
विश्व व्यावसायिक फूटबलकै सर्वाधिक लोकप्रिय लिग हो, इङ्लिस प्रिमियर लिग (ईपीएल) । विश्वभरका फूटबल पारखीलाई आफ्नो परिधिमा बाँधेर राख्ने गजबको जादु छ, यो लिगमा । फूटबलमा मैदानभित्र दुई टोलीका खेलाडीबीच हुने घम्साघम्सी सामान्य विषय हो ।
तर, विश्वभरका चर्चित खेलाडीहरूको जमघट, मैदानमा देखिने लोभलाग्दो प्रदर्शन, प्रत्येक खेलमा आउने अप्रत्यासित नतिजा, दशकौँ लामो इतिहास बोकेका क्लबहरूबीच हुने उत्कृष्टताको लडाइँ अनि, आफ्नो मन–मस्तिष्कमा बसेको टोलीको हौसला बढाउन रंगशालामा ओइरिने समर्थकहरूको हुल, केही यस्ता पक्ष हुन्, जसले यो लिगलाई चर्चाको शिखरमा पुर्याउँछन् ।
यो लिगको अर्को एउटा रमाइलो पक्ष पनि छ, पटक–पटक नयाँ स्वरुपमा अगाडि आउने विवाद र फूटबल भनेपछि हुरुक्कै हुने समर्थकहरूले देखाउने विभिन्न खाले चर्तिकला । शायद त्यसैले, इङ्लिस प्रिमियर लिग सधैं फूटबल पारखीहरूको रोजाइमा पर्दै आएको छ ।
विश्वभर यो लिगका करोडौं पारखी छन् । त्यसैले प्रत्येक वर्ष नयाँ सिजन शुरू हुनुअघि नै समर्थकहरू सम्भावित विजेताको अनुमान लगाउन शुरू गर्छन् । टोलीको सकारात्मक र नाकारात्मक पक्षको विषयमा गहन विश्लेषण गर्छन् ।
तर, प्रत्येक सिजनको खेल अगाडि बढ्दै जाँदा अनुमान विपरीतका नतिजाहरू आउन थाल्छन् । समर्थकहरू फेरि नयाँ तानाबाना बुन्न ब्यस्त बन्छन् ।
अंक तालिकाको शीर्ष स्थानमा रहेका टोलीहरू कमजोर मानिएका प्रतिद्वन्द्वीहरूसँग पराजित हुन पुग्छन् । कमजोर टोलीहरूले नसोचेको प्रदर्शन गर्दै समर्थकलाई औंला टोक्न बाध्य पार्छन् ।
शायद, विश्व फूटबलको रोमाञ्च नै यही हो । अनि, इङ्लिस प्रिमियर लिगको सबैभन्दा सुन्दर पक्ष पनि यही हो । यस्तै अपत्यारिलो र अप्रत्यासित नतिजाहरूले प्रिमियर लिगलाई सिजनभर चर्चाको विषय बनाउँछ अनि, समर्थकलाई रंगशालाको गेटतर्फ डोहोर्याउँछ र टेभिलिजनको पर्दा अगाडि बाँधेर राख्छ ।
१२७औं संस्करण र ३८० खेल
फेरि एकपटक प्रतीक्षाको घडी सकिएको छ । प्रिमियर लिगको नयाँ सिजन बिहीबार (अगस्ट १५ तारिख) देखि शुरू हुँदैछ । ‘इङ्लिस प्रिमियर लिग’ नामकरण भएयता आयोजना हुन लागेको यो प्रतियोगिताको ३४औं संस्करण हो ।
सन् १९९२ मा यसको नामकरण ‘इङ्लिस प्रिमियर लिग’ गरिएको थियो । तर, इङ्ल्यान्डको घरेलु लिगको इतिहास भने निकै लामो छ । घरेलु लिगलाई आधार मान्दा प्रिमियर लिगको आगामी संस्करण १२७औं हो ।
आगामी सिजनको प्रिमियर लिग सन् २०२६ को मे २४ तारिखसम्म चल्नेछ । आगामी सिजनका लागि जुन १८ तारिखमै खेल तालिका सार्वजनिक गरिसकिएको छ । यो सिजन प्रिमियर लिगको खेल ३३ साता खेलिने छ । प्रिमियर लिगका क्रममा कुल तीन सय ८० खेल खेलाइने छ ।
माथि उक्लिएका तीन टोली
आगामी संस्करणमा पनि २० वटै टोलीको सहभागिता रहने छ । त्यसमध्ये लिड्स युनाइटेड, बर्नली र सन्डरल्यान्ड अघिल्लो सिजन उत्कृष्ट प्रदर्शन गर्दै प्रिमियर लिगमा उक्लिएका हुन् । अघिल्लो सिजन लेस्टर सिटी, इप्सविच टाउन र साउथएम्पटन भने रेलिगेसनमा परेर तल्लो डिभिजनमा झरेका थिए ।
लेस्टर सिटी, इप्सविच टाउन र साउथएम्पटन अघिल्लो वर्षमात्र तल्लो डिभिजनबाट प्रिमियर लिगमा उक्लिएका थिए । माथिल्लो डिभिजनमा उक्लिएका यी तीनवटै टोलीले एक सिजनमात्र प्रिमियर लिग खेल्न पाए । इङ्ल्यान्डको घरेलु लिगको इतिहासमा माथिल्लो डिभिजनमा उक्लिएका तीनवटै टोली एकैपटक फेरि रेलिगेसनमा परेको यो केवल तेस्रोपटक थियो ।
लिभरपूल र बर्नमाउथबीच पहिलो खेल
आगामी सिजनको उद्घाटन खेल लिभरपुल र बर्नमाउथबीच खेलिने छ । पहिलो दिन एक खेलमात्र खेलिने छ । लिभरपुल प्रिमियर लिगको साविक विजेता पनि हो । लिभरपुलले बलियो प्रतिद्वन्द्वी आर्सनललाई पछि पार्दै अघिल्लो सिजनको उपाधि चुमेको थियो । अघिल्लो सिजन बर्नमाउथ भने तालिकाको नवौँ स्थानमा रहेको थियो ।

लिभरपुलले ३८ मध्ये २५ खेलमा जित, नौ खेलमा बराबरी र चार खेलमा हारको नतिजा निकाल्दै कुल ८४ अंक बटुलेको थियो । निकट्तम प्रतिद्वन्द्वी बनेको आर्सनलले ७४ अंक जोडेको थियो । बर्नमाउथले भने ३८ खेलबाट ५६ अंक जोडेको थियो ।
यसैगरी, आगामी सिजनको दोस्रो दिन अगस्ट १६ तारिखमा एस्टन भिल्ला र न्युक्यासल युनाइटेड, ब्राइटन र फुलहाम, सन्डरल्यान्ड र वेस्टहाम युनाइटेड, टोट्टनहाम र बर्नली तथा उल्भरह्याम्पटन र म्यानचेस्टर सिटीबीच खेल हुनेछ ।
यसैगरी, तेस्रो दिन अगस्त १७ तारिखमा चेल्सी र क्रिस्टल प्यालेस, नटिङ्घम फरेस्ट र ब्रेन्टफोर्ड तथा म्यानचेस्टर युनाइटेड र आर्सनलबीच भिडन्त हुनेछ । चौथो दिन अगस्ट १८ तारिखमा लिड्स युनाइटेड र एभर्टन आपसमा भिड्नेछन् ।
म्याच बलमा परिवर्तन
आगामी सिजनको प्रिमियर लिगमा पहिलोपटक पूरै अवधि सेमी–अटोमेटेड अफसाइड प्रविधि प्रयोगमा ल्याइने भएको छ । यो प्रविधि अघिल्लो सिजनको अन्त्यतिर पनि केही समयका लागि लागू गरिएको थियो ।
प्रिमियर लिगको आगामी सिजनमा रेफ्रीहरू क्यामरासहित मैदानमा देखा पर्ने सम्भावना पनि छ । यो प्रविधिलाई भने प्रिमियर लिगमा पहिलोपटक प्रयोगमा ल्याइने सम्भावना छ । तर, आधिकारिक रूपमा निर्णय भने भइसकेको छैन । सन् २०२५ मा आयोजना भएको फिफा क्लब विश्वकपमा यो प्रविधि प्रयोगमा ल्याइएको थियो ।
यसका अतिरिक्त, आगामी सिजनका लागि प्रिमियर लिग खेलाउने आधिकारिक म्याच बलमा पनि परिवर्तन गरिएको छ । आगामी सिजनको प्रिमियर लिग ‘पुमा’ को बलले खेलाइने छ ।
अघिल्लो सिजनको प्रिमियर लिग ‘नाइक’ को बलले खेलाइएको थियो । प्रिमियर लिग आयोजकले ‘नाइक’ सँगको २५ वर्ष लामो साझेदारीलाई तोड्दै ‘पुमा’ को बललाई प्रयोगमा ल्याउन लागेको समाचारमा जनाइएको छ ।
नयाँ रंगशालामा एभर्टन
एभर्टनका लागि यो सिजन विशेष हुनेछ, किनभने यो सिजन एभर्टनले घरेलु खेल पहिलोपटक आफ्नो नयाँ रंगशालामा खेल्नेछ । लिभरपुलमा रहेको एभर्टनको नयाँ रंगशाला करिब ५३ हजार दर्शक क्षमताको रहेको छ । यसअघि एभर्टनले आफ्नो घरेलु खेल गुडिन्सन पार्कमा खेल्थ्यो ।
आगामी सिजनको प्रिमियर लिग खेलाइने सबैभन्दा बढी दर्शक क्षमताको रंगशाला भने ओल्ड ट्राफोर्ड हो । यो म्यानचेस्टर युनाइटेडको घरेलु मैदान हो । ओल्ड ट्राफोर्ड रंगशाला ७४ हजार एक सय ९७ दर्शक क्षमताको रहेको छ ।
यसैगरी, दोस्रो बढी दर्शक क्षमताको रंगशाला टोट्टनहामको घरेलु मैदान हो । उक्त रंगशाला ६२ हजार आठ सय ५० दर्शक क्षमताको रहेको छ । तेस्रो ठूलो रंगशाला वेस्ट हाम युनाइटेडको हो । लन्डन स्टेडियमको दर्शक क्षमता ६२ हजार पाँच सय रहेको छ ।
यसैगरी, सबैभन्दा कम दर्शक क्षमताको रंगशाला भने बर्नमाउथको हो । बर्नमाउथस्थित डिन कोर्ट स्टेडियम ११ हजार तीन सय सात दर्शक क्षमताको रहेको छ । दोस्रो कम दर्शक क्षमताको रंगशाला ब्रेन्टफोर्डको हो । ब्रेन्टफोर्ड कम्युनिटी स्टेडियम १७ हजार दुई सय ५० दर्शक क्षमताको रहेको छ ।
नयाँ प्रमुख प्रशिक्षकको साथ
आगामी सिजनको प्रिमियर लिगमा दुई टोली नयाँ प्रशिक्षकसहित मैदानमा ओर्लने छन् । अघिल्लो सिजनको प्रिमियर लिगमा निराशाजनक प्रदर्शनपछि टोट्टनहामले प्रशिक्षक परिवर्तन गरेको छ ।
अघिल्लो सिजन एन्ज पोस्टकोग्लु टोट्टनहामका प्रशिक्षक थिए । उनको प्रशिक्षकत्वमा अघिल्लो सिजन टोट्टनहाम अंक तालिकामा १७औं भएको थियो । टोट्टनहाम बल्लतल्ल रेलिगेसनमा पर्नबाट जोगिएको थियो । टोट्टनहामले ३८ खेलबाट ३८ अंकमात्र जोड्न सकेको थियो ।
सोही कारणले टोट्टनहामले उनलाई पदबाट बर्खास्त गरेको थियो । उनको स्थानमा टोट्टनहामले थोमस फ्रान्कलाई आफ्नो नयाँ प्रमुख प्रशिक्षक बनाएको छ । उनी यसअघि ब्रेन्टफोर्डको प्रमुख प्रशिक्षक थिए । सात वर्ष ब्रेन्टफोर्डमा बिताएर उनी टोट्टनहाममा आबद्ध भएका हुन् ।
यसैगरी, ब्रेन्टफोर्ड पनि नयाँ प्रमुख प्रशिक्षकसहित मैदानमा ओर्लने छ । ब्रेन्टफोर्डका प्रशिक्षक क्लब छाडेर टोट्टनहाममा आबद्ध भएपछि आगामी सिजनका लागि ब्रेन्टफोर्डले किथ एन्ड्र्यूजलाई आफ्नो प्रमुख प्रशिक्षक बनाएको छ । अन्य टोलीका प्रशिक्षक भने यथावत रहने छन् ।
कोही हिँडे, कोही भित्रिए
आगामी सिजनको प्रिमियर लिगमा केही खेलाडी फरक क्लबको जर्सीमा देखिने भएका छन् । प्रिमियर लिगमा सहभागी क्लबहरूबाट केही खेलाडी बाहिरिएका छन् भने केही खेलाडी नयाँ उत्साह बोकेर विभिन्न क्लबमा आबद्ध भएका छन् ।
साविक विजेता लिभरपुलबाट ट्रेन्ट एलेक्जेन्डर अर्नोल्ड बाहिरिएका छन् । सन् २०१६ देखि लिभरपुलमा रहेका प्रभावशाली खेलाडी अर्नोल्ड स्पेनिस ‘पावर हाउस’ रियल म्याड्रिडमा आबद्ध भएका छन् । डोमिनिक कर्नेस, लुइज डियाज, टेलर मोर्टन, इशाक माबाया, डार्बिन नुनेजलगायतका खेलाडी पनि लिभरपुलबाट बाहिरिएका छन् ।
अर्कोतिर, लिभरपुलले जियोर्गी ममार्दाशभिली, विल राइट, ह्युगो एकिटिक, फ्रेडी उडम्यान, मिलोस केर्केज, जेरेमी फिर्पोङलगायतका प्रभावशाली खेलाडीलाई टोलीमा भित्राएको छ ।
यसैगरी, म्यानचेस्टर सिटीबाट केभिन डे ब्रुएना, ज्याकोभ राइट, स्कट कार्सन, डिभिन मुबामालगायतका खेलाडी बाहिरिएका छन् । रायन नोउरी, मार्कस बेटिनेली, रायन चेर्की, जेम्स ट्राफोर्डलगायतका खेलाडी म्यानचेस्टर सिटीसँग जोडिएका छन् ।
यसैगरी, म्यानचेस्टर युनाइटेडबाट मार्कस रासफोर्ड, क्रिस्टियन एरिक्सन, जोनी एभन्स, भिक्टर लिन्डलोफलगायतका खेलाडी बाहिरिएका छन् । बेन्जामिन सेस्को, ब्रायन एमबेउमो, डिएगो लियोन, म्याथ्युस कुन्हालगायतका खेलाडी म्यानचेस्टर युनाइटेडमा आबद्ध भएका छन् ।
यसैगरी, आर्सनलबाट जर्जिन्हो, नाथन बट्लर, रहिम स्टर्लिङ, नेटो, नुनो टाभरेस, मार्किन्हसलगायका खेलाडी बाहिरिएका छन् । भिक्टर ग्योकेरेस, क्रिस्टियन मोस्केरा, मार्टिन जुबिमेन्डीलगायतका खेलाडी आर्सनलसँग जोडिएका छन् ।
यसका अतिरिक्त, अन्य क्लबहरूमा पनि थुप्रै खेलाडी परिवर्तन भएका छन् । केही खेलाडी क्लबबाट बाहिरिएका छन् भने रिक्त स्थानमा नयाँ खेलाडीहरूलाई भित्राइएको छ ।