०७ साउन २०८३, बिहीबार

अगष्टको पलेँटीमा सङ्गीतकार रामकृष्ण दुवाल

भदौ ४, २०८२
काठमाडौं
अगष्टको पलेँटीमा सङ्गीतकार रामकृष्ण दुवाल

अंग्रेजी महिनाको अन्तिम शुक्रबार नेपालयको ‘आर’शालामा आयोजना हुँदै आएको साङ्गीतिक कार्यक्रम- पलेँटीमा यस पटक पाको पुस्ताका सङ्गीतकार रामकृष्ण दुवाल प्रस्तुत हुने भएका छन् । 

अगष्ट महिनाको अन्तिम शुक्रबार (२९ तारिख) आयोजना हुने पलेँटीमा उनलाई नयाँ पुस्ताका गायकद्वय अभिज्ञा घिमिरे र वेनुप क्षेत्रीले साथ दिनेछन् ।

रामकृष्ण दुवाल लामो समयदेखि नेपालभाषाका परम्परागत संस्कृतिको अध्ययन अनुसन्धानमा लागिपरेका कलाकर्मी हुन् । साथै, दुवालले नेपालीभाषाका गीत-सङ्गीतमा गरेको योगदान पनि उत्तिकै प्रभावकारी छन् ।

कीर्तिपुरका रैथाने रामकृष्ण दुवालले नेपालको राजनीतिक र सामाजिक परिवर्तनका निम्ति पनि गहकिलो योगदान पुर्‍याएका छन् । कवि गोपालप्रसाद रिमालको शब्द सृजना ‘एक जुगमा एकदिन एकचोटी आउँछ’लाई दुवालले नै धुन भरेका हुन् । यो गीतले नेपालको राजनीतिक आन्दोलनमा २०३६ सालदेखि यता अनवरत स्थान पाउँदै आएको छ ।

त्यस्तै, नेपालभाषाको ‘सिर्सा या हेकू’ गीतलाई रामकृष्ण दुवालले संकलन र परिमार्जन गरेका हुन् । यो गीतले नेवारसमुदायको मात्र नभएर नेपालका अन्य समुदायको पनि मन जित्दै आएकोछ । झण्डै चार दशक पहिले प्रसारणमा आएको यस गीतमा अनेकौं विद्यालयहरूमा नृत्य प्रस्तुत भएका छन् ।

यसपालिको कार्यक्रम नेपालभाषा र नेपालीभाषाको साङ्गीतिक सङ्गम हुने कुरा पलेँटी संयोजन गर्दै आएका सङ्गीतकार आभासले जानकारी गराएका छन् । आभास भन्छन्- ‘दुवाल दाइ काठमाडौं उपत्यकाको साङ्गीतिक सभ्यताका जिउँदा सम्पदा हुन् । यिनको प्रतिभालाई पलेँटीमा समेट्न पाउँदा औधी खुशी लागेको छ ।’

अगष्ट-पलेँटीमा नेपालभाषाका केही ऐतिहासिक रचनाहरू पनि सुन्न पाइनेछ । जसमा रणजित मल्लले काठमाडौं उपत्यका छोड्दा रचेको एउटा गीत पनि समावेश छ । 

सो गीत आफू काशी निर्वासनमा जानु पहिले रणजितले चन्द्रागिरीबाट उपत्यका हेर्दै रचेको किंवदन्ती छ । यस गीतमा रणजित मल्लले आफ्नो मातृभूमि छोड्नुपर्दाको पीडालाई समेटेका छन् । पलेँटी सञ्चालकले नेपालभाषा नबुझ्नेका निम्ति यस्ता ऐतिहासिक रचनालाई नेपालीभाषामा पनि भावानुवाद गरिने कुरा जानकारी गराएका छन् ।

संयोजकका अनुसार यसपालीको पलेँटीमा केही बालगीतहरू पनि समेटिने छन् । रामकृष्ण दुवालसँग लामो समय विभिन्न विद्यालयहरूमा सङ्गीत र नृत्य सिकाएको अनुभव पनि छ । 

दुवालले बालबालिकाका निम्ति आफैंले रचेका गीतका साथै कवि दुर्गालाल श्रेष्ठका शब्दहरूमा पनि धुन भरेका छन् । यसका साथै सङ्गीतकार दुवालले छन्दकवितामा पनि धुन भरेका छन् । पलेँटीका निम्ति उनले पञ्चचामर र मन्दाक्रान्ता छन्द छनोट गरेका छन् ।

धमाधम पलेँटीको तयारीमा रहेका सङ्गीतकार रामकृष्ण दुवाल निक्कै उत्साहित देखिन्छन् । आउँदो आफ्नो पलेँटीबारे दुवाल भन्छन्- ‘मैले जीवनमा अनेक मञ्चमा गाएँ, नाँचे तर यसपालिको पलेँटी मेरा निम्ति महत्त्वपूर्ण मञ्च हुनेछ । जसमा मलाई नयाँ पुस्ताका सङ्गीतकर्मीहरूले पनि साथ दिनेछन् । मेरो यो आनन्दको क्षणमा दर्शक, श्रोताहरूको माया र साथ पाउने विश्वास लिएको छु ।’

पलेँटी कार्यक्रम आजभन्दा २० वर्ष पहिले शुरू भएको साङ्गीतिक कार्यक्रम हो । पलेँटी कार्यक्रम यही अगष्ट महिनाको अन्तिम शुक्रबार; २९ तारिखका दिन आयोजना हुनेछ । कालिकास्थानस्थित नेपालयको ‘आर’शालामा हुने यस कार्यक्रमको टिकट www.paleti.com.np अनलाइनबाट नै प्राप्त गर्न सकिने नेपालयले जनाएको ।         

कमेन्ट गर्नुहोस्