०६ असार २०८३, शनिबार
मावन अधिकारको बाटोमा हिँड्नेको कथा

गोल्ड मेडलिस्ट सुवोधराजलाई मदन भण्डारीले छोडाएका थिए जागिर

साउन २४, २०८२
विराटनगर
गोल्ड मेडलिस्ट सुवोधराजलाई मदन भण्डारीले छोडाएका थिए जागिर

कुनै बेला एक यस्ता बैंकर थिए, जसको अगाडि सुनको मेडल र बेलायतको तालिमले बनेको उज्ज्वल भविष्य थियो । तर, उनले त्यो सबैलाई तिलाञ्जली दिएर भूमिगत राजनीतिक नेताको आग्रहमा अनिश्चित भविष्यको बाटो समाते । यो बाटो हिँडेर उनी कहाँ पुग्नुपर्थ्यो कहाँ पुगे हिसाब छैन । उसो त उनी स्वयं पनि यो हिसाबमा अल्झिन चाहँदैनन् । 

यो कुनै फिल्मी कथा होइन, मानव अधिकारकर्मी सुवोधराज प्याकुरेलको जीवनको यथार्थ हो ।  जसले सुरक्षित भविष्यभन्दा सिद्धान्तको बाटो रोजे र नेपालको राजनीतिक–सामाजिक परिवर्तनका अनेकौं घटनाको साक्षी मात्र बनेनन्, एक प्रमुख पात्र नै बन्न पुगे । 

काठमाडौंको झम्सिखेलस्थित मामाघरमा जन्मेका प्याकुरेलको जीवनको शुरूआती अध्याय सामान्य नै थियो । बुवाको असामयिक निधनपछि मामाको संरक्षणमा हुर्किएका उनको पढाइ र लगनशीलताले नेपाल बैंक लिमिटेडमा राम्रो भविष्य बनाउँदै थिए । काममा यति अब्बल थिए कि, राम्रो काम गरेबापत उनले गोल्ड मेडल नै पाए ।  बैंकले नै उनलाई थप तालिमका लागि बेलायत पठायो । 

तर, समयले अर्कै मोड लियो । वामपन्थी राजनीतिमा उनको झुकाव बढ्दै थियो र भूमिगत नेता मदन भण्डारीसँगको संगत बाक्लिँदै थियो । उनको घर मदन भण्डारीका लागि सेल्टर थियो ।

एक दिन मदन भण्डारीले उनलाई भने, ‘अब तपाईंले जागिर छोडेर पूर्णकालीन राजनीतिमा लाग्नुपर्छ ।’ दुई छोराछोरीको भविष्य र सुनिश्चित करिअरलाई दाउमा राख्ने यो प्रस्ताव सहज थिएन । तर, भण्डारीको ‘तपाईं जस्तो मान्छेले यसो भन्न सुहाउँदैन, म तपाईंलाई ताप्लेजुङमा हेडमास्टर बनाउँछु’ भन्ने एकै वाक्यले उनको जीवनको दिशा बदल्यो ।

उनी राजीनामा बोकेर काठमाडौं पुगे । जनरल म्यानेजरले पत्याउनै सकेनन् । ‘तपाईं त मेरो कुर्सीमा बस्नुपर्ने मान्छे, किन छोड्नुहुन्छ ?’ भन्दै उनले राजीनामा स्वीकृत गर्न मानेनन् । तर, प्याकुरेल आफ्नो निर्णयमा अडिग थिए । उनलाई आफ्नो निर्णयबारे सोच्न भनेर पटक पटक भनिएको थियो । उनले कर गरेरै १७ वर्षे बैंकिङ करिअरमा पूर्णविराम लगाए ।

जागिर छोड्दा हातमा भएको २ लाख २० हजार रूपैयाँ लिएर उनले नयाँ यात्रा शुरू गरे । एकजना सरदारको प्रेरणा र साथी दिनेश सुवेदीको अटुट विश्वासमा उनले प्लास्टिक उद्योग खोल्ने निधो गरे । रोचक त के छ भने, त्यो उद्योगको नाम राखियो– ‘मुक्ति मोर्चा प्लास्टिक’ ।

उनको उद्योग केवल नाफाका लागि थिएन । त्यहाँ इमानदारी र मजदुरको हकको लडाइँ पनि थियो । एक पटक एक व्यवसायीले घुस दिन खोज्दा उनले त्यो पैसा सोही व्यक्तिको ऋण खातामा जम्मा गरिदिएका थिए । उनले आफ्नो कारखानामा मजदुरका लागि सञ्चय कोषको व्यवस्था गरे, जुन निजी क्षेत्रमा सम्भवतः: नेपालकै पहिलो थियो ।  

मदन भण्डारीले दिएको दुईवटा सूत्र आफूले जीवनभर अपनाएको उनी बताउँछन् । ‘मजदुरलाई कहिल्यै धोका नदिनू र उत्पादनको गुणस्तरमा कहिल्यै सम्झौता नगर्नू’ भन्ने मदन भण्डारीको भनाइलाई आफूले मार्गदर्शनका रूपमा लिएको प्याकुरेल बताउँछन् । 

चुरोटको बट्टामा बेरिएको त्यो चिठी र भैरवनाथको चित्कार

समयक्रममा प्याकुरेल पूर्णकालीन मानव अधिकारकर्मी बने ।  २०४७ सालमा इन्सेक स्थापना हुँदा उनी संस्थापक सदस्य थिए र पछि त्यसको नेतृत्व सम्हाले । द्वन्द्वकाल उनको जीवनको सबैभन्दा चुनौतीपूर्ण तर महत्त्वपूर्ण समय रह्यो ।

एकदिन, उनको अफिसमा एक सैनिक जवान हतारिँदै आए र उनको हातमा चुरोटको बट्टा थमाएर हतारिँदै बाहिरिए । त्यो बट्टाभित्र एउटा चिठी थियो, जसमा भैरवनाथ गणभित्रको अमानवीय यातना र हत्याको कहालीलाग्दो वर्णन थियो । त्यहाँ थुनिएका ४९ जनामध्ये धेरैलाई मारिएको र बाँकीलाई पनि मार्ने तयारी भइरहेको सन्देशले उनलाई स्तब्ध बनायो ।

उनी तत्काल राष्ट्रिय मानव अधिकार आयोग पुगे । आयोगको हस्तक्षेप र चौतर्फी दबाबपछि मात्रै बाँकी बन्दीको जीवन जोगियो । ‘त्यो दिन हामी नपुगेको भए, बाँकी सबै मानिस खाल्डोमा पुरिने थिए,’ उनी सम्झिन्छन् ।  द्वन्द्वकालमा उनले यसरी नै ब्यारेकभित्र पसेर, सेना र माओवादी दुवै पक्षलाई चुनौती दिँदै सयौंको जीवन बचाए ।

उनको निडर स्वभाव राष्ट्रिय सीमामा मात्र सीमित रहेन । सन् २०१० मा अमेरिकी राष्ट्रपति बाराक ओबामाले विश्वका १९ जना मानव अधिकारकर्मीलाई ह्वाइट हाउसमा बोलाउँदा उनी पनि त्यहाँ थिए । उनले ओबामासँगको भेटमा ग्वान्तानामो बेको बन्दीगृह र अमेरिकाले दिने यातनाबारे सिधा प्रश्न उठाए ।

नेपालमा राजाको शासनकाल होस् वा बहुदल, उनी शक्तिको अगाडि कहिल्यै झुकेनन् । ‘मेरो हतियार भनेकै सत्य हो’, उनी भन्छन् । 

यही सत्य बोल्दा उनले चुनाव हारे, अनेकौं धम्की सहे । तर, आफ्नो निष्ठा र सिद्धान्तको बाटो कहिल्यै छोडेनन् । 

salt training

कमेन्ट गर्नुहोस्