
कुनै बेला एक यस्ता बैंकर थिए, जसको अगाडि सुनको मेडल र बेलायतको तालिमले बनेको उज्ज्वल भविष्य थियो । तर, उनले त्यो सबैलाई तिलाञ्जली दिएर भूमिगत राजनीतिक नेताको आग्रहमा अनिश्चित भविष्यको बाटो समाते । यो बाटो हिँडेर उनी कहाँ पुग्नुपर्थ्यो कहाँ पुगे हिसाब छैन । उसो त उनी स्वयं पनि यो हिसाबमा अल्झिन चाहँदैनन् ।
यो कुनै फिल्मी कथा होइन, मानव अधिकारकर्मी सुवोधराज प्याकुरेलको जीवनको यथार्थ हो । जसले सुरक्षित भविष्यभन्दा सिद्धान्तको बाटो रोजे र नेपालको राजनीतिक–सामाजिक परिवर्तनका अनेकौं घटनाको साक्षी मात्र बनेनन्, एक प्रमुख पात्र नै बन्न पुगे ।
काठमाडौंको झम्सिखेलस्थित मामाघरमा जन्मेका प्याकुरेलको जीवनको शुरूआती अध्याय सामान्य नै थियो । बुवाको असामयिक निधनपछि मामाको संरक्षणमा हुर्किएका उनको पढाइ र लगनशीलताले नेपाल बैंक लिमिटेडमा राम्रो भविष्य बनाउँदै थिए । काममा यति अब्बल थिए कि, राम्रो काम गरेबापत उनले गोल्ड मेडल नै पाए । बैंकले नै उनलाई थप तालिमका लागि बेलायत पठायो ।
तर, समयले अर्कै मोड लियो । वामपन्थी राजनीतिमा उनको झुकाव बढ्दै थियो र भूमिगत नेता मदन भण्डारीसँगको संगत बाक्लिँदै थियो । उनको घर मदन भण्डारीका लागि सेल्टर थियो ।
एक दिन मदन भण्डारीले उनलाई भने, ‘अब तपाईंले जागिर छोडेर पूर्णकालीन राजनीतिमा लाग्नुपर्छ ।’ दुई छोराछोरीको भविष्य र सुनिश्चित करिअरलाई दाउमा राख्ने यो प्रस्ताव सहज थिएन । तर, भण्डारीको ‘तपाईं जस्तो मान्छेले यसो भन्न सुहाउँदैन, म तपाईंलाई ताप्लेजुङमा हेडमास्टर बनाउँछु’ भन्ने एकै वाक्यले उनको जीवनको दिशा बदल्यो ।
उनी राजीनामा बोकेर काठमाडौं पुगे । जनरल म्यानेजरले पत्याउनै सकेनन् । ‘तपाईं त मेरो कुर्सीमा बस्नुपर्ने मान्छे, किन छोड्नुहुन्छ ?’ भन्दै उनले राजीनामा स्वीकृत गर्न मानेनन् । तर, प्याकुरेल आफ्नो निर्णयमा अडिग थिए । उनलाई आफ्नो निर्णयबारे सोच्न भनेर पटक पटक भनिएको थियो । उनले कर गरेरै १७ वर्षे बैंकिङ करिअरमा पूर्णविराम लगाए ।
जागिर छोड्दा हातमा भएको २ लाख २० हजार रूपैयाँ लिएर उनले नयाँ यात्रा शुरू गरे । एकजना सरदारको प्रेरणा र साथी दिनेश सुवेदीको अटुट विश्वासमा उनले प्लास्टिक उद्योग खोल्ने निधो गरे । रोचक त के छ भने, त्यो उद्योगको नाम राखियो– ‘मुक्ति मोर्चा प्लास्टिक’ ।
उनको उद्योग केवल नाफाका लागि थिएन । त्यहाँ इमानदारी र मजदुरको हकको लडाइँ पनि थियो । एक पटक एक व्यवसायीले घुस दिन खोज्दा उनले त्यो पैसा सोही व्यक्तिको ऋण खातामा जम्मा गरिदिएका थिए । उनले आफ्नो कारखानामा मजदुरका लागि सञ्चय कोषको व्यवस्था गरे, जुन निजी क्षेत्रमा सम्भवतः: नेपालकै पहिलो थियो ।
मदन भण्डारीले दिएको दुईवटा सूत्र आफूले जीवनभर अपनाएको उनी बताउँछन् । ‘मजदुरलाई कहिल्यै धोका नदिनू र उत्पादनको गुणस्तरमा कहिल्यै सम्झौता नगर्नू’ भन्ने मदन भण्डारीको भनाइलाई आफूले मार्गदर्शनका रूपमा लिएको प्याकुरेल बताउँछन् ।
चुरोटको बट्टामा बेरिएको त्यो चिठी र भैरवनाथको चित्कार
समयक्रममा प्याकुरेल पूर्णकालीन मानव अधिकारकर्मी बने । २०४७ सालमा इन्सेक स्थापना हुँदा उनी संस्थापक सदस्य थिए र पछि त्यसको नेतृत्व सम्हाले । द्वन्द्वकाल उनको जीवनको सबैभन्दा चुनौतीपूर्ण तर महत्त्वपूर्ण समय रह्यो ।
एकदिन, उनको अफिसमा एक सैनिक जवान हतारिँदै आए र उनको हातमा चुरोटको बट्टा थमाएर हतारिँदै बाहिरिए । त्यो बट्टाभित्र एउटा चिठी थियो, जसमा भैरवनाथ गणभित्रको अमानवीय यातना र हत्याको कहालीलाग्दो वर्णन थियो । त्यहाँ थुनिएका ४९ जनामध्ये धेरैलाई मारिएको र बाँकीलाई पनि मार्ने तयारी भइरहेको सन्देशले उनलाई स्तब्ध बनायो ।
उनी तत्काल राष्ट्रिय मानव अधिकार आयोग पुगे । आयोगको हस्तक्षेप र चौतर्फी दबाबपछि मात्रै बाँकी बन्दीको जीवन जोगियो । ‘त्यो दिन हामी नपुगेको भए, बाँकी सबै मानिस खाल्डोमा पुरिने थिए,’ उनी सम्झिन्छन् । द्वन्द्वकालमा उनले यसरी नै ब्यारेकभित्र पसेर, सेना र माओवादी दुवै पक्षलाई चुनौती दिँदै सयौंको जीवन बचाए ।
उनको निडर स्वभाव राष्ट्रिय सीमामा मात्र सीमित रहेन । सन् २०१० मा अमेरिकी राष्ट्रपति बाराक ओबामाले विश्वका १९ जना मानव अधिकारकर्मीलाई ह्वाइट हाउसमा बोलाउँदा उनी पनि त्यहाँ थिए । उनले ओबामासँगको भेटमा ग्वान्तानामो बेको बन्दीगृह र अमेरिकाले दिने यातनाबारे सिधा प्रश्न उठाए ।
नेपालमा राजाको शासनकाल होस् वा बहुदल, उनी शक्तिको अगाडि कहिल्यै झुकेनन् । ‘मेरो हतियार भनेकै सत्य हो’, उनी भन्छन् ।
यही सत्य बोल्दा उनले चुनाव हारे, अनेकौं धम्की सहे । तर, आफ्नो निष्ठा र सिद्धान्तको बाटो कहिल्यै छोडेनन् ।