
नेवारी समाज जात्रा तथा चाडपर्वले भरिपूर्ण एवं धनी समाज हो । प्राय: वर्षैभरि नेवारी समाजमा अनौठा र विविध अर्थ सम्प्रेषण गर्ने चाडबाड, पर्व र जात्राहरू देख्न सकिन्छ ।
नेवार समाजमा मात्र होइन, अन्य जातजाति र धर्मावलम्बीहरूले पनि आ–आफ्नो आस्था, परम्परा र गक्षअनुसार वर्षैभरि विभिन्न जात्रा र पर्वहरू मनाउँदै आइरहेका छन् ।
चाडपर्वले मानिसलाई आर्थिक भार पर्ने गरी खर्च गराउने मात्र नभएर उनीहरूलाई उत्प्रेरणा गराउने, परिवारका नातागोताहरूको बीचमा आपसी सम्बन्धमा प्रगाढता ल्याउने र आत्मीयता वृद्धि गर्नुका साथसाथै जागरुक बनेर अगाडि बढ्न प्रेरणा दिन्छ । चाडपर्वले समाजमा सद्भावलाई बढाएर मानवतावादको वृद्धि पनि गर्ने गर्दछ ।
यसै सन्दर्भमा नेपाल संवत् अनुसार आगामी भाद्र ५ गते औँसी तिथिको अन्तिम दिन पर्दछ । दशौं महिनालाई ‘गुँला’ को नामले चिनिन्छ र यस महिनालाई विशेष महत्त्वको रूपमा लिइन्छ ।
नेवारी समाजमा यस महिनालाई संकटको महिनाको रूपमा पनि लिइन्छ । ‘गुँला’ भनेको नराम्रो महिनाको विम्ब हो र यस महिनालाई अर्को शब्दमा ‘कलियुग’ पनि भनिन्छ ।
हुन पनि यस महिनामा अति वर्षाको कारणले हाम्रो देशको पहाडी भागमा पहिरोले र तराई भागमा बाढीले धनजनको ठूलो क्षति हुने गर्दछ । पानीको अशुद्धताका कारण झाडापखालाको प्रकोप हुने, टाइफाइड ज्वरोले सताउने र वातावरणमा धेरै प्रदूषणको कारणले छालामा एलर्जी भएर चिलाउने पनि हुन्छ । त्यसैले कलियुगको चरम प्रकोपबाट मुक्त हुने अपेक्षा राखेर महिनाभर बिहार र बहीहरूमा विभिन्न पूजापाठ, भजन र दान धर्मकर्म गरिन्छ ।
यस ‘गुँला’ महिनामा स्वयम्भूमा मेला लाग्दछ । स्वयम्भूमा श्रंगभेरी भनी रांगा र भैंसीको सिंगको बाजा बजाई मृतकको नाममा धर्म कर्म गर्ने गर्दछन् । यस गुँलामा मात्र बाहिर ल्याउने गुँलाबाजा बजाई बिहान सबेरै स्वयम्भूमा गई देवता दर्शन गर्ने गर्दछ । यस्ता बाजाहरू विभिन्न बिहारहरूमा विधिवत् पूजाआजा गरी बिहारका सदस्यहरूलाई सिकाइने परम्परा छ ।
‘गुँला’ महिनाको अवसरमा उपत्यका विभिन्न विहारहरूमा स्तोत्रवाचन र विभिन्न भजनहरू (ज्ञानमाला भजनकीर्तन) एकै स्वरमा गाउने र विभिन्न प्रकारका देवी देवताहरू प्रदर्शनका लागि सजिसजावट गरिराख्ने चलन पनि छ ।
यसै ‘गुँला’ महिनामा पाटनमा पञ्चदान, मत:या जात्रा, भीमसेन जात्रा, तीनै शहरमा गाई जात्रा, पाटनको कुम्भेश्वरको पोखरीमा महादेवलाई राखेर ठूलो मेला पूजाआजा हुने, क्वाँटी खाने र भक्तपुरमा धिंताधिसी ता:हा: मचाजस्ता अनौठा जात्रा हुन्छन् ।
काठमाडौंको थाबही–भगवान बहालमा सुनको मसीले लेखेका प्रज्ञापारमिता भन्ने पवित्र ग्रन्थको वाचन गर्ने र प्रदर्शन गर्ने काम पनि हुन्छ र यो ग्रन्थको दर्शन गर्न तिब्बतदेखि नै श्रद्धालुहरू आउने गर्दछन् ।
मानिसहरूले आफ्नो धर्म, परम्परा, संस्कृति अनि आस्थाअनुसार धर्मकर्म, जात्रा चाडपर्वहरू आफ्नो चलन अनुसार मनाउँदै आइरहेका छन् । पाटन शहरमा मात्रै नभई उपत्यकाका सबै उमेर समूहका मानिसहरूले यस गुँला धर्म आफ्नो गक्षअनुसार मनाउँदै आइरहेका छन् । तर, धेरै मानिसहरूलाई यस धर्मको अर्थ थाहा हुँदैन र उनीहरूलाई बुझाउनु पर्दछ ।
यसै परिवेशमा मैले पनि केही वर्षदेखि गुँला धर्म मनाउँदै आएको र यसको आचरण पालना गर्दै आइरहेको थिएँ । यो एक महिनामा मैले कुनै प्रकारको मासु (रांगो, खसी, बोका, कालो सुंगुर, बंदेल, कुखुराको मासु आदि) उपभोग गरिनँ । त्यस्तै, दूधबाट बन्ने कुनै प्रकारका खाद्य वस्तुहरू चीज, बटर पनिर आदिको पनि उपभोग गरिनँ । साथसाथै, हाँस कुखुराको अण्डा, माछा र मादक पदार्थहरू पनि पूरै निषेध गरेँ ।
खेलकुद अनुसन्धान विज्ञको नाताले हरेक बिहान एक घण्टा (आधा/आधा घण्टा दौड र बृस्क वाकिङ–छिटो छिटो हिँड्ने काम) लाई भने निरन्तरता दिएँ । प्रत्येक हप्ता तीन किलोमिटर दौडको टाइम ट्रायल परीक्षण पनि गरियो । अन्य सामान्य दिनहरूमा तीन किलोमिटर दौड करीब २१ मिनेटमा पार गर्दथेँ ।
गुँला पर्वको प्रत्येक हप्ताको टाइम ट्रायल परीक्षणमा तीन किलोमिटरको समय घट्दै गएर अन्तिम हप्ताको टाइम ट्रायल परीक्षण गर्दा अचम्मलाग्दो तरिकाले १६ मिनेट ४४ सेकेन्डमा दौड पूरा गर्न सफल भएँ । यो अवधिमा मेरो सहनशीलता र क्षमतामा विकास भएकाले यस्तो परिणाम आएको प्रस्ट हुन्छ ।
गुँला पर्वभन्दा अघि र पछि मैले आफ्नो शारीरिक परीक्षण गराएको थिएँ । यो अवधिमा आएको दुई फरक नतिजालाई मैले माथि तालिका बनाएर उल्लेख गरेको छु । तालिकामा देखाएझैं महिनाको शुरूमा मेरो शारीरिक तौल ७३ किलोबाट महिनाको अन्त्यमा आइपुग्दा ६९ किलो हुन आएको छ ।
हाम्रो शरीरमा यसरी अल्प समयमा मांसपेशी, हड्डी, आन्द्रा भुँडी, मुटु, कलेजो, फोक्सो आदिको तौल घट्ने हुँदैन, घट्ने भनेकै शरीरको बोसो हो । त्यसैले मेरो शारीरिक बोसो २४ प्रतिशतबाट २० प्रतिशतमा झरेको छ । साथै, कम्मरको परिधि पनि दुई इन्च कम भएको पाइयो ।
शरीरमा बोसो वृद्धि भएमा मानिसको अक्सिजन लिने क्षमतामा नकारात्मक असर गर्ने हुन्छ । खेलकुद विज्ञान र अनुसन्धानमा विश्वास गर्ने व्यक्ति भएकाले यसपटक गुँला धर्मको अगाडि र पछाडिको अन्तिम दिनमा दुईपटक ब्लड कल्चर गराएको थिएँ ।
महिनाको शुरूमा ब्लड प्रेसर (सिस्टोल /डाएसिस्टोल) १४५/९५ एम.एम.एच.जी थियो भने महिनाको अन्त्यमा जाँच गराउँदा अचम्मलाग्दो तरिकाले १२०/८० एम.एम.एच.जी सामान्यमा झरेको पाइयो । त्यस्तै, कोलेस्ट्रोल, ट्राइग्लाइसेराइड्, एच.डी.एल, एल.डी.एल (नराम्रो चिल्लोे) र लिभर फंसन टेस्ट पनि सामान्य रूपमा पाएँ ।
एक महिनाको शाकाहारी भोजनका कारण कोलेस्ट्रोल कम हुने निश्चित थियो, किनभने विविध प्रकारका मासु र चिल्लो पदार्थमा धेरै मात्रामा कोलेस्ट्रोल हुन्छ ।
विभिन्न चिकित्सकीय अनुसन्धानहरूले प्रमाणित गरेका छन् कि बिहानको एक सेशनको शारीरिक अभ्यास गर्नु भनेको ब्लड प्रेसरको दुई ट्याब्लेट खानु बराबरको प्रभाव हुन्छ । मासुको परित्यागले दोस्रो प्रकारको मधुमेहको अवस्थालाई कम गर्न मद्दत गर्दछ ।
यस आलेखको मद्दत अनि नतिजालाई आधार मानेर जनमानसमा सामान्यीकरण गर्न नमिल्ने भए तापनि मेरा अन्य धेरै साथीहरूको प्रतिक्रिया र नतिजाहरू यस्तै भएको पाएको छु । यसको वैज्ञानिक पुष्टिको निम्ति ठूलो लगानी गरेर सम्बन्धित निकायले पुष्टि गर्नुपर्ने आवश्यकता देख्दछु ।
नेपाली खेलकुद र हाम्रा खेलाडीहरूका लागि पनि यो तथ्यांक उपयुक्त हुन सक्छ ।
‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भनेर नारा मात्र दिएर पुग्दैन । बरु खेल क्षेत्रमा सक्रिय व्यक्तिहरूको जीवनशैलीमा परिवर्तन ल्याउन पनि खेल पदाधिकारीहरूले ध्यान दिनु आवश्यक देखिन्छ ।
– लेखक अमात्य खेलकुद अनुसन्धान विज्ञ हुन् ।