२७ जेठ २०८३, बुधबार

व्यङ्ग्य वर्षा : यसरी गर्न सकिन्छ प्रेम, आउनुहोस्- तरिका सिकाउँछु !

साउन ३१, २०८२
काठमाडौं
व्यङ्ग्य वर्षा : यसरी गर्न सकिन्छ प्रेम, आउनुहोस्- तरिका सिकाउँछु !
  • लक्ष्मीराज दाहाल

जीवनमा प्रेम गर्नु परम् आवश्यक हुन्छ । जसको प्रेमी अथवा प्रेमिका हुन्न उसलाई आजको युगमा नव युवक, युवा युवतीहरूले निम्न कोटीको व्यक्ति ठान्दछन् । त्यसैले जति छिटो हुन्छ जसरी हुन्छ प्रेम गरिहालौं ।

प्रेममा मात्र दुई अक्षर हुन्छन् । कहिलेकाहीँ प्रथम दृष्टिमा नै प्रेम भइहाल्छ । प्रेमको यो संक्षिप्त तर सम्पूर्ण मार्गदर्शिकालाई ध्यानपूर्वक पढेर मनन् गरेपश्चात तपाईं निश्चित रूपले प्रेम गर्न सफल हुन सक्नुहुनेछ, मलाई विश्वास छ । यसमा तपाईँलाई अढाइ मिनेटदेखि अढाइ वर्षसम्मको समय लाग्न सक्छ। प्रेमका विषयमा अनुसन्धान वा खोज गर्दा साधारणतया अढाइ महिनामा सफलता प्राप्त भएको पाइएको छ।

अनुसन्धानद्वारा यो पनि ज्ञात हुन आएको छ कि दुई दिनमा फलित प्रेम दुई हप्ता मै भताभुङ्ग हुन्छ । जुन प्रेमले दुई वर्षमा पनि रङ्ग ल्याउन नसके त्यो प्रेमलाई अमर प्रेमको संज्ञा दिन सकिन्छ। यसका लागि केही शब्द ज्ञानहरू हुन आवश्यक छ। शब्द ज्ञान: प्रथमपटक प्रेम गर्न पूर्वअनुभव वा कुनै पूर्वज्ञानको आवश्यकता पर्दैन तर, तपाईँलाई केही विशेष शब्दहरूको ज्ञान चाहिँ अवश्य हुनुपर्दछ।

यीमध्ये केही शब्दहरू प्रियसी, राम्रो, राम्री, राजा, जानु, रानी, सुन्दर, स्विटी, स्विट हार्ट, ओठ, प्रिय, प्रियतमा, कपाल, चन्द्रमुखी आदि । केही उक्तिहरू पनि याद हुन जरुरी छ जस्तै प्रेम नै पूजा हो, प्रेम कहिले मर्दैन, प्रेम अमर हुन्छ, प्रेम प्रकृति हो। सँगै मरौला सँगै बाँचौला, Love is God.....आदि।

त्यसैगरी केही सदाबहार गीतहरू पनि कण्ठ हुन जरुरी छ। जस्तो :

- किन किन तिम्रो तस्वीर मलाई निको लाग्छ।

- किन बढ्दैछ ढुकढुकी मुटुको.....

- दुईटा फूल देउरालीमा संगै......... जति चोट दिन्छ्यौ देउ मायालु... त्यसैगरी केही पुराना गीतहरू पनि याद हुन जरुरी छ।

यसबाहेक बिछोडका बेला आउने भावना पोख्न केही प्रभावशाली अन्य गीतहरू पनि याद गर्न आवश्यक हुन्छ।

जस्तै : माया गर्नेको चोखो माया पूर्णिमाको रात पनि औँसीको झैँ तिम्रो माया कागजको रङ्गीचङ्गी..... यसबाहेक केही हिन्दी गीतहरू पनि याद हुन जरुरी छ।

जस्तै : तेरा साथ है तो मुझे क्या कमी है..... सागर किनारे दिल ये पुकारे......आदि।

यस्ता गीतहरू गाइसकेपछि तपाईं आफ्नो प्रेमी वा प्रेमिकालाई ३० प्रतिशत पट्याउन सफल हुन सक्नुहुनेछ।

प्रेम कोसँग गर्ने?

प्रेम कोसँग गर्ने यो एउटा अर्को महत्वपूर्ण कुरा हो । तर यसको उत्तर अत्यन्त इजी छ । सबैभन्दा सरल तरिका तल्लाघर माथलाघरकी ठुली, सानी, जेठा, कान्छा कान्छी, साहिला साहिली, पल्लवी, शैशवी, शीलु, रश्मि, माइला माइली, अनिता, सुनिता, सरिता, उषा, निर्मला, शर्मिला, रुषा, अन्जु, मञ्जु, ऋतु, मितु, मधु, रिङकी,  पिङ्की, लता, सन्ध्या, कल्पना, मालिनी, मुद्रिका, रचना, रंजना, रजनी, राधा, शारदा, सिखा, सिला, शुभ, शुभ लक्ष्मी, श्रुति, समिता, समीक्षा, सरला, सुधा, तनुजा, कल्पना, सोनी, रस्मिता, अस्मिता मनिता, मनिला या विजय अजय सुमन प्रदीप सुदिप दीपक राजु गोपाल राम, रवि, मिलन, रविन्द्र, उपेन्द्र, लक्ष्मण, विमल, मनिष, दीप, दीपक, दिपेन्द्र, रमेश, सुनिल, गोपाल, विमल, हरि, रमन, कवि, शेखर, विनोद आदिसँग आँखा जुधाउनु पर्दछ।

आजकल त साथीकी बहिनी दिदी या दाजुभाइसँग प्रेम गर्ने रिवाज नै चलेको छ। स्कुल कलेज पढ्नुहुन्छ भने तपाईंको बेन्चदेखि आमनेसाम्ने अघि पछिका फलाना फलानीसँग आँखाचार गर्न सक्नुहुनेछ ।

विशेष परिस्थितिमा आफ्नो सर वा मिसलाई पनि पट्याउन सकिन्छ। कुनै कार्यालयमा कार्यरत हुनुहुन्छ भने अफिसकै सहकर्मीतर्फ मायाको भिक्षा लिन र दिन सकिन्छ ।

उमेर पुगेको हाकिमले आफ्नी युवा सेक्रेटरीलाई बल्सी फ्याक्न सक्छ किनभने प्रेममा जात, उमेर र रुपको बन्धन हुँदैन । भेटघाट गर्ने स्थान आजसम्म प्रेममा कुनै निर्जन सुनसान पार्कमा भेट गर्न सर्वोत्तम मानिँदै आएको छ। पछि के हुने हो थाहा छैन ।

हरियो घाँसे मैदान होस्, रङ्गीचङ्गी फूल फुलेका हुन्, मौसम इन्द्रेणी धनुष जस्तै रङ्गीचङ्गीहोस्, तर यो कुरा पनि अवश्य याद राख्नुहोस् कि छेउछाउमा कुनै खलनायकको भूमिका खेल्ने जीव नहोस् । अन्यथा प्रेमको त्यो इन्द्रेणी मौसममा काला बादलले छोप्न सक्छन् । निर्जन पार्क छैन भने चिडियाखाना, सिनेमा घरमा पनि भेटघाट गर्न सकिन्छ । अनि मात्र तपाईंले थाहा पाउन सक्नुहुनेछ कि सिनेमा हलको कुनाको सिटको महत्व कतिको हुँदो रहेछ भनेर।

यस्तो अवसरमा कुनै यस्तो फिल्मको चयन गर्नुहोस् जसमा भिडभाड नहोस्, अर्थात् फ्लप फिल्म । केही प्रेमीप्रेमिकाहरू भेटघाटका लागि धार्मिक स्थानको चयन गर्दछन् । यस्ता ठाउँमा फलित प्रेम ज्यादै पवित्र मानिन्छ । त्यसैले होला काठमाडौंमा शनिबारको दिन विभिन्न मन्दिरहरूमा प्रेमीप्रेमिकाका जोडीहरू घुम्ने गरेको पाइन्छ । अथवा प्रेमी प्रेमिकाको खोजीमा मन्दिर पुगेको देख्न पाइन्छ।

 प्रेमको शुरूआतमा मन्दिरमा भेट गर्न लाज लाग्छ भने कुनै क्यान्टिन रेस्टुरेन्टमा पनि भेट गर्न उत्तम ठाउँ हुन्छ। त्यो पनि उचित भएन भने ताल,पोखरी, झरनाखोला आदिको छेउछाउमा भए पनि हुन्छ। जब प्रेम भताभुङ्ग भएर किनारा लाग्न लाग्यो भने उजाड ठाउँ, भत्केको घर, सुकेको रुखमुनिको ठाउँ अति उपयुक्त हुन्छ।

अन्तिम भेटघाटको लागि यदि पकेटमा पैसा छ भने कुनै होटल रेस्टुरेन्टमा पनि भेट गर्न सकिन्छ। यस्तो अवसरमा चिया नास्ता, कोल्डड्रिंक्स वा कफीको कम्बिनेसन उचित हुन्छ। त्यसबेला वेटरलाई टिप दिन चाहिँ नबिर्सिनु होला नि ! यसो गर्दा तपाईंकी प्रेमिका वा प्रेमीमाथि अत्यधिक प्रभाव पर्दछ र प्रेमी वा प्रेमिकाको मुटुमा मायाको छाप राम्ररी बस्दछ । यो थियो भेटघाट गर्ने ठाउँ यति भइसकेपछि तपाईँ आफ्नो प्रेमी वा प्रेमिकालाई ७५ प्रतिशत आफूतिर आकर्षित गर्न सफल हुनुहुनेछ।

प्रेमपत्रको नमुना

प्रेम गर्दा अलिकति रिस्क त उठाउनै पर्छ। सर्वप्रथम तपाईं प्रस्तावित प्रेमी वा प्रेमिकालाई समयावधिमा लुकाछिपी गरेर पटकपटक हेर्नुहोस् वा हेर्न शुरू गर्नुहोस्। यो प्रक्रियालाई दोहोर्‍याउनुस्। अब तपाईं लगातार आफ्नो हुनेवाला प्रेमी वा प्रेमिकालाई हेरिरहन सक्नुहुनेछ। यस प्रक्रियालाई पनि दोहोर्‍याउनुस् । तत्पश्चात तपाईं प्रस्तावित प्रेमी वा प्रेमिकालाई हेरी मधुर मुस्कानको वर्षा शुरू गर्नुस् । उनलाई जहाँ कहीँ भेट्नुहुन्छ सूर्यमुखी फूल जसरी फरक्क फर्की मुसुक्क मुस्कुराउनुहोस् । अनि यस स्टेजमा पुगेपछि मात्र लभ लेटर लेख्ने विषयमा आफ्नो मस्तिष्कमा सोच्न सक्नुहुन्छ ।

नोट: प्रेमी वा प्रेमिकाका लागि उपयोगी दुई नमुना अलगअलग प्रस्तुत गरिएको छ।

प्रथम नमुना

प्रेमीका लागि:

मेरी मायालु

my sweet heart,

अथवा मेरी सपनाकी रानी

जहिलेदेखि तिमीलाई मैले देखे मेरो त रातमा निन्द्रा र दिनमा भोक छैन। चाहिन्छ म हरपल तिम्रो नै सपना देखिरहन्छु।

जहाँ गए पनि तिम्रो नै झझल्को आइरहन्छ । अब त तिमी बिना बाँच्न पनि मुस्किल भइसक्यो । म तिमीलाई धेरै चाहन्छु, धेरै माया गर्छु ।

तिमीबिना मेरो हाल यस्तै भएको छ- जस्तो पानी बिना माछा को हुन्छ। जब तिमी मेरो अगाडि हुन्छौं केही भन्न सक्दिनँ र जब तिमी मेरो आँखाबाट ओझेल हुन्छौं दौडेर तिम्रो नजिक आउन मन लाग्छ। आशा गर्छु तिम्रो र मेरो भेट भइरहनेछ।

मसँग भेट गर्न अवश्य आउने छौं । मेरो दिल दुखाउने छैनौं।

शीघ्र मिलनको अभिलाषी।

उही- तिम्रो मात्र तिम्रो

अर्को नमुना

प्रेमिकाहरूका लागि:

मेरो आँखाको तारा

मेरो प्राणेश्वर

मुटुको ढुकढुकी ।

जहिलेदेखि मैले तपाईँलाई देखेँ, तपाईँलाई नै आफ्नो देवता ठानेकी छु। तपाईंकै चरणमा आफ्नो जीवन समर्पित गर्दै तपाईँलाई नै आफ्नो जीवनसाथी बनाउने ठानेको ठानेकी छु।

तपाईँमा सम्पूर्ण समर्पित गर्न चाहन्छु तर, मलाई लाज लाग्छ, मलाई जीवन र प्रेमको बाटोमा एक्लै नछोड्नु होला।

म जन्म जन्मान्तरसम्म तपाईंकी रहनेछु। मेरो प्रेम ! मेरो प्राण ! मेरो जीवन ! मेरो प्रेम निवेदनलाई अस्वीकृत नगर्नुहोला नत्र ज्यान दिनेछु।

भोलि बेलुकी ५ बजे शिव मन्दिरमा तपाईंको प्रतिक्षा गर्नेछु।

तपाईंकी मात्र तपाईंकी पगली।

salt training

कमेन्ट गर्नुहोस्