
नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले पार्टी विभाजनको औचित्य पुष्टि हुन नसकेको भन्दै दिएको अभिव्यक्तिले पछिल्लो साता तनावको स्थिति ल्यायो ।
खनालको आरोपले अध्यक्ष माधवकुमार नेपाल आक्रोशित हुन पुगे । नेपाल र खनालबीचको आरोप–प्रत्यारोपले उत्कर्षमा पुगेको विवाद अझै पूर्णरूपमा साम्य भइसकेको छैन ।
साउन १५ गते नेता खनालले एक अन्तर्वार्तामा एमालेबाट विभाजित हुनु नै गलत भएको टिप्पणी गरिदिए । ‘जतिबेला एमालेमा विद्रोह गरियो र पार्टी विभाजन भयो, त्यो गलत रहेछ भन्ने ठाउँमा म पुग्दैछु,’ खनालले भनेका थिए, ‘त्यो विद्रोहको औचित्य अहिलेसम्म पुष्टि नै भएन । पुष्टि नहुनुको अर्थ (पार्टी विभाजन) गलत भयो भन्ने अनुभूति मलाई भएको छ ।’
जिम्मेवार नेताले यत्तिको संगीन आरोप लगाएपछि नेपाल पनि के कम, झलनाथलाई पार्टी नै छाडेर जान चुनौती दिए । ‘उहाँले यस्तो भनेको हो भने पार्टीबाट बिदा हुनुपर्छ । यो पार्टीमा बस्ने अधिकार उहाँलाई छैन । उहाँले खुरुक्क राजीनामा दिनुपर्छ । निर्णयको घोर उल्लंघनमा एक नम्बर नेता भएकाले उहाँ बिदा हुनुपर्छ ।’
अध्यक्षबाटै ‘पार्टी छाडेर जा’ भन्ने धम्की आएपछि खनाल थप आक्रोशित हुन पुगे । अध्यक्ष नेपालसँग परेको टसलबारे उनले पत्रकार सम्मेलनमा लामै समय बोले ।
साउन १७ गते विराटनगरमा पत्रकार सम्मेलन गर्दै खनालले आफूले पार्टी छाड्ने होइन, नेपालले पार्टीको नेतृत्व छाड्नुपर्ने बताए । ‘झलनाथ खनालले पार्टी छाड्ने भनेको कल्पना नगरेको कुरा हो,’ खनालले पत्रकार सम्मेलनमा भनेका थिए, ‘पार्टी सञ्चालन गर्न नसकेको भए वा कसैलाई यो पार्टी नचाहिएको भए आफैं छाडेर गए हुन्छ ।’

खनालले महाधिवेशनको एक वर्ष बित्दा पनि समाजवादी कार्यक्रम नआएको, पार्टीका कार्यदिशा, नीति र सिद्धान्त प्रस्ट नभएको तथा पुनर्गठन पनि नभएको आरोप लगाए ।
आफूले व्यक्तिगतभन्दा नीतिगत विषय उठाए पनि सबैलाई मिलाउनुपर्ने नेतृत्व आफैं हतास बनेको उनको आरोप छ । सरकारमा सहभागिता तथा एमसीसीसहितका विषयमा नेतृत्वले लिएको नीति पार्टी हितमा नरहेकाले यी विषय आफूले उठाएको उनको प्रस्टीकरण थियो ।
तर, समाजवादीमा नेपाल र खनाललाई नजिकबाट बुझेका एक नेता दुवै नेताको स्वभाव मच्चिने–मच्चिने, थच्चिने जस्तो गरी अगाडि बढ्दै आएको बताउँछन् ।
‘चुनाव सकिएर राष्ट्रपति निर्वाचन हुने बेलामा खनाल मच्चिएका थिए । गठबन्धनले धोका दियो, हामीलाई अन्याय भयो भन्थे । त्यसपछि एमसीसीमा कुनै हालतमा पारित गर्न हुँदैन भनेर मच्चिए । महाधिवेशनमा अध्यक्षमा नउठी छाड्दिनँ भनेर नेताहरूलाई उराले,’ खनाललाई नजिकबाट चिनेका एक नेता भन्छन्, ‘अहिले एमालेबाट विभाजन हुनुको औचित्य पुष्टि भएन भनेर चर्को गरी कराउँदैछन् । खनाल मच्चिएको यो चौथोपटक हो । तर, सबैपटक मच्चिने–मच्चिने थन्किने भएको छ । जति ठूला कुरा गरे पनि विद्रोह गरेर हिँड्ने आँट उहाँमा छैन ।’
पार्टी विभाजनदेखि सिद्धान्त, नीति र व्यवहारिक कुरा उठाएका खनालसँग मुकुन्द न्यौपाने, केदार न्यौपानेदेखि घनश्याम भुसाल र रामकुमारी झाँक्रीसम्मले ढुक्कले साथ दिएका थिए । तर, खनालले एकपछि अर्को गर्दै आत्मसमर्पण गरेपछि पार्टीभित्र उनलाई सिरियस रूपमा लिन छाडिएको नेताहरू बताउँछन् ।
‘राम्रो कुरा उठाए भनेर ढुक्कले साथ दिँदा पनि खनालले आत्मसमर्पण गरेपछि न्यौपानेद्वय एमालेमा फर्किए । भुसालदेखि झाँक्रीसम्मले उनलाई सिरियस नेताको रूपमा लिएका छैनन्,’ समाजवादीका एक नेता भन्छन्, ‘यी बोली र वचनमा टिक्दैनन्, विद्रोह पनि गर्दैनन् भनेर उनले जति चर्को बोले पनि नेताहरूले पत्याउन छाडेका छन् ।’
काठमाडौंका मिडियामा चर्को अभिव्यक्ति दिए पनि दुई दिनमै विराटनगर पुगेर खनालले आफ्नो अभिव्यक्ति सच्याउन खोजेका छन् । नेतृत्वभन्दा नीतिगत विषयमा आफूले जोड दिएको उनको भनाइ थियो ।
अबको केही दिनपछि भदौ २ गते समाजवादी पार्टी अस्तित्वमा आएको चार वर्ष पुग्दैछ । समाजवादीले एमालेबाट फुट्नुको औचित्य पुष्टि गर्न सकेको छैन । विभाजनको औचित्य पुष्टि गर्न नसकेको भनेर आरोप लगाउनेमा खनाल मात्रै छैनन्, युवा नेतृ रामकुमारी झाँक्री पनि छिन् ।
केही दिनअघि मात्रै झाँक्रीले अध्यक्ष नेपालमाथि गम्भीर आरोप लगाएकी थिइन् । नेपालले पतञ्जली जग्गा प्रकरणमा मुद्दा खेपेपछि झाँक्रीले पार्टी पुनर्गठनको माग गरेकी थिइन् ।
‘अध्यक्षका बारेमा संकट आयो । अब पार्टीलाई पुनर्गठन गरेर अगाडि बढ्ने हो । पार्टीलाई पुनर्गठन गर्ने हो भने अर्ली–महाधिवेशन गर्नुपर्छ, किनकि कानूनी र संवैधानिक हिसाबले अध्यक्षमाथि समस्या आयो,’ झाँक्रीले बुटवल पुगेर पार्टीकै कार्यक्रममा भनेकी थिइन्, ‘अब काँधमाथि मरेको सिनो बोकेर हिँड्न सकिँदैन । हामी सुध्रिने र नयाँ ढंगले जाने हो भने केही डिपार्चर गर्नुपर्दैन ? अर्ली महाधिवेशन गरौं । हलबाट नेतृत्व छानौं । त्यस्तो हुँदा जोकोही पनि नेतृत्वमा आउन सक्छन् ।’
झाँक्रीको आरोपपछि उनलाई अनुशासनको कारबाही गर्ने चेतावनी समाजवादीले दियो । तर, पार्टीले चार वर्षमा कुनै प्रभाव पार्न नसकेको, बरु नेतृत्व रक्षात्मक बनेको आरोप खेपिरहेको छ ।
यसबीचका वर्षमा पदाधिकारी, केन्द्रीय नेता पलायनबाट समाजवादी गुज्रिँदै आयो । कतिपय जिल्ला कमिटी नै एमालेमा विलय हुन पुगे । कांग्रेस र माओवादीसँग मिलेर चुनाव लड्दा १० सिट जित्नेबाहेक राष्ट्रिय दल हुन समेत समाजवादी असमर्थ भयो । यस्तोमा नेपालमाथि पार्टीलाई धार दिन नसकेको आरोप लाग्ने गरेको छ । पार्टीलाई नेतृत्व दिन नसकेको आरोप खेपिरहँदा नेपाल झन् रक्षात्मक देखिएको नेताहरू बताउँछन् ।
‘इमान्दार र असली नेतृत्व हुन्थ्यो भने जुनियर नेताले लगाएको आरोपको प्रतिवाद गर्थ्यो, आरोप सही नभए उल्टै कारबाही गर्थ्यो,’ एक नेता भन्छन्, ‘तर, आफैं रक्षात्मक भएकाले समाजवादीको नेतृत्वले कुनै एक्सन लिन सकेको छैन । बरु आफूलाई यथास्थितिवादमै राख्नमा सुरक्षित ठानेको छ ।’

खनाल र झाँक्री मात्रै होइन, केही दिनअघि मात्रै भित्र्याइएका वामदेव गौतमले समेत भूमिका नपाएको भन्दै असन्तुष्टि जनाएका छन् ।
संगठन विभाग नपाए समाजवादीमा नबस्ने चेतावनी दिएका छन् । तर, नेपालले संगठन विभाग प्रमुख वेदुराम भुसाललाई रुवाएर गौतमलाई जिम्मेवारी दिन नसकिने बताएको चर्चा छ । माधवको यस्तो अडानले केही दिनअघि मात्रै समाजवादीमा पुगेका गौतमलाई झन् चिढ्याएको छ ।
यहीबेला नेपालले प्रधानमन्त्री हुँदा पतञ्जली जग्गा प्रकरणमा गरेको नीतिगत निर्णयमा मुद्दा खेपिरहेका छन् । तर, उनको पार्टी अध्यक्ष र सांसद पद कायम छ ।
मुद्दा नटुंगिएसम्म नेपालले पार्टीको नेतृत्व छाड्ने मनसाय बनाएका छैनन् ।
‘गम्भीर मुद्दा लागेपछि अनुसन्धान र मुद्दा नसकिएपछि म सक्रिय राजनीति गर्दिनँ भन्नुपर्ने हो,’ एक नेता भन्छन्, ‘तर, ठूलो मुद्दामा नैतिकताको आधारमा नछाडेपछि अरूमाथि पनि अनुशासनप्रति निर्मम बन्ने नैतिकता यतिखेर अध्यक्ष नेपालमा देखिएको छैन ।’