
साहित्यकार गोपी मैनालीको निबन्ध संग्रह ‘अक्षरको मन’ सार्वजनिक भएको छ ।
मुक्तिनाथ साहित्य समाज नेपाल काठमाडौंले सोमबार अनामनगरमा विशेष समारोहको आयोजना गरेर उक्त निबन्ध संग्रह लोकार्पण गरिएको हो ।
कार्यक्रममा समीक्षकद्वय डा. हरि लम्साल र डा.परशुराम पौडेलले समालोचनात्मक टिप्पणी राखेका थिए । डा. लम्सालले संग्रहdf समेटिएका २२ निबन्धको शैली, संरचना, विषय परिवेश, सन्दर्भ र अन्य निबन्धकारसँग तुलना गरेर मैनालीको निबन्धीय विशेषताको उल्लेख गरे । उनले सबै निबन्ध ‘पोइट्रिक प्रोज’ भएको उल्लेख गरे ।
डा. लम्सालले विषयको व्यापकता र विचारको गहनतासाथ भावनाको स्वच्छन्द उडानमा निबन्ध लेख्ने मैनाली लक्ष्मीप्रसाद देवाकोटा र शंकर लामिछानेपछि विशिष्ट स्थान राख्न सफल भएको दाबी गरे ।
अर्का समालोचक डा. परशुराम पोडेलले रुपविन्यास र कला शिल्पका आधारमा निबन्धहरूको विश्लेषण गर्दै निकै उत्कृष्ठ रहेको र विचार, दर्शन र कलाको संयोजन उच्चस्तरको रहेको उल्लेख गरे ।
कार्यक्रममा वरिष्ठ सामलोचक प्राडा. खगेन्द्रप्रसाद लुइँटेलले मैनालीको निबन्धको यो पाँचौं कृति विगतका भन्दा निकै खारिएको, निबन्धमा कल्पना, अनुभूति, विज्ञान र मानवीय संवेगको भावात्मक प्रस्तुति रहेको बताए ।
वरिष्ठ कवि महेश प्रसाईंले मैनालीका निबन्ध कवितामय प्रस्तुतिमा रहेका विशिष्ठ बौद्धिकताका उपज हुन् भन्दै अब निबन्धमा मैनाली एरा आएको उल्लेख गरे ।

वरिष्ठ समालोचक ठाकुर शर्मा भण्डारीले मैनालीको निबन्ध लेखन शैली कलात्मक, वैचारिक रूपमा गहन र भावनाको उन्मुक्त उडान रहेको उल्लेख गरे ।
शर्माका शब्दमा मैनालीका निबन्ध उनको व्यक्तित्व जस्तै सरल, गहन र उच्चस्तरका रहेको उल्लेख गरे । समस्त साहित्यिक संस्थाका तर्फबाट साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेखालीले मैनालीको विशिष्ठ साधनाले कथा, निबन्ध, समालोचना र नियात्रामा मौलिक पहिचान भएको बताए ।
वरिष्ठ समालोचक युवाराज मैनालीले निबन्धकार मैनालीको २०३८ देखिको निबन्धीय यात्राको सिलसिला उल्लेख गर्दै मैनालीका निबन्ध गहन विचार, बेजोड प्रवाहशीलता, आत्मिक चेतना, युगबोध र तकसंगतिमा रहेकाले उनीबाट नेपाली निबन्धले धेरै कुरा प्राप्त हुने उल्लेख गरे ।
अभिनव साहित्य समाजका अध्यक्ष वेदमणि घिमिरेले सुशासन, समालोचना, कथा र निबन्धमा समान वैशिष्ट्य रहेको टिप्पणी गरे । प्रा. दिनेशराज पन्तले मैनाली प्रशासन र साहित्य सिर्जनामा समान रूपमा उत्तिकै शीर्ष स्थानमा रहेको उल्लेख गरे ।
प्रशासनमा सुशासन, निबन्धमा स्वच्छन्ताको उडान, कथामा सामाजिक यथार्थता र समालोचनामा गहन मूल्य विवेचना गर्ने मैनाली जस्ता प्रतिभा नभएको उनको भनाइ छ ।
लेखकीय मन्तव्य दिँदै निबन्धकार मैनालीले आफूले निबन्ध लेखेको सन्दर्भ, रचना गर्भमाथि प्रकाश पारेका थिए ।