
नेपाली राजनीतिमा नेत्रविक्रम चन्द ‘विप्लव’ले एउटा यस्तो नेताको परिचय बनाएका छन्, जसको मौनता र सक्रियता दुवैको अर्थपूर्ण चर्चा हुने गर्छ । पछिल्लो समय उनी नेतृत्वको नेकपा र संसदमा तेस्रो उपस्थिति रहेको नेकपा (माओवादी केन्द्र)बीच एकताको प्रसंग चलिरहेको छ ।
केही दिनअघि मात्र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विप्लवकै निवास पुगेर स्थायी कमिटीले गरेको पार्टी एकताको निर्णय सुनाएका थिए । त्यसमा विप्लवले औपचारिक प्रतिक्रिया दिइसकेका छैनन् ।
शुरूमा माओवादीसँग एकताका लागि हतारिएका विप्लव प्रचण्डले वास्ता नगरेको बुझाइपछि उनीसँग टाढिँदै गएका थिए। तर, अहिले प्रचण्ड निवासमै आएर एकताको प्रस्ताव गर्दा पनि विप्लवले एकतामा हतारो गरेको भान हुँदैन । नजिकबाट चिन्नेहरू यतिबेला विप्लव चरम दोधारमा रहेको बताउँछन् ।
माओवादीसँग एकताका लागि भनेर पटक-पटक पार्टीबाट निर्णय गराइसकेका विप्लवले प्रचण्डलाई भदौको अन्तिममा बैठक बसेर एकताबारे छलफल गर्ने जवाफ दिएका छन् ।
विप्लव-प्रचण्ड भेटबारे लोकान्तरसँग केही दिनअघि कुरा गर्दै नेकपा प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले भनेका थिए, ‘हाम्रो महासचिवले प्रचण्डलाई तपाईंको पार्टीले गरेको निर्णय कसरी कार्यान्वयन गर्न खोज्नुभएको छ ? भनेर सोध्नुभयो । भदौको अन्तिममा केन्द्रीय कमिटी बैठकबाट माओवादीले गरेको एकताको निर्णय र हामीहरूले चाहेको एकता प्रक्रियाबारे आवश्यक निर्णय गर्छौं ।’

माओवादी केन्द्रसँग एकता गर्ने विषयमा घनीभूत छलफल भएको भनेर एक पक्षले प्रचार गरे पनि सोचेजस्तो प्रगति भएको छैन ।
संसदीय राजनीतिमा फर्किने ‘उल्टो’ बाटो !
पहिलो संविधानसभामार्फत तत्कालीन नेकपा (माओवादी) संसदीय राजनीतिमा प्रवेश गरेपछि अध्यक्ष प्रचण्डमा वैचारिक विचलन देखिएको र क्रान्तिलाई धोका दिएको निष्कर्षसहित उनी मोहन वैद्य ‘किरण’सँगै पार्टीबाट अलग भएका थिए ।
वैद्यसँग पनि वैचारिक मतभेद देखाउँदै २०७१ सालमा आफ्नै नेतृत्वमा नेकपा गठन गरेका विप्लवसँग अहिले सुक्दै गएको वामपन्थी आन्दोलनलाई दिने नयाँ ‘कोशेली’ नरहेको भनेर आलोचना हुने गरेको छ ।
विप्लव चुनावमार्फत राजनीतिको मूल धारमा प्रवेश गर्न चाहन्छन् । ठूला दलले रटान लगाएजस्तै अहिले उनको पनि उही नारा छ– मिसन ८४ । नेकपाले आगामी चुनाव लड्ने औपचारिक घोषणा गरिसकेको छ ।
पछिल्लो समय समाजवादी मोर्चाको नाममा उनले प्रचण्ड, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र अन्य केही साना घटक दलका नेताहरूसँग हिमचिम बढाएका छन् । समाजवादी मोर्चाको नेतृत्व गर्दै मूलधारको वामपन्थी राजनीतिमा ‘कमब्याक’ गर्ने उनको प्रयास देखिन्छ ।
तर, माओवादी केन्द्रसँग एकता गरिहाल्न उनले अहिलेसम्म हिम्मत गरेका छैनन् । माओवादी केन्द्रसँग हुने भनिएको एकता प्रक्रियाको चर्चा चल्न थालेको पनि तीन वर्ष पुगिसक्यो ।
उनको पार्टीले ‘एकीकृत जनक्रान्ति’को कार्यदिशा अगाडि सार्दै अर्ध-भूमिगत शैलीमा आफ्ना गतिविधि सञ्चालन गरेपछि २०७५ को फागुनमा तत्कालीन केपी शर्मा ओलीको सरकारले प्रतिबन्ध लगाएको थियो ।
बम विस्फोट र केही हिंसात्मक घटनालाई देखाएर उनको पार्टीमाथि प्रतिबन्ध लगाइएको थियो । तर, त्यसको दुई वर्षपछि विप्लवले नाटकीय रूपमा उनै ओली नेतृत्वको सरकारसँग तीन बुँदे सहमति गर्दै शान्तिपूर्ण राजनीतिमा प्रवेश गर्ने घोषणा गरेका थिए ।
अस्थिर चरित्र
विप्लवलाई नजिकबाट चिन्नेहरू उनलाई प्रचण्डजस्तै अस्थिर नेताका रूपमा चित्रित गर्छन् ।
‘राजनीतिमा प्रचण्डलाई सबैभन्दा अस्थिर रहेको ट्याग भिराइन्छ, तर वास्तवमा विप्लव त्यो भन्दा बढी अस्थिर चरित्र भएका नेता हुन्,’ विप्लवको पार्टी छाडेका एक नेताले लोकान्तरसँग भने ।
तत्कालीन ओली नेतृत्वको सरकारसँग तीनबुँदे सहमति गरेलगत्तै उनी ओलीको नजिक हुन खोजेका थिए । दुईतिहाइवाला नेकपा अस्तित्वमा रहेका बेला प्रचण्ड पनि पार्टीको अध्यक्ष थिए, तर विप्लव ओलीसँग बढी संवादमा थिए ।
पछि, सर्वोच्च अदालतको आदेशले नेकपा फुट्यो । यसबीचमा विप्लव एमालेमा जाने चर्चा चलिरह्यो । तर, संसद् विघटनको मुद्दामा सर्वोच्चले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएसँगै तीन बुँदे सहमति कार्यान्वयनका नाममा उनी प्रचण्डसँग नजिकिन पुगे ।
त्यतिबेला ओलीले ‘हुन त तपाईंहरू कम्युनिस्ट नै हो, तर तपाईंहरूमा माओवादीको अंश छ’ भनेर भनिदिएपछि विप्लव ओलीबाट टाढिएका थिए ।
त्यसपछि, प्रचण्डका विश्वासपात्र कृष्णबहादुर महरामार्फत पार्टी एकताको कुरा चल्न थाल्यो ।
२०७९ को निर्वाचनमा सक्रिय भाग लिने विषयमा उनको पार्टीभित्र मतभेद बढ्न थाल्यो । धर्मेन्द्र बास्तोलाले आफ्नो नेतृत्वमा छुट्टै पार्टी नेकपा (बहुमत) गठन गरे ।
चुनावमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको अस्वाभाविक उदयपछि विप्लवले आफू चुनावमा सक्रिय भाग नलिएकोमा पछुताउन थालेका थिए ।
विप्लव नेतृत्वको नेकपाका एक नेता भन्छन्, ‘नयाँ पार्टीले त्यसरी अस्वाभाविक रूपमा मत ल्याउनु हाम्रा लागि सोचनीय विषय थियो । हामीले औपचारिक/अनौपचारिक बैठकमा पटक-पटक त्यसबारे समीक्षा गर्यौं । स्वयं महासचिवले अब रवि लामिछानेजस्तो एकाएक राष्ट्रिय राजनीतिमा आउने गरी अघि बढ्नुपर्छ भन्नुभएको थियो ।’
अहिले कृषिसहित विभिन्न क्षेत्रमा हात हालेका विप्लव यसैबाट लोकप्रियता हासिल गर्ने प्रयासमा देखिन्छन् ।
लोकप्रियता बटुल्ने 'लामिछाने मोडेल'बाटै चुनावमा होमिने कुरालाई उनले पहिलो विकल्पका रूपमा हेरेको नजिकबाट चिन्नेहरू बताउँछन् ।
तर, लामिछाने मोडेलबारे पार्टीभित्र चलेको बहसमा विप्लव अल्पमतमा छन् ।
‘कम्युनिस्ट पार्टीले एकाएक भगवानजस्तो कोही उदाओस् भनेर मान्यता राख्दैन । सत्ता पाउन लामो संघर्ष गर्नुपर्छ । त्यसका लागि विचार मिल्नेहरूसँग मोर्चा बनाउँदै एक भएर जान तयार हुनुपर्छ भन्ने मत पार्टीमा हावी छ,’ उनीनिकट एक नेता भन्छन् ।

माओवादीको आन्तरिक मतभेद र विरोधाभास
माओवादीमा आन्तरिक मतभेद बढ्दा प्रचण्डले रणनीतिक रूपमा पार्टी एकताको कार्ड फ्याँक्ने गरेकोप्रति विप्लव सचेत देखिन्छन् ।
विप्लवनिकट एक नेता भन्छन्, ‘प्रचण्डले एकताको कार्ड फ्याँकेको हो कि, साँच्चिकै एकता चाहेको हो भन्नेबारे महासचिवले गहिरो गरी अध्ययन गरिरहनुभएको छ । हिजो नारायणकाजीलाई पार्टीमा भित्र्याएर आफू बहुमतमा आएपछि फरक मत राख्नेहरूलाई प्रचण्डले वास्ता गर्न छोडेको इतिहास हामीसँग छ ।’
यही कारण विप्लवले प्रचण्डलाई ढुक्कसँग विश्वास गर्न सकिरहेका छैनन् । पार्टीभित्र अध्यक्ष प्रचण्ड र उपमहासचिव जनार्दन शर्माबीचको टसल अहिले उत्कर्षमा छ ।
प्रचण्ड र शर्माबीच सार्वजनिक रूपमै एक अर्काबीच आरोपप्रत्यारोपको शृंखला केही समयदेखि चल्दै आएको छ । यस्तै, टसलका बीच रणनीतिक सन्देश दिन प्रचण्ड विप्लवलाई भेट्न गएका हुन् ।
तर, विप्लवले प्रचण्डलाई राजनीतिक हिसाबले अहिले ठूलो महत्त्व दिएका छैनन् ।
प्रचण्डसँग भेटेलगत्तै विप्लवले उपमहासचिव शर्मा र नेकपा एसका महासचिव घनश्याम भुसालसँग एउटै मञ्च शेयर गर्ने कार्यक्रममा सहमति जनाए ।
बिहीवार अपराह्न बुटवलको एसियन होटल कालिकानगरमा आयोजित कार्यक्रममा तीनै नेताले एकसाथ सम्बोधन गरेका थिए ।
सम्बोधनका क्रममा विप्लवले भने, ‘बुटवलबाट समाजवादी यात्रामा हिँडेका कम्युनिस्टहरूको एउटै पार्टी बनाउने यात्रा शुरू भएको छ । एउटै कम्युनिस्ट पार्टी बनाउने सपना छ, यो त्यति सजिलै पूरा हुँदैन कि, तर निरन्तर लाग्नुको विकल्प छैन ।’
यसअघि पनि पुष्पलाल स्मृति दिवसका दिन यी तीन नेता काठमाडौंमा एउटै मञ्चमा देखिएका थिए ।
नेकपा (माओवादी केन्द्र)का प्रवक्ता अग्नि सापकोटाले सैद्धान्तिक रूपमा एकताको कुरा भएपनि प्राविधिक विषयमा कुनै कुराकानी नभएको प्रस्ट पारे ।
लोकान्तरसँग कुरा गर्दै प्रवक्ता सापकोटाले भने, ‘हाम्रो पछिल्लो स्ट्याटस भनेको सैद्धान्तिक छलफल मात्र हो । एकतामा आएपछि धेरै प्राविधिक विषयमा टुंगो लाग्नुपर्ने हुन्छ । जिम्मेवारीको विषय हुन्छ । हामी त्यता छिरेका छैनौं ।’