![सार्वजनिक भयो कैलाश पर्वत सम्मुखमा छायांकन भएको ‘जय जय शंकर’ भक्ति गीत [भिडियो]](https://lktcdn2.prixacdn.net/media/Jaya_Jaya_Shankar_kE0mSqWqxY.jpg)
चर्चित गायक सुगम पोखरेलको स्वरमा भगवान् महादेवप्रति समर्पित भक्ति गीत ‘जय जय शंकर’ सार्वजनिक गरिएको छ ।
कैलाश पर्वतको सम्मुखमा छायांकन गरिएको भिडियोसहितको भक्ति गीत सोमबार नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीको उपस्थितिमा सार्वजनिक गरिएको हो ।
डिजिसेन्स नेपाल प्रालिले निर्माण गरेको यो भक्ति गीतमा स्व. नातिकाजीको संगीत रहेको छ भने मोहित मुनालले पुन: संयोजन तथा नयाँ संगीत संयोजन गरेका छन् । गीतमा थप शब्द विजय अधिकारीले दिएका छन् ।
गीतको भिडियो हुम्ला जिल्लाको लिमी उपत्यकाको लाप्चामा ५१०० मिटरको उचाइमा खिचिएको हो । प्रत्यक्ष रूपमा कैलाश पर्वत र मानसरोवर ताल देखिने भएकाले लिमी उपत्यका धार्मिक, सांस्कृतिक र पर्यटन दृष्टिले महत्त्वपूर्ण मानिन्छ ।
निर्माण पक्षले संसारमै यो उचाइको हिमाली क्षेत्रमा पहिलो म्युजिक भिडियो खिचिएको दाबी गरेको छ । भिडियोमा कलाकार बद्रीप्रसाद तिवारीको एकल अभिनय रहेको छ । शिव ताण्डव नृत्यमा तिवारीले सशक्त अभिनय गरेका छन् ।

विजय अधिकारीले निर्देशन गरेको भक्ति गीतमा किरण थापाले कोरियोग्राफी गरेका छन् । हरि हुमागाईंको छायांकन र भरत रेग्मीको सम्पादन रहेको छ । निर्माण नियन्त्रक दिपेन गौतम ‘माइकल’ हुन् ।
भक्ति गीत सार्वजनिक समारोहमा कांग्रेस महामन्त्री थापाले सुगम पोखरेलको शक्तिशाली आवाज र बद्रीको अभिनयले गीतलाई जीवन्त बनाएको बताए ।
‘कर्णालीमा दु:ख मात्रै छ भन्ने होइन, यस्ता अनुपम स्थलहरू पनि छन् भन्ने सन्देश भिडियोले दिएको छ’, थापाले भने, ‘सरकारले जिम्मेवारी खेल्नुपर्ने ठाउँमा यो टिमले गरेको पहल प्रशंसनीय छ ।’
पूर्व पर्यटनमन्त्री समेत रहेका कांग्रेस नेता जीवनबहादुर शाहीले भिडियोले कर्णालीको पर्यटन प्रवर्द्धनमा ठूलो योगदान पुर्याउने बताए । ‘यो भिडियोले हामी सबैलाई झकझक्याउनेछ । हाम्रा स्रोत प्रचुर छन् । कानूनी संरचना बलियो भए देशलाई पाल्न सक्ने ठाउँ यही हो’, शाहीले भने ।

निर्देशक अधिकारीले पुराणमा वर्णित लंकका राजा रावणले कैलाश पर्वत पुगेर गरेको साधनाको प्रसङ्ग स्मरण गर्दै भने, ‘हामीले पनि लाप्चा पुगेर कैलाश र मानसरोवर प्रत्यक्ष देख्यौं र त्यही स्थानमा यो गीतलाई जीवित तुल्यायौं ।’
निर्माण पक्षले यस म्युजिक भिडियोले विश्वभरि नै नेपालबाट कैलाश पर्वत र मानसरोवर देखिन्छ भन्ने सन्देश पुर्याउँदै पर्यटन प्रवर्द्धनमा ऐतिहासिक योगदान गर्ने विश्वास व्यक्त गरेको छ ।
भिडियोमा हुम्लाको क्षेत्र र त्यहाँबाट देखिने कैलाश मानसरोवरको अद्भूत दृष्य देखिएको छ ।
भिडियो: