
रुपन्देहीको मर्चवारी गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष जनार्दन यादवसहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार अध्यक्ष यादव र गणेश ट्रेडिङका सञ्चालकका छोरा विपिनकुमार पाण्डेयविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार आयोगको बुटवल कार्यालयबाट खटिएको टोलीले यादव र पाण्डेयलाई ३ लाख रुपैयाँ घुस रकमसहित नियन्त्रणमा लिएको थियो।
यादवले विभिन्न योजनाको निर्माण कार्य सम्पन्नपश्चात भुक्तानी सिफारिस गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस मागेर पाण्डेयलाई लिन लगाएका थिए ।
आयोगले उनीहरूविरुद्ध ३ लाख रुपैयाँ बिगो कायम गरी कैद सजाय र जरिवानाको मागदाबी गरेको छ ।