
जापानको दक्षिणी मुख्य टापु क्युशुमा भारी वर्षासँगै बाढी आएको छ । जसले धेरै व्यक्तिलाई घाइते बनाएको छ । धेरै जना बेपत्ता भएको बताइएको छ ।
गत हप्ताको अन्त्यतिर शुरू भएको भारी वर्षाले कागोसिमाको दक्षिणी प्रान्तमा एक जना बेपत्ता र अन्य चार जना घाइते भएका छन् । यस क्षेत्रमा अड्किएको न्यून चापीय प्रणालीले क्युशुको उत्तरी भागहरूमा थप वर्षा ल्याएको छ ।
जापान मौसम विज्ञान एजेन्सीले सोमबार बिहान कुमामोटोमा उच्च–स्तरको चेतावनी जारी गरेको छ र विपद् व्यवस्थापन एजेन्सीले कुमामोटो क्षेत्र र अन्य छ प्रान्तमा दशौँ हजार मानिसलाई सुरक्षित रहन आग्रह गरेको छ ।
कुमामोटो र नजिकैको फुकुओका प्रान्तमा बढेको नदीमा खसेर अन्य धेरै मानिस बेपत्ता भएको पनि रिपोर्ट गरिएको छ ।
टेलिभिजन फुटेजले हिलो पानी बगिरहेको, भाँचिएका रुख र हाँगाहरू बगाएको र बासिन्दाहरू घुँडासम्म बाढीको पानीमा हिँडिरहेको देखाएको छ ।
प्रधानमन्त्री शिगेरु इशिबाले आफ्नो सरकारले बेपत्ता व्यक्तिहरूको खोजी र उद्धार कार्यमा सहयोग गरिरहेको र प्रभावित क्षेत्रका अन्य व्यक्तिहरूलाई सहायता गरिरहेको बताए । उनले बासिन्दाहरूलाई ‘आफ्नो जीवन बचाउन कार्यहरूलाई प्राथमिकता दिन’ प्रोत्साहित गर्दै ‘अधिकतम सावधानी अपनाउन’ आग्रह गरे । रासस