२५ जेठ २०८३, सोमबार

वेम्बलीमै रचियो नेपथ्यको अर्को इतिहास

साउन २६, २०८२
काठमाडौं
वेम्बलीमै रचियो नेपथ्यको अर्को इतिहास
तस्वीर : दिपित राज/नेपालय

नेपथ्यले १२ वर्षअघि जुन हलमा मानक खडा गरेको थियो, त्यही हलमा अझ ठूलो सफलतासाथ ब्यान्डले नयाँ इतिहास रचेको छ । बेलायतको सुप्रसिद्ध वेम्बली एरिनामा शनिबार बेलुकी खचाखच १० हजार दर्शकमाझ नेपथ्यले भव्य प्रस्तुति दिएको छ ।

विश्वकै व्यस्त शहरमा आयोजित कन्सर्टलाई दर्शकले उत्सव जस्तै बनाएको नेपथ्यले जनाएको छ । सदाझैँ घडी देखाएर तोकिएको समयमै शुरू भएको कन्सर्टमा ब्यान्डले पहिलो सौगात ‘कोशीको पानी’ प्रस्तुत गरेको थियो । चौथो क्रममा थियो ‘आँगनैभरि’ ।

नेपथ्य स्थापना हुनुभन्दा निकै पहिले गायक अमृत गुरुङले यस गीतलाई कास्कीको याङ्जाकोटमा बस्दा रचना गरेका थिए । त्यस गाउँमा बास दिने बाल्यकालका साथी पुस्कल गुरुङ यस गीतको रचनाका साक्षी पनि हुन् ।

लन्डनमा शनिबार यो गीत प्रस्तुत भइरहँदा दर्शकदीर्घामा पुस्कल पनि उपस्थित थिए । ‘गाउँमा आफ्नै अघिल्तिर गितार बजाउँदै अमृतले तयार पारेको यस गीतले झन्डै ३५ वर्षपछि पनि लन्डनको यस्तो भव्य समारोहमा मेरै सामुन्ने यति मानिसलाई मग्न बनाउला भन्ने त कल्पनामा पनि थिएन,’ पुस्कल भनिरहेका थिए, ‘वेम्बलीमा शनिबार इतिहास रचिएको छ । त्यो इतिहासको साक्षी बन्न पाउँदा म धन्य महसुस गर्दै छु ।’

गायक अमृतले कन्सर्टमा गीत मात्र प्रस्तुत गरेनन्, गीत संकलनको अनुभव सुनाए, नेपाली भाषा र संस्कृति जगेर्नाका लागि प्रेरित गरे । स्वदेशको महिमा बयान गर्दै विदेशिएका तन्नेरीलाई स्वदेशसँग जोड्ने किसिमको आह्वान पनि गरे। 

‘समाजका विषयमा मनमा लागेका कुरा बोलिरहँदा दर्शकबाट जहिले पनि उत्साहसाथ समर्थन पाउँदै आएको छु,’ अमृत भन्छन्, ‘लन्डनको यति ठूलो दर्शक घेराले तिनै कुरालाई चर्को आवाजसहित मन पराइदिँदा छाती सगरमाथाजस्तै अग्लो र बलियो भएको महसुस गरेँ ।’

तस्वीर : दिपित राज/नेपालय

कन्सर्टको अर्को महत्त्वपूर्ण पक्ष दर्शकबाट आएको ‘वान्स मोर’लाई ब्यान्डले अस्वीकार गर्न नसक्नु रह्यो । अन्तिम प्रस्तुति ‘रातो र चन्द्रसुर्जे’ प्रस्तुत गरेपछि ब्यान्ड मञ्चबाट बिदा हुने परम्पराजस्तै छ । तर, शनिबार वेम्बलीमा दर्शकको अनुरोधलाई सम्मान गर्दै ब्यान्डले थप प्रस्तुतिका रूपमा ‘हिमाल चुचुरे’ सुनायो ।

मञ्चमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए ।

‘विश्वप्रसिद्ध वेम्बलीमा नेपथ्यलाई उभ्याउने योजना १२ वर्षपहिले नै कोसेढुङ्गाका रूपमा सफल भइसकेको थियो,’ ब्यान्डलाई व्यवस्थापन गर्दै आएको नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘आज फेरि नेपथ्यले यसै हलबाट पुरानो मानकलाई छिचोलेको मात्र छैन, सम्भवतः नेपाली सङ्गीतकै इतिहासमा बन्द हलभित्र पहिलोपटक यति धेरै दर्शक जुटाउन सफल भएका छौं ।’

यसपटकको वेम्बली यात्रा बेलायतकै ‘बीएसके इन्टरटेनमेन्ट’ र ‘पर्चा प्रोडक्सन’ले आयोजना गरेका हुन् । ‘शो हेर्ने १० हजार दर्शकका लागि आजको साँझ जीवनकै अविस्मरणीय बनेको छ,’ आयोजक टोलीका दीपेन्द्र लामाको प्रतिक्रिया थियो, ‘वेम्बलीमा नेपथ्यको इतिहास यसरी भव्यतासाथ पुनर्लेखन गर्न सहयोग गर्नुभएका सबैप्रति आभार प्रकट गर्छु ।’

वेम्बली एरिनामा प्रस्तुतिलगत्तै नेपथ्य टोलीले अब युरोपको शृङ्खलाबद्ध यात्रा गर्दै छ । त्यसक्रममा अगस्त २३ मा डेनमार्कको राजधानी कोपेनहेगनमा नेपथ्य प्रस्तुत हुनेछ । त्यसपछि २७ तारिखमा माल्टाको आटार्ड, ३१ तारिखमा पोर्चुगलको लिस्बन हुँदै अन्तिममा सेप्टेम्बर ३ मा बेल्जियमको एन्थ्रोपेन शहरमा प्रस्तुत भएर यात्रा टुङ्गिनेछ ।

 

salt training

कमेन्ट गर्नुहोस्