
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ दुई दलका शीर्ष नेताहरूको बैठकमा मन्त्री हेरफेरको विषयमा कुनै छलफल भएन ।
बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासहितका शीर्ष नेतासँग गरेको छलफल मन्त्री फेरबदलको विषयमा केन्द्रित नभएको हो ।
छलफलमा सहभागी भएका कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले सरकारलाई अझै प्रभावकारी बनाउने विषयमा मात्रै छलफल भएको जानकारी दिए ।
‘मिडियामा चर्चा भएजस्तो सरकारका मन्त्री फेरबदलको विषयमा प्रवेश, चर्चा र छलफल केही भएन । सदनमा रोकिएका विधेयकलाई छिटो अगाडि बढाउने, कानूनी र नीतिगत विषयमा अझै कसरी काम गर्न सकिन्छ भनेर छलफल भएको छ,’ खड्काले लोकान्तरसँग भने, ‘भर्खरै बजेट आएको छ । सरकारलाई अझै प्रभावकारी बनाउन फास्ट ट्रयाकमा कसरी काम गर्न सकिन्छ भनेर दुई दलीय शीर्ष नेताबीच छलफल भएको हो । महान्यायाधिवक्ता पनि सहभागी हुनुभएको बैठकमा कानूनी प्रक्रिया र विधेयकलाई कसरी छिटो अगाडि बढाउने भन्नेमा केन्द्रित भयौं ।’
सरकारका कामलाई अगाडि बढाउन मन्त्रीसँग छलफल गर्ने, नागरिकले बोध गर्ने गरी सेवा प्रवाहका विषयमा काम गर्ने विषयमा पनि बैठक केन्द्रित रहेको खड्काले बताए ।
त्यस्तै, बागमती प्रदेशमा देखिएको कांग्रेसभित्रको तनाबबारे पनि बालुवाटारमा छलफल भएको छ । बैठकमा कांग्रेसका नेताहरूले आन्तरिक विषय भएकोले आफूहरूले समाधान गर्ने बताएको खड्काले जानकारी दिए ।
‘बैठकमा बागमतीबारे समीक्षा भयो । यो कांग्रेसको आन्तरिक विषय हो, हामी मिलाउँछौं भनेका छौं,’ खड्काले भने, ‘एमालेले सहयोग पनि गरेको छ । फेरि पनि हामीलाई सहयोग गर्छ ।’
गृहमन्त्री रमेश लेखकले पनि एमालेको सहयोगमा बागमतीको समस्या समाधान गरिने बताए ।
‘यो हाम्रो आन्तरिक विषय हो । हामी नै मिलाउँछौं भनेका छौं,’ गृहमन्त्री लेखकले लोकान्तरसँग भने, ‘एमालेलाई तपाईंहरूले सहयोग गर्नुपर्छ भनेका छौं ।’
बागमतीमा कांग्रेसबाट मुख्यमन्त्री भएका बहादुर सिंह लामा संसदीय दलको नेतामा पराजित भएका छन् । तर, मुख्यमन्त्रीबाट राजीनामा नदिने अडानमा बसिरहेका छन् । यसैले दलको नेतामा इन्द्र बानियाँ निर्वाचित भएपछिको परिस्थितिबारे कांग्रेस र एमालेबीच छलफल भएको हो ।
बालुवाटार स्रोतले पनि सरकारका कामलाई प्रभावकारी बनाउने कानूनी सुधारसहितका विषयमा बैठक केन्द्रित भएको जानकारी दियो ।
‘संक्रमणकालीन न्याय, कानून सुधार, संशोधन, भूमि विधेयकसहितका विषयमा दुई दलीय नेताले महान्यायाधिवक्तासँग छलफल गर्नुभएको हो,’ बालुवाटार स्रोतले भन्यो, ‘समसामयिक राजनीति, मन्त्री हेरफेरको विषयमा आजको बैठक केन्द्रित भएन ।’
दलहरूबीच सहमति मिल्ने अवस्थामा मन्त्री हेरफेरको विषयमा दुई दलका शीर्ष नेताबीच फेरि संवाद हुन सक्ने जानकारी बालुवाटार स्रोतले दियो ।
प्रधानमन्त्री ओलीसहित छलफलमा एमालेबाट उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल सहभागी थिए ।
कांग्रेसबाट सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का र गृहमन्त्री रमेश लेखक सहभागी थिए । त्यस्तै, महान्यायाधिवक्ता रमेश बडाल पनि बैठकमा सहभागी थिए ।