२८ जेठ २०८३, बिहीबार
आलेख

नेपालको राजनीति– एक सुदखोर व्यापार !

भदौ ८, २०८२
काठमाडौं
नेपालको राजनीति– एक सुदखोर व्यापार !

अमेरिकी स्वतन्त्रता संग्रामका महानायक, सेनापति एवं प्रथम संस्थापक राष्ट्रपति जर्ज वासिङ्टनको एउटै आदर्श वाक्य थियो, 'शब्द होइन, काम' । यसको अर्थ हाम्रो सन्दर्भमा 'कुरा होइन, काम' हुन सक्छ ।

अमेरिकीहरू उनलाई ईश्वरको प्रतिनिधिको रूपमा स्वीकार गर्छन् र असाध्यै आदर गर्छन् । सम्भवतः जर्जको उदय वा यश धर्तीमा आगमन नभएको भए अमेरिकी स्वतन्त्रता संग्राम अस्तित्वमा नआउन पनि सक्थ्यो र विश्व मानचित्रमा वर्तमान अमेरिकाको शिखर व्यक्तित्व, उचाइ र सर्वाधिक प्रतिष्ठा कायम नहुन पनि सक्थ्यो ।

जर्ज संसारमा आए र अमेरिका बनाए । मानव सभ्यताको विकासक्रममा यस्तै महामानव, तपस्वी, ऋषि, वैज्ञानिक, समाज सुधारक र क्रान्तिकारी नायकहरूको योगदान एवं विशिष्ट स्थान छ ।

यस्ता महान् व्यक्तित्वहरूलाई उनीहरूले प्राप्त गरेको ओहदाले होइन, काम, ज्ञान, योगदान र बलिदानले चिनिन्छ । मानव सभ्यताको विकासक्रममा संसारभरि नै यस्ता महामानवहरूले अतुलनीय योगदान पुर्‍याएका छन् । यसमा जर्जको स्थान निकै माथि छ ।

हामीलाई थाहा छ, प्रकृतिको नियम अकाट्य छ, जसलाई बदल्नु वा बदल्न खोज्नु जायज हुँदैन । समाज वा मानिसले बनाएको नियम वा विधान भने समयसापेक्ष र परिवर्तनशील हुन्छ । राष्ट्रिय, सामाजिक वा मानवीय आवश्यकता मुताविक आफू चल्ने नियम आफैं बनाउने प्रचलन राज्यको उत्पत्तिको आधार वा जग नै हो । यसलाई राजकीय र सामाजिक आवश्यकताले समय-समयमा फेरबदल गरिन्छ । यसमा हामी नेपाली भने अपवाद छौं ।

प्रकृतिको नियम बदल्न सके त महान् नै हुन्थ्यौं होला, शायद । तर हामी आफूले बनाएका नीति र नियम बारम्बार उल्लंघन गर्छौं, कुल्चिन्छौं र मनपरि गर्छौं । यस्तो परिपाटी र बेथिति राजनीतिक दलमा मात्र होइन, समग्र राष्ट्र नै व्याप्त छ । समग्र देश र नेपाली जनता यसको शिकार भएका छन् । तर, हामी आफूलाई कुनै लज्जाबोध र पश्चाताप छैन ।

यतिबेला नेपाली राजनीति केही धूर्त र चलाख राजनीतिज्ञहरूले राजनीतिक दलको प्रतिष्ठा र अग्रजहरूको कुर्बानी भजाएर आफ्नो स्वार्थ पूरा गर्ने अनुशासनहीन खेल र मर्यादाहीन क्षेत्र भएको छ ।

जर्ज वासिंगटनको आदर्श वाक्य उल्टिएर 'काम होइन, कुरा' मा परिणत भएको छ । न कुनै भरोसायोग्य व्यक्तित्व देखिन्छन्, न त इमान–जमान भएका राजनीतिक साधक । नेपाल एउटा भौगोलिक राष्ट्र त बन्यो, तर आजसम्म विकसित, सुखी र सम्पन्न देश बन्न सकेन । संसारमा नेपालले अविकसित, भ्रष्ट र पछौटे राष्ट्रको पगरी गुथेको छ र असाध्यै नकारात्मक छवि बनाएको छ ।

अलि अघि कतै पढेजस्तो लाग्छ, निकै मननयोग्य विचार लाग्यो । यस्तो प्रसङ्गले हाम्रो समाजलाई सधैं सचेत र प्रेरित गर्छ । प्रसङ्ग अनुसार, गाडीको पछाडि सिटमा बस्ने व्यक्तिसँग झ्यालबाट चारैतिर हेर्ने, फोन चलाउने, लेख्ने, छेउमा बसेको साथीसँग कुरा गर्ने, आफूसँग भएको खानेकुरा खाने, निदाउने सुविधा समेत हुन्छ । तर, चालकसँग यस्तो कुनै सुविधा हुँदैन । उसको एउटै दायित्व गाडी र यात्रीहरूलाई सुरक्षित रूपमा गन्तव्यमा पुर्‍याउनु मात्र हुन्छ । उसले दायाँबायाँ गर्न थाल्यो भने गाडी मात्र होइन, ऊ र समस्त यात्रीको ज्यान जानसक्छ ।

यो विषय राजनीतिसँग पनि ठ्याक्कै जोडिन्छ । देशको नेता गाडी चालकजस्तै हो, जोसँग देश र जनताको भविष्य जोडिएको हुन्छ । उसँग आफ्नो जिम्मेवारी बाहेकका अतिरिक्त क्रियाकलाप गर्ने फुर्सद वा सुविधा हुँदैन । पछाडिको सिटमा बसेको यात्रीजस्तो उसले अनेक सुविधा उपयोग गर्न पाउँदैन । तर, जनतासँग यस्ता सुविधा प्रशस्तै हुन्छन् ।

नेपालको राजनीतिमा देखिएको मूल समस्या वा खराबी यही हो । नेपालका सबैजसो नेता 'ड्राइभिङ सिट' मा बसेर यात्रीको सुविधा उपभोग गरिरहेका छन्, जसले गाडी र यात्रीको भविष्यमाथि ठूलो खतरा उत्पन्न भएको छ । र, देशको गन्तव्य अलमलमा परेको छ । जनतामा मनोवैज्ञानिक त्रास व्याप्त छ । ड्राइभिङ सिटमा बस्न पाउनु भनेको देश र समाजका लागि इमान्दारीपूर्वक काम गर्ने अवसर नभएर आफूलाई मनपरि गर्ने छुट हो भन्ने बुझाइ अधिकांश नेतामा देखिन्छ, जसका कारण हाम्रा सामु अनगिन्ति समस्या, सङ्कट र दु:खका पहाड उभिएका छन् । यसको कारण हामी आफैं हौं भन्ने होश राजनीतिक नेतृत्वमा अझैसम्म देखिँदैन । यो क्रम–उपक्रम निरन्तर कायम छ । र, यसले पाइलैपिच्छे जोखिम बढाइरहेको छ । साथै, देशलाई अँध्यारो सुरुङतर्फ अग्रसर गराइरहेको छ ।

राजनीतिक दल आफैंमा मूर्त, जीवन्त वा साकार वस्तु होइन । साँच्चै भन्ने हो भने यो कागजी बाघ मात्र हो । राजनीतिक दललाई वास्तविक बाघ जस्तै जीवन्त र प्रभावकारी (हिंस्रकचाहिँ होइन) बनाउने दलका सदस्यहरूले हो । यसको प्राण भनेकै दलका सचेत, होनहार र गतिशील सदस्य हुन् । दलका सदस्यहरूको आनीबानी र व्यवहारले दलको छवि, पहिचान एवं व्यक्तित्व निर्माण हुने हो । एक प्रकारले खास उद्देश्य र लक्ष्यप्रति प्रतिबद्ध केही मानिसहरूको संगठित समूह वा जत्था भनेकै राजनीतिक दल हो । यसलाई संस्थागत प्रणालीमा ढालिन्छ र निर्धारण गरिएका उद्देश्य अनुरूप चलाइन्छ । यसका आदर्श र लक्ष्य महान् र पवित्र हुन्छन् । निश्चित प्रणालीबाट विधिपूर्वक दल सञ्चालन गरिन्छ । नीति निर्माण, कार्यक्रम र आवधिक उपलब्धि दलका नियमित कर्म एवं प्रतिफल हुन् ।

यी सबै विषयको केन्द्रमा नेतृत्व उभिएको हुन्छ, जसका प्रति विश्वास र पूर्णभरोसाका साथ सिंगो दल उभिन्छ, अर्थात् यसका सदस्यहरू रहन्छन् । यसको अभाव वा कमजोरीले दलको विश्वसनीयता, पहिचान र भविष्यमा गम्भीर संकट पैदा हुन्छ । यसको उदाहरण नेपाल हो र मूलतः हामी आफैं हौं । नेपाली राजनीतिको समकालीन नेतृत्व यस यथार्थलाई आत्मसात गर्न बिल्कुलै तयार छैन । आफूचाहिँ बाघ बन्ने र दललाई भने थपना मात्र बनाउने कसरतमा छ ।

हाम्रो नालायकी, अयोग्यता र अकर्मण्यताले प्रणालीकै विश्वसनीयता कमजोर हुँदै गएको छ । तसर्थ, प्रणालीको प्रतिष्ठा र साखलाई पुन:स्थापित गर्न हाम्रो सकारात्मक प्रयास हुनुपर्छ । र, यो यथास्थितिमा रमाइरहेका पात्रहरूबाट सम्भव छैन । तसर्थ, राजनीतिलाई देश र जनताको हितकारी माध्यम बनाउन चाहने देशभक्त र प्रजातन्त्रवादी नागरिकले सोच्ने बेला आएको छ ।

राजनीतिक दलभित्र आफ्ना दासहरूलाई भर्ती गरेर दलको वास्तविक पहिचानलाई नामेट पार्ने प्रपञ्चमा नेतृत्व तल्लीन छ । आफू शक्तिशाली बन्ने तर सिंगो संस्था वा दललाई कमजोर बनाउने कार्यमा दत्तचित्त छ । संस्थालाई कमजोर बनाएर सदस्यहरूलाई निरीह बनाएपछि दलको नाममा मनपरि गर्न पाइन्छ भन्ने मनोविज्ञान नेतृत्वमा विद्यमान रहेको पाइन्छ । त्यसैले दलका क्षमतावान र विवेकशील सदस्यहरूलाई पाखा लगाएर विवेकहीन बन्दना समूह खडा गरी त्यसैको रजगज चलाउने क्रम निरन्तर छ । दलहरूभित्रको आजको वास्तविकता यही हो । तर, नेतृत्वले यस सत्यलाई कहिल्यै स्वीकार गर्दैन ।

जर्ज वासिंगटनका सन्दर्भमा एउटा विश्वविख्यात प्रसङ्ग छ । केटाकेटी छँदा उनलाई पिताले एउटा बञ्चरो दिएका रहेछन् । एकदिन खेल्दै जाँदा जर्जले बगैंचामा रहेको ठूलो स्याउको बोट छपाछप काटेछन् । त्यो कुरा देखेर रिसाएका पिताका अगाडि डराउँदै–डराउँदै पुगेका उनले त्यो रूख आफूले काटेको स्वीकार गरेछन् । पिताले उनको त्यस गल्ती वा उपद्रवबापत दण्डित गर्नुपर्नेमा स्याबासी दिएछन् । त्यति सानो उमेरमा आफ्नो गल्ती स्वीकार गर्नु र सत्य बोल्नु साँच्चै महान कार्य थियो । त्यसले उनको विशिष्ट गुणलाई झल्काउँथ्यो । उनमा विद्यमान यस्ता विशेष गुणहरूका कारण नै अमेरिकी स्वतन्त्रता संग्रामले उनलाई महानायक स्वीकार गरेको हुनुपर्छ ।

नेपालका राजनीतिज्ञहरू आफ्नो कमजोरी कहिल्यै स्वीकार गर्दैनन् र सत्य बोल्ने बानी त छँदै छैन । महिनाभरिका व्यवहार र अभिव्यक्तिहरू सुन्दा एकरूपता पाइँदैन । समय र ठाउँ अनुसार बोली फेर्दै हिँड्नु समकालीन राजनीतिज्ञहरूको आधारभूत चरित्र र विशेषता दुवै हो । अर्थात्, नेपाली राजनीतिमा यतिबेला जसले जे गरे पनि हुन्छ भन्ने भाष्य स्थापित भएको छ । राज्यको जिम्मेवारीमा बसेर मनपरि गर्नेहरूको राज कायम छ । यसलाई रोक्ने वा सुधार्ने कसले, कहिले र कसरी? नेपाली राजनीतिको मूल प्रश्न यही हो ।

नयाँ सिक्काले खोटो सिक्कालाई सधैं विस्थापित गर्छ । यो स्थापित मान्यता हो । पुरानो पात झरेर नयाँ पात पलाउने प्राकृतिक नियम नै हो । वृद्धको ठाउँ युवाले लिनु वा पाउनु स्वाभाविक नै छ ।

यो चक्रलाई कसैले पनि रोक्न सक्दैन । तर, नेपाली राजनीतिले यस सत्यलाई पछ्याउन र आत्मसात गर्न सकेन । लामो समय काम गरेका र समकालीन राजनीतिले पत्याउन छाडेका पात्रहरू नै वर्तमान राजनीतिको केन्द्रीय भूमिकामा छन् । अझ ड्राइभिङ सिटमा बसेर जथाभावी गरिरहेका छन् । जनभावना र राष्ट्रिय आवश्यकताप्रति संवेदनहीन र बेखबर यस्ता पात्रहरूका कारण नेपाली समाजले खेप्नुसम्म सास्ती खेपिरहेको छ । हुन त उमेर र पुस्ता प्राविधिक कुरा मात्र हो, जसले राम्रो गर्नसक्छ भन्ने लाग्छ, जनताले उसैलाई समर्थन गर्छन् । नेपालका राजनीतिक दलभित्र बारम्बार परीक्षणबाट गुज्रेका अनगिन्ती नालायक र असान्दर्भिक पात्रहरूको बिगबिगी छ, जसले अहिलेका चुनौतीहरूसँग जुध्न सक्दैनन् । न त जनभावना बुझेर तदनुकूल योजना बनाउन र कार्य गर्न सक्छन् ।

केही दिनअघि गरिएको भकुण्डेबेसी, बेल्टार र खनारको आकस्मिक भ्रमण, अन्तरक्रिया र मत सर्वेक्षणले के सन्देश दिन्छ भने समकालीन राजनीतिबाट जनता वाक्क–दिक्क र निराश छन् । यसका बहुआयामिक कारणहरू छन् । पहिलो कुरा त अहिलेको राजनीति राजनीति जस्तो रहेन । यसले आफ्नो मूलभूत चरित्र गुमाएको छ र अराजनीतिक बाटोमा अग्रसर छ । राजनीतिको सामान्य सिद्धान्त छाडेर वर्तमान राजनीति सुदखोर व्यापार भएको छ ।

राजनीतिलाई यस्तो कसले बनायो त? यो प्रश्न बडो पेचिलो छ । यही प्रश्नको जवाफ खोजेर वर्तमान राजनीतिको उपचार गर्नु हाम्रो मुख्य दायित्व हो, किनभने वर्तमान शासन प्रणाली सीमित व्यक्ति वा राजनीतिकर्मीको खेलौना भएको छ । खासगरी 'ड्राइभिङ सिट' मा बसेर मनपरि गर्नेहरूका विरुद्ध एकताबद्ध भएर ठोस र समुचित निकास खोज्नु आजको राष्ट्रिय आवश्यकता हो । हामीले स्थापना गरेको प्रणाली आफैंमा खराब होइन । तर, हामीले नै लुछेर र चिथोरेर विद्रुप बनाएको हो ।

हाम्रो नालायकी, अयोग्यता र अकर्मण्यताले प्रणालीकै विश्वसनीयता कमजोर हुँदै गएको छ । तसर्थ, प्रणालीको प्रतिष्ठा र साखलाई पुन:स्थापित गर्न हाम्रो सकारात्मक प्रयास हुनुपर्छ । र, यो यथास्थितिमा रमाइरहेका पात्रहरूबाट सम्भव छैन । जसले मौजूदा अव्यवस्थाबाट अधिकतम लाभ लिइरहेको छ, उसले सुधार र परिवर्तनलाई प्राथमिकता दिँदैन । तसर्थ राजनीतिलाई देश र जनताको हितकारी माध्यम बनाउन चाहने देशभक्त र प्रजातन्त्रवादी नागरिकले सोच्ने बेला आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्