्ड बैठकको निर्णयबमोजिम स्वास्थ्य मन्त्रालयलाई पत्र लेखेर रेग्मीलाई काजमा तान्न माग गरे ।

मोहनबहादुर बस्नेत त्यतिबेला स्वास्थ्य मन्त्री थिए । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहकुलपति पनि स्वास्थ्य तथा जनसंख्या मन्त्री नै हुन्छन् । डा. रोशन पोखरेल त्यतिबेला स्वास्थ्य सचिव थिए । त्यसपछि स्वास्थ्य मन्त्रालयले प्रतिष्ठानलाई २०८० वैशाख १५  गते पत्र पठाएर रेग्मीलाई काजमा पठाइदिन भन्यो ।

null

२०८० वैशाख १७ गते प्रतिष्ठानले स्वास्थ्य मन्त्रालयलाई प्रतिष्ठानको नियमावली २०५५ बमोजिम प्रतिष्ठानका कर्मचारीलाई काजमा पठाउन नमिल्ने जवाफ दिएको थियो ।

रेग्मीले सिभिलमा काम गर्नका लागि प्रतिष्ठानमा २०८० वैशाख २७ गते २ वर्षका लागि स्वअध्ययन बिदाको आवेदन दिएका थिए । २०८० जेठ १६ गतेदेखि लागू हुने बिदा माग गरिएको उनको निवेदनमा तत्काल कुनै निर्णय भएन ।

त्यसपछि पुनः उनले २०८० जेठ १० गते प्रतिष्ठानको नियमानुसार जुनै किसिमको बिदा आफूलाई स्वीकार्य हुने जानकारी गराएका थिए ।

त्यसपछि २०८० जेठ १० गते प्रतिष्ठानको कार्यकारिणी समितिको निर्णयबाट उनलाई स्वअध्ययन बिदा दिन नमिल्ने भएपछि २०८० जेठ १५ गतेदेखि लागू हुने गरी २ वर्षका लागि  सञ्चित घर बिदा, बिरामी बिदा र बेतलबी बिदा मिलाइएको थियो ।

null

‘प्रतिष्ठानको नियमानुसार उक्त प्रयोजनका लागि स्वअध्ययन बिदा दिन नमिल्ने भएको हुँदा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान नियमावली, २०५५ को नियम १०.१८ बमोजिम निजको मिति २०८० जेठ १५ सम्म सञ्चित घर बिदा र बिरामी बिदा गरी जम्मा ३३३ दिन र बाँकी अवधि ३९७ दिनलाई बेतलबी बिदा स्वीकृत  गर्ने निर्णय गरियो, ’ प्रतिष्ठानको कार्यकारी समितिले २०८० जेठ १० गते गरेको निर्णयमा उल्लेख छ ।

null

काज नमिलेपछि बिदा स्वीकृत गराएका रेग्मी यता सिभिल अस्पतालमा स्त्री तथा प्रसुती रोग विभागमा चिकित्सकको रूपमा काम गर्न थाले । त्यतिबेला उनको मासिक तलब ७० हजार रूपैयाँ तथा तलबको ७५ प्रतिशत मासिक भत्ता समेत दिने गरी सिभिल अस्पतालले उनलाई करार सेवामा नियुक्त गरेको थियो ।

तर, अहिले कार्यकारी निर्देशकको रूपमा मासिक २ लाख रूपैयाँ तलब, भत्ता, गाडीको सुविधा, ३७/३८ करोड रूपैयाँको बजेट सञ्चालन गर्न पाउनेदेखि अस्पतालको कार्यालय प्रमुख समेत हुन पाउने भएकाले उनले प्रतिष्ठानको प्राध्यापकको जागिरभन्दा सिभिलको कार्यकारी निर्देशक रोजेको देखिन्छ ।

त्यसका लागि उनले पहिले प्रतिष्ठानबाट राजीनामा दिनुपर्थ्यो । तर, उनले राजीनामा पनि नदिने र दुवैतर्फको जागिर कायम राख्ने बदनियतका साथ काम गरिरहेको पाइएको हो ।

उता प्रतिष्ठानमा बिदा स्वीकृत गराएका रेग्मी यता सिभिलमा चिकित्सकको रूपमा काम गर्दै आएका थिए । २०८२ फागुन २५ गते सिभिल अस्पतालका तत्कालीन कार्यकारी निर्देशक पौडेलको ४ वर्षे करार पदावधि समाप्त भएपछि पदपूर्ति समितिले रिक्त रहेको कार्यकारी निर्देशकका लागि निकालेको विज्ञापनमा रेग्मीले समेत आवेदन दिए ।

झन्डै १५ जना जति उम्मेदवारले आवेदन दिएकोमा डा. प्रमोद यादव, डा. रुद्र मरासिनी र डा. मोहनचन्द्र रेग्मी गरी तीन जनाको नाम सिफारिश भयो । ती तीन जनामध्ये रेग्मी ४ वर्षका लागि कार्यकारी निर्देशकमा नियुक्त भए ।

बीपीमा स्थायी प्राध्यापक रहेका रेग्मी विगत २ वर्षदेखि करारमा चिकित्सकको रूपमा तथा पछिल्लो ४ महिना देखि करारमा कार्यकारी निर्देशकको रूपमा कार्यरत छन् ।

सिभिलमा कार्यकारी निर्देशक पदका लागि उम्मेदवार हुन रेग्मीले प्रतिष्ठानबाट विभागीय स्वीकृति लिनुपर्नेमा त्यो पनि नलिएको प्रतिष्ठान स्रोतको दाबी छ ।

‘उहाँले सिभिलमा कार्यकारी निर्देशक पदका लागि उम्मेदवार हुन प्रतिष्ठानबाट विभागीय स्वीकृति लिएको भन्ने कुरा विभागको अभिलेखबाट देखिँदैन,’ प्रतिष्ठान स्रोतले लोकान्तरसँग भन्यो, ‘अभिलेख हेर्दा उहाँले माग गरेबमोजिम अनुभवको प्रमाणपत्र भने दिएको देखिन्छ । अनुभवको प्रमाणपत्रलाई नै उहाँले प्रतिष्ठानले विभागीय स्वीकृति प्रदान गरेको भनेर छल्नुभएको छ ।’

यता २ वर्षको बिदा लिएका रेग्मीको बिदाको अवधि सकिएपछि उनी २०८२ जेठ १५ गते प्रतिष्ठानमा हाजिर हुनुपर्नेमा हाजिर भएनन् । त्यसपछि प्रतिष्ठानले उनलाई हाजिर हुन पटक–पटक पत्र लेख्यो । तर, पनि उनी त्यहाँ हाजिर नभएपछि अहिले सेवाबाट बर्खास्त गर्नेगरी कारबाही प्रक्रिया अघि बढेको छ ।

प्रतिष्ठानका रजिस्ट्रार प्रा.डा. सूर्यप्रसाद संग्रौलाले रेग्मीलाई २०८० जेठ १४ गते हाजिर हुन इमेलमार्फत पत्राचार गरेका थिए । रेग्मी हाजिर हुन नआएपछि रजिस्ट्रार संग्रौलाले पुनः २०८२ जेठ २० गते हाजिर हुन आउनेबारे पत्र पनि लेखे ।

null

‘तपाईंको बिदाको अवधि २०८२ जेठ १४ मा पूरा भएकाले प्रतिष्ठानको नियमानुसार २०८२ जेठ १५ गतेदेखि हाजिर हुन निर्णयानुसार जानकारी गराई सो पत्र तपाईंको इमेल ठेगानामा पठाइएकोमा तपाईं प्रतिष्ठानको कार्यालयमा हालसम्म हाजिर हुन नआउनुभएकाले हाजिर हुन पुनः जानकारी गराइन्छ । प्रतिष्ठानमा हाजिर हुन नसक्ने अवस्था भएमा स्पष्ट कारणसहित जानकारी उपलब्ध गराइदिनहुन अनुरोध गरिन्छ । अन्यथा प्रतिष्ठानको नियमानुसार प्रक्रिया अगाडि बढाइने व्यहोरा समेत अवगत गराइन्छ,’ जेठ २० गते रजिस्ट्रार संग्रौलाले रेग्मीलाई लेखेको पत्रमा उल्लेख छ ।

null

त्यसपछि पनि रेग्मी प्रतिष्ठानमा हाजिर हुन नगएपछि २०८२ असार २३ गते प्रतिष्ठानले रेग्मीलाई सेवाबाट बर्खास्त गर्ने गरी कारबाही प्रक्रिया अघि बढाएको छ ।

null

प्रतिष्ठानका रजिस्ट्रार संग्रौलाले उनलाई सेवाबाट बर्खास्त गर्नका लागि निमित्त उपकुलपति एवं शिक्षाध्यक्षकोमा टिप्पणी उठाएर फाइल पेश गरेका छन् ।

‘उपरोक्त बमोजिमको पत्राचारपश्चात हालसम्म पनि प्रा. डा. मोहनचन्द्र रेग्मीज्यू प्रतिष्ठानमा हाजिर हुनका निम्ति सम्पर्कमा नआउनुभएको र कुनै जानकारी समेत नगराउनुभएको हुनाले उहाँसँग गरिएको पत्राचार यसै साथ संलग्न राखी प्रतिष्ठानको नियमावली, २०५५ को नियम १०.७ अन्तर्गत सेवाबाट स्वतः खारेज गर्ने कारवाही प्रक्रिया अगाडि बढाउन पेश गरिएको व्यहोरा अनुरोध छ,’ संग्रौलाले निमित्त उपकुलपति तथा शिक्षाध्यक्ष प्रा. डा. सञ्जीवकुमार शर्मासमक्ष पेश गरेको टिप्पणीमा उल्लेख छ ।

यी सबै विषयमा प्रतिक्रिया लिन खोज्दा रेग्मीले यो प्रतिष्ठानको आन्तरिक विषय भएको बताए । ‘मैले प्रतिष्ठानमा कहिले–कहिले कुन बिदा लिएँ भन्ने मेरो व्यक्तिगत विषय हो । त्यो तपाईंलाई किन भन्नुपर्‍यो ?,’ प्रतिप्रश्न गर्दै रेग्मीले लोकान्तरसँग भने, ‘प्रतिष्ठानले गरेको आन्तरिक परिपत्र तपाईंले समाचार बनाउने विषय नै होइन ।’

सबै विषय स्पष्ट खोलेर भनेपछि मात्र उनले थप प्रतिक्रिया दिए ।

‘म मात्र होइन, प्रतिष्ठानका अन्य थुप्रै प्राध्यापक, डाक्टरहरू बिदा लिएर अन्यत्र काम गर्ने गर्छन्,’ उनले थपे, ‘मैले नियमानुसार प्रतिष्ठानबाट सहमति लिएर नै सिभिल अस्पतालमा काम गरिरहेको छु ।’

उनले आफूले ४ वर्षका लागि बिदाको निवेदन दिएको बताए ।

‘मैले थप ४ वर्षको बिदा स्वीकृतिका लागि आवेदन दिएको छु । अहिले उपकुलपति नियुक्त नभएकाले मेरो बिदा स्वीकृत हुन सकेको छैन ।’ 

यता प्रतिष्ठानका रजिस्ट्रार प्रा. डा. सूर्यप्रसाद संग्रौला भने कार्यकारी निर्देशकका लागि प्रतिष्ठानबाट कुनै पनि सहमति प्रदान नगरेको बताउँछन् ।

‘प्रतिष्ठानले उहाँलाई कुनै किसिमको सहमति वा नो अब्जेक्सन लेटर प्रदान गरेको छैन,’ संग्रौलाले लोकान्तरसँग भने, ‘त्यतिबेला पनि स्वास्थ्य मन्त्रालयले काजमा मिलाइदिन भनेपछि नियमवालीअनुसार नमिल्ने भएकैले उहाँको बिरामी बिदा, पर्व बिदा, घर बिदासहित सबै बिदा कटाएर बेतलबी बिदा कार्यकारिणी समितिबाट स्वीकृत गरिदिएको हो ।’

तर, त्यसपछि बिदा सकिए पनि प्रतिष्ठानमा हाजिर हुन नआएपछि कारबाहीको प्रक्रिया अघि बढाइएको उनले खुलाए ।

‘उहाँले सिभिल अस्पतालमा कार्यकारी निर्देशकको रूपमा अप्लाई गर्नु नै गैरकानूनी काम हो,’ संग्रौलाले थपे, ‘यहाँ उहाँ प्रतिष्ठानको स्थायी प्राध्यापक हुँदा उहाँमाथि प्रतिष्ठानको थुप्रै लगानी भएको छ । हामीले त असुलउपर गर्नुपर्छ भनेर कारबाहीको प्रक्रिया अगाडि बढाएका हौं ।’

प्रतिष्ठानमा प्राध्यापक हुँदा १ लाख ३४ हजारभन्दा बढी तलब, सोहीबमोजिम शतप्रतिशत भत्ता, आवास सुविधासहित मासिक झन्डै ३ लाख रूपैयाँ जति दिने गरिएको उनले बताए ।

‘यहाँ उहाँले २ वर्षदेखि न आवास फिर्ता गर्नुभएको छ, न त अन्य फिर्ता गर्नुपर्ने चिज नै फिर्ता गर्नुभएको छ,’ उनले थपे, ‘अहिले थप ४ वर्षको बिदाका लागि अप्लाइ गरेको मलाई थाहा छैन । यदि उहाँले थप बिदाका लागि  निमित्त उपकुलपतिकोमा पठाएको भए पनि मकहाँ आउने नै हो ।’

प्रतिष्ठानको नियमावलीबमोजिम रेग्मीको थप बिदा स्वीकृत गर्न कुनै पनि हिसाबले नमिल्ने उनले बताए । ‘रेग्मीसँग ३ लाख रूपैयाँ जति असुल गर्नेगरी सेवाबाट बर्खास्त गर्न मैले फाइल पठाएको छु,’ उनले थपे, ‘उहाँको बिदा सकिएपछि प्रतिष्ठानमा हाजिर हुन आउनुको साटो शक्ति केन्द्र धाइरहनु भएको छ ।’

रेग्मी मात्र नभएर प्रतिष्ठानका अन्य १५ जना जति शिक्षकहरू बिदा लिएर पनि प्रतिष्ठानमा हाजिर हुन नआएपछि आफूले सबैलाई फिर्ता हुन पत्र काटेको उनले बताए ।

‘त्यसमध्ये फिर्ता नआउने रेग्मी जस्तै ६ जनालाई कारबाहीको प्रक्रिया अघि बढाएको छु,’ संग्रौलाले थपे, ‘प्रतिष्ठानमा बिदा स्वीकृत गराएर नियमविपरीत अन्य स्थानमा काम गर्ने अराजक प्रवृत्ति अन्त्य गर्नकै लागि त्यसरी एक्सन लिएको हो ।’

salt training

कमेन्ट गर्नुहोस्