
झण्डै सात हजार सरकारी कर्मचारीले पटक-पटक गरी असाधारण बिदा उपयोग गरेको पाइएको छ । निजामती किताबखानाको अभिलेखअनुसार निजामती, स्वास्थ्य र संसद् सेवाका ६ हजार ९३४ सरकारी कर्मचारीले हालसम्म पटक-पटक गरी १ देखि ५ वर्षसम्म असाधारण बिदा लिएको पाइएको हो ।
जसमध्ये १ हजार ५६० जना कर्मचारीले असाधारण बिदा, ५ जनाले तलबी असाधारण बिदा, ३ हजार ९१८ जनाले तलबी अध्ययन बिदा, १ हजार ४४२ जनाले बेतलबी अध्ययन बिदा र ९ जनाले बेतलबी बिदा लिएका छन् ।
निजामती सेवालाई उपयोगी र आवश्यक पर्ने विषयमा सरकारलाई प्राप्त भएको वैदेशिक छात्रवृत्तिमा सम्बन्धित मन्त्रालयको स्वीकृति लिई खुला प्रतियोगिता वा अन्तर विभागीय प्रतियोगिताबाट कर्मचारीलाई सेवा अवधिभरमा एकैपटक वा पटक-पटक गरी ३ वर्षसम्म अध्ययन बिदा दिने गरिन्छ । तर, सरकारले आवश्यक ठानेको अवस्थामा अध्ययन बिदाको अवधिमा २ वर्ष थप पाउन सक्ने प्रावधान छ । त्यसरी बिदामा बस्ने कर्मचारीले तलब पनि पाउँछ ।
त्यसैगरी, सेवा समूहलाई उपयोगी र आवश्यक पर्ने विषयमा सरकारको पूर्वस्वीकृति लिई निजी प्रयासमा स्वदेश तथा विदेशमा अध्ययन गर्न कर्मचारीले बेतलबी अध्ययन बिदासमेत पाउने गरेका छन् ।
त्यसैगरी, एक पटकमा १ वर्षमा नबढाई सेवा अवधिभरमा ३ वर्ष असाधारण बिदा कर्मचारीले पाउने प्रावधान छ । तर, त्यसरी असाधारण बिदामा बस्दा कर्मचारीले तलब भने पाउँदैनन् । अन्य नियमित बिदाले नपुग्ने अवस्थामा कर्मचारीले असाधारण बिदा लिने गर्छन् । कतिपय अवस्थामा निजी प्रयासमा अध्ययन गर्न चाहनेले बढीमा ३ वर्षसम्म असाधारण बिदा पाउने गर्छन् ।
त्यसैगरी, पति वा पत्नी विदेशस्थित नेपाली राजदूतावास वा कुनै नियोगमा खटिएको अवस्थामा पटक-पटक गरी बढीमा ५ वर्षसम्म बेतलबी बिदा पाउने प्रावधान छ । तर, उक्त बेतलबी बिदा भने सेवा अवधिमा गणना हुँदैन ।
कर्मचारीहरूले पटक-पटक गरी असाधारण र तलबी तथा बेतलबी अध्ययन बिदा लिएर बिदाको दुरुपयोग गरेको गुनासो आएपछि किताबखानाले कर्मचारीहरूको बिदासम्बन्धी अभिलेख शुद्धीकरण अभियान थालेको छ । शुद्धीकरणको काम गर्ने जिम्मेवारी पाएका निजामती किताबखानाका शाखा अधिकृत कमल भुसालका अनुसार साउन १ गतेदेखि अभिलेख शुद्धीकरणको काम थालिएको हो ।
अहिलेसम्म किताबखानाको अभिलेखमा तलबी असाधारण बिदा १७ जना कर्मचारीले लिएको उल्लेख भएकोमा संशोधन गरेर ५ जना मात्र कायम गरिएको छ ।
त्यसैगरी, ११ जना कर्मचारीले बेतलबी बिदा लिएको अभिलेखमा उल्लेख भएकोमा संशोधन गरेर ९ जना कायम गरिएको भुसालले बताए । ‘अहिलेसम्म तलबी असाधारण बिदा र बेतलबी बिदाको विषयमा पुरानो अभिलेख र अहिले बिदासम्बन्धी सक्कल फाइल झिकेर हेर्दा किताबखानाबाट मिस्टेक भएको पाइएपछि त्यसलाई संशोधन गरेर शुद्धीकरण गरेका छौं,’ भुसालले लोकान्तरसँग भने, ‘अब असाधारण बिदा, तलबी अध्ययन बिदा र बेतलबी अध्ययन बिदाको पनि क्रमशः सबैको शुद्धीकरण गर्छौं ।’
एक जना कर्मचारी अस्मिता काफ्लेको बिदासम्बन्धी किताबखानाको पहिलेको अभिलेखमा बेतलबी बिदा उल्लेख थियो तर, फाइल झिकाएर हेर्दा उनको बेतलबीबाट प्रसूति बिदा कायम गरिएको उनले बताए ।
त्यसैगरी अर्का एक कर्मचारी अमर कृष्ण बासीको पहिलेको अभिलेखमा बेतलबी बिदा जनिएकोमा फाइल झिकाएर हेर्दा बेतलबी अध्ययन बिदा कायम गरिएको उनले बताए ।
त्यसैगरी, विभागको पीआईएस सिस्टमअनुसार १७ जना कर्मचारीले लिएका तलबी असाधारण बिदाको विषयमा ती कर्मचारीहरूको भौतिक फाइल अभिलेखअनुसार परीक्षण गर्दा १२ जनाको तलबी असाधारण बिदा गलत इन्ट्री भएको पाइएको उनले बताए ।
संशोधन गरिए बमोजिम रोशनकुमार जोशी (कर्मचारी संकेत नम्बर २१३७९१), सरिता पहारी (कर्मचारी संकेत नम्बर १९५३०९), समित्रा थापा (कर्मचारी संकेत नम्बर २३०३१०), सरस्वती श्रेष्ठ (कर्मचारी संकेत नम्बर २२२११९), दयाराम पौडेल (कर्मचारी संकेत नम्बर २०२३२०), सुष्मिता लिम्बू (कर्मचारी संकेत नम्बर २१००१६ ), रंजना थापा (कर्मचारी संकेत नम्बर २२०६२१) को असाधारण बिदा नभएर तलबी अध्ययन बिदा रहेको पाइएको हो ।
त्यसैगरी, निर्मलाकुमारी पाण्डे (कर्मचारी संकेत नम्बर१८४०००), नरेश शर्मा (कर्मचारी संकेत नम्बर १४६२०१), मेघनाथ सापकोटा (कर्मचारी संकेत नम्बर११७०११), हरिप्रसाद पौडेल (कर्मचारी संकेत नम्बर १४३०७७), चित्र बहादुर सुनार (कर्मचारी संकेत नम्बर १७७९९३ )को पनि संशोधन गरेर असाधारण बिदा कायम गरिएको उनले बताए ।
अब तबली असाधारण बिदा, तलबी अध्ययन बिदा र बेतलबी अध्ययन बिदाको विषयमा अहिले कति जना कर्मचारीहरू छन् र बिदाको अवधि सकिए पनि कार्यालयमा उपस्थित नभएको विषयमा सबै विवरण पठाउन सबै मन्त्रालयलाई पत्राचार गर्ने तयारी भएको भुसालले बताए ।
‘अध्ययन बिदामा गएका तथा असाधारण बिदा लिए पनि समयावधि सकिएपश्चात पनि कर्मचारीहरू हाजिर नभएको भन्ने व्यापक गुनासो आएकोले सबै मन्त्रालयलाई त्यसबारे विवरण पठाउन किताबखानाबाट पत्राचार गर्ने तयारी भएको छ,’ उनले थपे, ‘किताबखानाको अभिलेख हेर्दा सबैभन्दा बढी अध्ययन बिदा तथा असाधारण बिदा लिनेमा कृषि तथा पशुपन्छी विकास मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र इन्जिनियरिङ तर्फका कर्मचारीहरू छन् ।’
कतिपय कर्मचारीहरू बिदा लिएर अध्ययन गर्न विदेश गए पनि नफर्किएको, विदेश जानकै लागि असाधारण बिदा लिएको भए पनि त्यसबारे अहिले विस्तृत छानबिन हुन बाँकी रहेको उनले बताए ।
‘अब सबै मन्त्रालयले बिदा लिएका कर्मचारीहरू बिदा अवधि सकिएपछि कार्यालयमा हाजिर भए वा भएनन् भन्ने विस्तृत विवरण पठाएपछि त्यसको यकिन तथ्यांक आउँछ,’ भुसालले लोकान्तरसँग भने, ‘झन्डै १५ प्रतिशत कर्मचारीहरू बिदाको अवधि सकिए पनि कार्यालयमा हाजिर नभएको अनुमान छ ।’