
पछिल्लो समय नेपालमा सहकारी क्षेत्रप्रति जनआस्था खस्किरहेको छ । सदस्यको बचत जोखिममा पर्ने र सञ्चालकहरू भाग्ने जस्ता घटनाले सञ्चारमाध्यम भरिँदा समग्र सहकारी अभियान नै बदनाम भइरहेको छ । तर, यही निराशाजनक परिवेशका बीच केही सहकारी संस्थाहरू सदस्यको विश्वास जितेर सफलताको मानक बन्न सफल भइरहेका छन् ।
यसको एक उदाहरणीय संस्था हो, मोरङको पथरीशनिश्चरेमा केन्द्रीय कार्यालय रहेको मनकामना बचत तथा ऋण सहकारी संस्था लिमिटेड । नीति, विधि र प्रविधिको बलियो जगमा उभिएको यो संस्था आज कोशी प्रदेशकै उत्कृष्ट सहकारीको रूपमा सम्मानित भएको छ भने एसियाली स्तरमा समेत आफ्नो गुणस्तर प्रमाणित गर्न सफल भएको छ ।
कुनैबेला बैंकिङ पहुँच शून्यप्राय: रहेको पथरीशनिश्चरे क्षेत्रमा वित्तीय सेवा पुर्याउने उद्देश्यले आजभन्दा करिब २८ वर्षअघि, २०५४ साल माघ १४ गते, मनकामना साकोसको जन्म भएको थियो । १ सय १ जना दूरदर्शि सदस्यहरूले प्रतिव्यक्ति ५ हजार रूपैयाँ संकलन गरी जम्मा ५ लाख ५ हजारको सानो पूँजीबाट शुरू भएको यो अभियान आज ८ हजार ३ सयभन्दा बढी सदस्यको भरोसाको केन्द्र बनेको छ ।
संस्थाका अध्यक्ष युवराज भट्टराईले भने, ‘जतिबेला यहाँका मानिसहरूलाई वित्तीय पहुँच थिएन । स्थानीय अगुवाहरू मिलेर वित्तीय पहुँच बढाउने उद्देश्यले यो सहकारी खोलिएको हो ।’
शुरूआती दिन पक्कै पनि सहज थिएनन् तर, समुदायप्रतिको प्रतिबद्धता र पारदर्शी कार्यशैलीले गर्दा संस्थाले छोटो समयमै सदस्यहरूको विश्वास जित्न सफल भएको छ । त्यही विश्वासको जगमा आज संस्थाको कूल सम्पत्ति (वासलात) ६४ करोड रूपैयाँ नाघेको छ, जसले संस्थाको वित्तीय सबलतालाई स्पष्ट पारेको छ ।
सहकारी क्षेत्रमा देखिएको मुख्य समस्या भनेकै कमजोर सुशासन र अपारदर्शी कारोबार हो । तर, मनकामना साकोसले शुरूदेखि नै यी पक्षमा आफूलाई अब्बल सावित गरेको छ ।
‘हामी नीति, विधि र प्रविधिमा सञ्चालित छौं । हामीसँग संस्था सञ्चालनका लागि विभिन्न २२ वटा नीतिगत कार्यविधि छन् र हामी ऐन–नियमको पूर्ण पालना गर्छौं’ अध्यक्ष भट्टराईले भने ।

यही बलियो नीतिगत धरातलका कारण संस्थाले आजसम्म कुनै पनि किसिमको आरोप खेप्नुपरेको छैन । संस्थाको आफ्नै वेबसाइट छ, जहाँ वार्षिक प्रतिवेदनलगायत महत्त्वपूर्ण जानकारी सार्वजनिक गरिएको छ । यसबाहेक, संस्थाले प्रविधिलाई आत्मसात गर्दै सदस्यहरूलाई आधुनिक बैंकिङ अनुभव प्रदान गरेको छ । आफ्नै मोबाइल बैंकिङ एप र ई–बैंकिङजस्ता सेवाले सदस्यहरूलाई जुनसुकै समय र स्थानबाट कारोबार गर्न सहज बनाएको छ ।
मनकामना साकोसको उत्कृष्टता संस्थाको आफ्नो दाबीमा मात्र सीमित छैन, यसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत प्रमाणित गरिसकेको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन)ले संस्थालाई कोशी प्रदेशको उत्कृष्ट सहकारीका रूपमा सम्मान गरिसकेको छ ।
त्यस्तै, एसियाली ऋण महासंघ (एसीसीयू)ले सञ्चालन गर्ने गुणस्तर प्रमाणीकरण कार्यक्रम ‘एक्सेस’ (ACCESS) मा सहभागी भई संस्थाले ‘सिल्भर ब्राण्ड’ प्राप्त गरेको छ । एसियाली स्तरका ८६ वटा सूचक पूरा गरेपछि मात्र प्राप्त हुने यो सम्मानले मनकामना साकोसको सञ्चालन पद्धति र सुशासन अन्तर्राष्ट्रिय स्तरको रहेको पुष्टि समेत गरेको भट्टराई बताउँछन् ।
संस्थाले मोरङका पथरीशनिश्चरे, उर्लाबारी, लेटाङ नगरपालिका तथा मिक्लाजुङ र कानेपोखरी गाउँपालिकामा आफ्नो सेवा विस्तार गरेको छ । जाँते र शनिश्चरेमा सेवा केन्द्र स्थापना गरी ग्रामीण भेगका सदस्यहरूलाई समेत वित्तीय पहुँचको दायरामा ल्याएको छ ।
संस्थाले ऋण प्रवाह गरी सदस्यहरूलाई उद्यमी बनाउन पनि महत्त्वपूर्ण भूमिका खेलेको छ । सहकारीबाटै ऋण लिएर सफल उद्यमी बनेका थुप्रै उदाहरण रहेको संस्थाका अध्यक्ष भट्टराई बताउँछन् ।
सहकारी डुब्नुको मुख्य कारण सञ्चालकहरूको बदमासी र नियामक निकायको कमजोर अनुगमन हो भन्ने भाष्य बनिरहेको बेला मनकामना साकोसले एउटा सकारात्मक उदाहरण प्रस्तुत गरेको छ ।
सुशासन, पारदर्शिता, प्रविधिको सही प्रयोग र सदस्यप्रतिको जवाफदेहिता नै सफलताको एक मात्र बाटो हो भन्ने कुरा यसले प्रमाणित गरिदिएको छ । संस्थाका अध्यक्ष भट्टराई सहकारी क्षेत्रलाई सुधार्न राज्य दरो हुनुपर्ने बताउँछन् ।
‘नियमन र अनुगमन प्रभावकारी हुनुपर्छ र राम्रो काम गर्नेलाई पुरस्कार तथा नराम्रो गर्नेलाई दण्डको व्यवस्था हुनुपर्छ’, उनले भने । मनकामना साकोसको यो सफल यात्रा नेपालका अन्य सहकारीका लागि मात्र नभई नियामक निकायका लागि समेत एक महत्त्वपूर्ण पाठ बन्न सक्छ ।