
पाल्पा रामपुरकी लक्ष्मी तिवारी अर्थात् 'तिवारी आमा' सानैदेखि गीत गाउन रुचि राख्थिन्। खेतीपाती गर्दा खेतालाले गाउने भाका मन्त्रमुग्ध भएर सुन्थिन्। विस्तारै गीत संगीतप्रति उनको मोह जाग्दै गयो। फुर्सद हुनेबित्तिकै उनी आफूले पनि भाका हालेर गाउन शुरू गरिहाल्थिन्।
केही वर्षअघि उनले गाएको एउटा तीज गीत सामाजिक 'प्लेटफर्म' टिकटकमा कसैले राखिदियो। गीतले चर्चा कमाउनुका साथै 'भाइरल' हुन पुग्यो। हास्य कलाकार पुरूषोत्तम भण्डारी अर्थात् 'पुर्खे बा' कार्यक्रमको सिलसिलामा रामपुर पुगेका थिए। त्यहाँ उनले तिनै चर्चित तिवारी आमालाई भेटे। अनि आमालाई 'तपाईं र मैले गीत गाउनुपर्छ' भनेर बाचा गरे। अनि शुरू भयो 'पुर्खे बा' र 'तिवारी आमा'को तीज गीत सहकार्य।
पुरुषोत्तम र लक्ष्मीले 'पानी मरुवा' भन्ने तीज गीत निरन्तर बजारमा ल्याइरहेका छन् । यो गीतको भाग १ देखि ६ सम्म आइसकेको छ । उनीहरूको गीतलाई सामाजिक सञ्जालदेखि टिकटकमा बढी रुचाइएको छ।
'आमा र मैले भाग १ देखि ५ सम्म गाएका छौं। भाग ६ मा आमाले अभिनय पनि गर्नुभएको छ,' पुर्खे बा भन्छन्, 'आमाको कला धेरै राम्रो छ। अलि वर्षअघि उजागर हुन पाएको भए धेरै चर्चा हुन्थ्यो।'
तिवारी आमा र पुर्खे बा दशैंतिहार लक्षित गीतको तयारीमा समेत छन्।
तीजका कतिपय गीत सबैसँग बसेर सुन्न र हेर्न नसक्ने खालका आइरहेका छन्। यो वर्षको तीजमा पनि केही त्यस्ता गीत सार्वजनिक भएका छन् । तर, उनीहरूले गाएका गीत निकै फरक छन् ।
हिन्दू महिलाहरूको पर्व हरितालिका तीजमा वेदनाका पोका फुकाएर सुख र दुःखका कुरा गीतमार्फत प्रस्तुत गर्ने त्यो पुरानो चलन अहिले फाटफुट मात्र देख्न र सुन्न पाइने भएकोमा तिवारी आमा र पुर्खे बाका गीतले बोलेका छन्।
गाउँले परिवेशका वेदना तथा छोरीसँग गरिने सुख–दुःख र परिवारका कुरालाई गीतमार्फत प्रस्तुत गर्ने तिवारी आमा रामपुर बसेर पनि देश/विदेशमा परिचित छिन्। महिलाहरूलाई भेला गराएर मौलिक भाकामा गीत गाउन सक्ने भएकाले उनी लोकप्रिय बनेकी हुन् । उनी मौलिक तीज गीत जगाउने अगुवामध्येकी एक हुन्।
कला र गला भए गाउँमै बसेर पनि गीतबाट चर्चा कमाउन सकिन्छ भन्ने स्थापित भएको उनी बताउँछिन्।
उनले यो वर्ष रवि लामिछानेको विषय जोडेर पनि गीत तयार गरेकी थिइन्, तर धेरैले यो अवस्थामा नगाउन आग्रह गरेपछि नगाएको उनी बताउँछिन्।
जेठीको नि छोरो हुर्क्यो, नानी अलि सानी छ,
साँझ परेसी ज्वाइँको इत्ती खाने बानी छ ।
माइली छोरी फेन्सी खोली, यो मन्दीमा बिक्छ र ?
सटर खोल्यो, मोबाइल खोल्यो, हेर्यो टिकटक ।
६४ वर्षको उमेरमा तिवारी आमाले गत वर्ष बजारमा ल्याएको गीत अहिले पनि सदाबहार रूपमा सुनिएको छ। वृद्ध उमेरमा पनि लुकेको त्यो प्रतिभा अहिले संसारमाझ पुगेपछि तिवारी आमा खुसी छिन्।
'मनका वेदना पोखेर गीत गाएँ। आज सबैले चिनेपछि तिवारी आमालाई खुसी लाग्छ,' उनले भनिन्, 'सानो उमेरदेखि गीत गाउँथें, अहिले पनि गाउँघरमा हुने कार्यक्रममा अगाडि पुगेर गीत गाउने गर्छु।'
वि.सं. २०१७ सालमा जन्मेकी तिवारी आमाको गीतप्रतिको लगाव निकै जोशिलो छ। २०३२ सालमा रामपुरका डोलाराम तिवारीसँग उनको विवाह भयो। तीन छोरा एक छोरी रहेका उनका दुई छोरा विदेशमा छन्।
'खेती–किसानी गर्दा पनि गीत गाउने गर्छु। गुनगुनाउने बानी अझै मरेको छैन,' उनले भनिन्।
स्वर मात्र नभएर, गीतका टुक्का फुराउन पनि उनी उत्तिकै सिपालु छिन्।
गाउँकै परिवेशलाई देखेकै भरमा टुक्का बनाउँछिन्, उनी।
'पढ्न नपाए पनि गीत जुराउन आउँछ। लेख्न नजाने पनि कसैलाई लेख्न लगाउँछु,' उनले भनिन्।
उमेरमा पढ्न नपाएकी तिवारी आमासँग आफ्नै कथाव्यथा पनि छन्।
सानो उमेरमा आमा बितेपछि भएको पीडा होस् वा त्यसपछि भोगेको यथार्थ अनि गाउँघरमा भोगिने सबै दुःख नै आफ्नो सिर्जनाका कथा रहेको उनी बताउँछिन्। तिवारी आमा सामाजिक चेतना र जागरणका गीत मात्र गाउँदिनन्। राजनीति गर्नेहरूलाई चोटिलो प्रहार गर्दै शब्द जुराउन र गाउन पनि सिपालु छिन्।
तिवारी आमालाई राजनीतिले देश नबिग्रियोस् भन्ने लाग्छ।
'नेता सुध्रे देश सुध्रिन्छ। त्यसैले पनि खबरदारी गरेर गीत गाउने गरेकी हुँ,' उनी भन्छिन्, 'आफ्नै देशमा रोजगारी नभएपछि युवाहरू परदेश जाने लहरले कतै देशमा युवा सकिने त होइन भन्ने चिन्ता पनि लाग्छ।'
तिवारी आमाले रोजगारीका लागि गएकाहरूलाई आफ्नै मुलुकमा आउन आग्रह गर्दै गीत पनि कोरेकी छिन्। युवा विदेश पलायन भएपछिको यथार्थ तिवारी आमाको गीतले बोलेको छ।
नेपालमा रोजगार छैन, विदेशमा नगइ भा’ छैन,
जग्गा जमिन बाँझै बस्यो, खेती ला’ छैन ।
नेपालका युवा जति विदेशको खाडीमा,
पाती फुल्यो, बाँदर नाच्यो गैरा बारीमा ।
खाडी देशमा पाकेका छन् छोराछोरी दाजुभाइ,
नानाथरी फेसन चाहियो घरमा बस्नेलाई ।
तिवारी आमा उमेरले साढे छ दशक पुगे पनि गायन क्षेत्रमा उनको सक्रियता घटेको छैन। बरु झन् बढेको छ। बोलाएको ठाउँमा पुगेर गीत गाउँदा सबैभन्दा बढी खुसी तिवारी आमा हुने गरेकी छिन्।
समाजका पीडा, महिलाका दुःख–सुख, करुणा र खुसी सबै उनका गीतले बोलेका हुन्छन्। उनले आफू तीज संस्कृति र संगीतको संरक्षणमा आफ्ना भाकाबाट निरन्तर लाग्ने बताउँछिन् ।
'हाम्रो तीज पर्वलाई जोगाउनु केवल पुराना गीत गाउनु मात्र होइन,' पुर्खे बा भन्छन्, 'हाम्रो सामूहिक पहिचान र अस्तित्वको आधार हो। यसले हामीलाई आफ्नो इतिहासको ज्ञानसँग जोड्दै सामाजिक एकतालाई बलियो बनाउन आवश्यक छ। हाम्रो मौलिक कला, ज्ञान र जीवनशैलीलाई बलियो पार्दै भावी पुस्तालाई मौलिक चिनारी हस्तान्तरण गर्न लोक संस्कृतिको संरक्षण आवश्यक छ।'
हेर्नुहोस्, भिडियो :