
दुई दशकयता मोफसलमा नाम र पहिचानसहित लोकदोहोरी गीतको क्षेत्रमा सुनिँदै आएको नाम हो- नारायण बीपी परियार । ग्रामीण परिवेशका भोगाइलाई आफ्नो सृजनामा उतार्ने गायक नारायण बीपी विभिन्न ठाउँमा सांगीतिक प्रस्तुतिमा पनि खोजिने पात्र हुन् ।
गुल्मीदरबार गाउँपालिका–५ डाडापोखरीमा जन्मिएका नारायणले २०६० को दशकमा ‘रेसुङ्गाको शिरमा बसेर’ बोलको पहिलो गीति एल्बम बजारमा ल्याएका थिए । आफ्ना सिर्जना र स्वरबाट नेपाली गीत संगीतमा व्यावसायिक रूपमा सफल नारायण बीपीले माया प्रेमसहित समाजलाई सकारात्मक सन्देश दिने गीत पनि उत्तिकै ल्याएका छन् ।
नेपाली गीत संगीतमा २०औं वर्षको साधना र निरन्तरताले पनि सधैं सफलता नमिल्न पनि सक्छ । तर, स्रोता, दर्शकको रूचि र बदलिएको प्रविधिसँग तालमेल मिलाउँदै बीपी यहीँ क्षेत्रमा रमेका छन् ।
यो बीचमा उनले दर्जनौं लोकदोहोरी, पञ्चेबाजा र तीज गीतसँगै दशैं तिहारका गीत पनि बजारमा ल्याएका छन् । जसमध्ये केही दर्शक र स्रोतले मन पराएका छन् भने, केही औसत मात्र चलेको गायक बीपी स्वीकार गर्छन् । उनका गीतमा समाजको अन्याय, अत्याचार, थिचोमिचो, विभेद, बेदना, कुरीति र कुसंस्कार हटाउने सन्देश हुन्छन् ।
हाल रुपन्देहीको बुटवल–१२ ढवाहा बस्ने नारायणको बाल्यकाल गुल्मी गाउँमै बित्यो । कक्षा ७ सम्म गाउँमै पढेका नारायण कक्षा ८ पढ्न विक्रम संवत् २०५८ मा काठमाडौं गए । बाबा दलबहादुर दर्जी काठमाडौंमा फर्निसिङको काम गर्थे । उनले काठमाडौंको च्यासलस्थित शान्ति माविबाट एसएलसी दिए । उनका मामा मन्त्री कौसल गीत संगीतका अति पारखी थिए । विक्रम संवत् २०६१ मा मामा-भाञ्जा मिलेर रेसुङ्गाको शिरमा बसेर गीत नारायण र कौसलको शब्द संगीतमा बजारमा आयो । गीतले सोचेभन्दा बढी सफलता पायो, मामा-भाञ्जा हौसिए ।
बीपी सम्झन्छन्, ‘त्यो आहा म्युजिक प्रालिबाट बजारमा ल्याएको गीतको रोयल्टी मात्र हामीले त्यो बेला ८ लाख रुपैयाँ पाएका थियौं । त्यो बेला आफूलाई दर्शक र स्रोताले गायक नचिने पनि त्यो गीत अहिले गाउँदा पनि तपाईंको हो भनेर सबैले सम्झन्छन् ।’
त्यसपछि उनी निरन्तर गीत संगीतमा छन् । फेरि आफ्नो कथालाई जोडेर सुनको थालैमा गीत ल्याए । मामा मन्त्रीको संगीत र उनको आफ्नो स्वरमा ल्याएको गीतले पनि सन्तोषजनक सफलता दियो । त्यसपछि भने उनी काठमाडौं छाडेर आफ्नै शहर बुटवल झरे ।
बुटवल आएपछि उनको र वन्दना क्षेत्रीको स्वर र बैकुण्ठ महतको संगीतमा बिछोडको घाउ गीत बजारमा ल्याए । त्यसपछि नारायण र चेतना थापाको स्वर र शिव हमालको संगीतमा राई डाँडाको चौतारी बोलको पञ्चेबाजाको गीत बजारमा ल्याए । त्यसपछि तीज गीत धुलो उडायो, धानको सामा भन्ने पञ्चेबाजाको गीत, पायल बनाइदियो भन्ने लोकदोहोरी, धन्य केपी दाइ तीज गीतले राम्रो बजार लियो । उनी भन्छन्, ‘धन्य केपी दाइ नेपालको पहाडमा रेल आउने रे बाई’ बोलको गीत हो बजारमा राम्रो चर्चा पाएको थियो ।’
त्यसपछि खेम सेन्चुरीको संगीतमा तीज गीत आँखैमा गाजल गीत ल्याए । क्रमशः तीज गीत जोवन, फेरि पञ्चेबाजाको नौमती गीत, गमक्क नपर माया तीज गीत पनि आए र औसत चले ।
शिव हमालको शब्द र संगीतमा हाइ मेरो मायालु तीज गीत राम्रो चल्यो । तीज गीत माया बस्ला फेरि, पञ्चेबाजा माया जालैमा, टिकटक हेर्छु, मायालाई मिस गर्छु, नौमतीको धुन, झिली भिरम्ला, झिलिमिली गाउघर, आयो दशैं तिहार, परदेशी, बोल माया बोल तीज गीत, मुटु उपहार, माया जालैमा, सोचे झैँ छैन जीवन, बाहुनी मन पर्छलगायत गीत बजारमा छन् ।
उनले संगीत र गायनसँगै धेरैजसो गीतको भिडियोमा आफैंले अभिनय (मोडलिङ) पनि गरेका छन् ।
उनीमा सानैदेखि लोकदोहोरी गायक बन्छु भन्ने थियो । राजेशपायल राई, दीपक लिम्बूको गीत सुन्थे । मामाको पहलमा पहिलो गीत सफल र चर्चित बनेपछि मामाकै प्रेरणा, साथ र सपोर्टले अहिले लोकदोहोरी गीतको क्षेत्रमा स्थापित भएको उनको भनाइ छ । उनी भन्छन्, ‘आर्थिक रूपमा गीत संगीतबाट पर्याप्त नभए पनि बुटवल झरेर गीत संगीतमा आफ्नो नाम स्थापित भएको छ । यस क्षेत्रका हरेक कार्यक्रममा खोजीमा छु । यसैमा सन्तुष्ट छु ।’
उनले कार्यक्रम ‘होस्ट’को रूपमा पनि खोजी गरिन्छ । पछिल्लो समय गीत संगीतको क्षेत्रमा देखासिकी गरेर लाग्ने क्रम बढ्दो छ । रहर पूरा गर्न एउटा गीत निकाल्ने र गायक बन्ने चलन बढ्दा कलाकारको ‘भ्यालू’ घट्दो रहेको बीपी बताउँछन् ।
उनको पञ्चेबाजाको काली दोभान गीत ठूलो अपेक्षा गरेको गीत आउँदै छ । त्यस्तै एमटी महर र उनले गाएको धोकेबाज गीत पनि ल्याउँदैछन् । यी दुवै गीत राम्रो चल्ने आफूले अपेक्षा गरेको नारायणको भनाइ छ ।
यो दुई दशकमा उनले थुप्रै प्रतियोगितामा सहभागिता जनाएर दोहोरी गाएका छन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल लुम्बिनी प्रदेशका उपाध्यक्ष समेत रहेका बीपी साँझमा बुटवलको खस्यौली रोदी घरमा पनि आबद्ध छन् । त्यहाँ उनले दोहोरी गीत गाउँछन् ।
उनले कार्यक्रममा लागि भारतका विभिन्न शहरमा पनि गएर आफ्नो प्रस्तुति दिँदै आएका छन् । ‘गीत संगीत छाडेर बाँच्न सकिँदैन । भलै चर्चा धेरै नकमाइएला तर, निरन्तरता दिन्छु,’ नारायण भन्छन् । स्थानीय मेला, महोत्सव र सांस्कृतिक कार्यक्रममा आफ्नो खुबी प्रस्तुत गरेका उनी कुशल कार्यक्रम सञ्चालक तथा लुम्बिनी प्रदेशमा गीत संगीतमा क्रियाशील छन् ।