२३ जेठ २०८३, शनिबार

गोविन्दा र सुनिताको विवाह सम्बन्ध टुट्न लागेको हो ?

भदौ ८, २०८२
काठमाडौं
गोविन्दा र सुनिताको विवाह सम्बन्ध टुट्न लागेको हो ?

भारतीय अभिनेता गोविन्दा र सुनिता आहुजाको विवाह भएको ३८ वर्ष भइसकेको छ । तर, फेरि पनि उनीहरूको सम्बन्धमा मनमुटाव भएको चर्चा व्यापक रूपमा फैलिएको छ । 

भारतीय सञ्चारमाध्यमका अनुसार सुनिता आहूजाले पति गोविन्दासँग सम्बन्ध विच्छेद गर्ने निर्णय गरिसकेकी छन् र उनले मुम्बईको फ्यामिली कोर्टमा मुद्दा समेत दर्ता गरेकी छन् ।

सुनिताले गोविन्दाविरुद्ध गम्भीर आरोप लगाएकी छन् । तर, गोविन्दाका म्यानेजर शशि सिन्हाले भने यी सबै खबरलाई गलत र अफवाह भन्दै खण्डन गरेका छन् । उनका अनुसार, गोविन्दा र सुनिताको सम्बन्ध विच्छेद हुने कुरा नै छैन ।

गोविन्दाका म्यानेजरले के भने ?

हिन्दुस्तान टाइम्ससँगको कुराकानीमा म्यानेजर शशि सिन्हाले भने, ‘हरेक जोडीबीच स–साना मनमुटाव भइरहन्छन् । यी सबै पुराना कुरा हुन्। तर अहिले केहीले यी घटनामा मिर्च–मसला हालेर आफ्ना फाइदाका लागि प्रयोग गर्ने प्रयास गरिरहेका छन् ।’

मिडिया रिपोर्टअनुसार, सुनिताले गोविन्दामाथि अफेयर, अत्याचार र आफूलाई एक्लै छाडिदिएको आरोप लगाएकी छन् । यसबारे प्रश्न सोधिँदा शशि भन्छन्, ‘गोविन्दा जस्तो व्यक्तिले कसैलाई हात उठाउन सक्दैनन्, चिच्याउन सक्दैनन् भने अत्याचार गर्ने भन्ने आरोप कहाँबाट आयो ? मैले उहाँसँग नजिकबाट काम गरेको छु । उहाँ त्यस्तो व्यक्तित्व हैन, जस्तो अहिले इमेज बनाउन खोजिएको छ । यी सबै मुद्दा त विगतका कुरा हुन्, जसमा दुवै पति–पत्नी सँगै काम गरेका थिए ।’

शशि थप्छन्, ‘गोविन्दा अदालतमा पेस भएका छैनन्, सुनिता पनि अदालत गएकी छैनन् । कुन जोडीमा समस्या हुँदैन ? सुनिता, गोविन्दालाई धेरै माया गर्छिन् र दुवै अहिले पनि सँगै छन् । कुनै डिभोर्स हुने कुरा नै छैन । उनीहरू नकारात्मकतामा ध्यान नदिई आफ्ना छोराछोरीको करिअर र विवाहमा केन्द्रित छन् ।’

गोविन्दाको इमेज बिगार्ने प्रयास?

शशिले यो सबै गोविन्दाको इमेज बिगार्ने प्रपञ्च भएको बताएका छन् । ठूलाठूला धारा लगाएर, स–साना कुरालाई ठूलो बनाएर देखाउँदा चलिरहेको एउटा सम्बन्ध बिगार्ने काम भइरहेको उनको भनाइ छ । 

‘भ्युजको लोभमा के कसैको जीवन बर्बाद गर्न पाइन्छ ? के कसैले यति वर्षमा गोविन्दालाई सुनिताबारे नराम्रो बोल्न सुनेको छ ? यद्यपि, सुनिताले केही इन्टरभ्यूमा अलिकति गोविन्दाविरुद्ध बोलेकी थिइन् तर त्यो सामान्य हो । अहिले गणेश चतुर्थी आउँदैछ, तपाईंले सबैलाई सँगै देख्नुहुनेछ ।’

गोविन्दा र सुनिताको तलाकको हल्ला पहिलो पटक फेब्रुअरी २०२५ मा आएको थियो । फरक जीवनशैली र निरन्तरको झगडाका कारण दुवैले अलग हुने निर्णय गरेका त्यो बेलाको मिडिया रिपोर्टमा उल्लेख थियो । त्यतिबेला गोविन्दा एक ३० वर्षीया अभिनेत्रीसँग नजिकिँदै गएको दाबी पनि गरिएको थियो, जसका कारण विवाहमा दरार आएको भनियो ।
 

salt training

कमेन्ट गर्नुहोस्