
यही सप्ताहान्त नेपालयको ‘आर’सालामा सङ्गीतकार रामकृष्ण दुवालको पलेँटी सम्पन्न भएको छ । झण्डै २ घण्टासम्म चलेको पलेँटीमा दुवालले सङ्गीत भरेका एक दर्जनभन्दा धेरै गीतहरू घन्किए ।
नेपाली पहिरनमा सजिएका रामकृष्ण दुवालले दाफा गायनबाट आफ्नो कार्यक्रमको थालनी गरेका थिए । कार्यक्रमको थालनी ‘श्याम सुन्दर बसन्त बेला’ बोलको नेवारी अथवा नेपालभाषाको परम्परागत बसन्त गीतबाट भएको थियो ।
यस गीतमा उनले प्रदर्शन गरेको नृत्य मुद्राको धेरै दर्शकले खुलेर प्रशंसा गरेका थिए । दुवालका रचनालाई नयाँ पुस्ताका दुईजना कण्ठशिल्पी अभिज्ञा घिमिरे र बेनुप क्षेत्रीले स्वर दिएका थिए । कार्यक्रमलाई चार भागमा विभाजन गरेर प्रस्तुत भएको जानकारी पलेँटी सञ्चालकले दिएका थिए ।
दोस्रो प्रस्तुतिमा कवि तथा गीतकार मञ्जुलको पहिलो गीतिसँग्रह ‘साइली मोरीलाई’ रहेको गीत थियो । जसलाई दुवालले गीतकार मञ्जुललाई भेट्नु पहिले नै धुन भरेको जानकारी दिएका थिए । यस गीतलाई अभिज्ञाले गाएकी थिइन्।
‘सुनैको काँइयो सुनैको थाक्रो, सुनौली मेरो केश’ बोलको गीत सुन्दै गरेकी एकजना दर्शक लगातार आँशु पुछिरहेकी देखिन्थिन् । पलेँटी सञ्चालक आभास भन्दै गरेका हुन्छन्- ‘तीजको माहोल अझै सकिएको छैन कि जस्तो छ ?’
कार्यक्रमको तेस्रो प्रस्तुतिमा युगकवि सिद्धिचरण श्रेष्ठको खण्डकाव्य ‘मङ्गलमान’को छोटो अंश रहेको थियो । जुन खण्डकाव्यलाई रामकृष्ण दुवालले धुन भरेर युगकवि समक्ष नै सुनाएको जानकारी गराएका थिए ।

‘मङ्गलमान’ युगकवि सिद्धिचरण श्रेष्ठले आफू जेलमा बस्दा भेटेका विद्रोही पात्र हुन् । जसको आधारमा कविले खण्डकाव्य नै सृजना गरेका छन् । विद्रोही मङ्गलमानको चरित्रबाटै ‘ब्याक टु मङ्गलमान’ भन्ने उक्ति प्रचलित रहेको हो । अहिले नकारात्मक रूपमा प्रयोग हुने गरे पनि खासमा ‘ब्याक टु मङ्गलमान’ भन्ने उक्तीले- सँधै विद्रोही बनिरहनु, भन्ने भाव बोकेको छ । यो गीत बेनुपको स्वरमा गुञ्जेको थियो ।
सङ्गीतकार दुवालको सम्पूर्ण साङ्गीतिक व्यक्तित्वलाई समेट्ने ध्येयले आयोजना भएको पलेँटीमा उनले गरेका सबै खाले सृजनाहरू समावेश भएको भान पर्थ्यो । नेपालभाषाको (नेवारीको) शुरूआती टेली चलचित्र ‘चिप: निप:’मा प्रयोग भएको गीत ‘जाकी निगचा फोनेति बजय्’लाई नेपाली भाषामा अनुवाद गरेर प्रस्तुत गरिएको थियो ।
यसपछि कार्यक्रमले अर्को मोड लिएको थियो । यो चरणमा सङ्गीतकार रामकृष्ण दुवालले सृजना गरेका र धुन भरेका बालगीत प्रस्तुत भएका थिए । जसमा गीतका रचना-गर्भबारे दुवाल र कार्यक्रम सञ्चालकबीच रोचक वार्ता भएको थियो ।
नेपाल भाषाको दाफा गायनबाट शुरू भएको पलेँटीको अन्तिम खण्डमा फेरि नेपाल भाषाकै गीत प्रस्तुत भएका थिए । यस चरणमा निक्कै वर्षदेखि लोकप्रिय रहँदै आएको ‘सिर्साया हेकू’ बोलको लोकगीत प्रस्तुत भएको थियो । अभिज्ञा घिमिरेले केही दिनको अभ्यासमा आफूलाई बोल्नै नआउने भाषाको गीत गाइरहेकी थिइन् । ‘सिर्साया हेकू’ गीत टुङ्गिनासाथ दर्शकदिर्घाबाट तालिको गडगडाहटसँगै ‘वान्समोर’को आग्रह ओइरिएको थियो ।
यसपालीको पलेँटीमा वाद्यवादनतर्फ तबलामा मिलेश तण्डुकार, बाँसुरीमा मिलन घिमिरे, प्रकशनमा पारशमणि सुवेदी, गिटारमा प्रविण पुलामी मगर, बेस गिटारमा कृपेश लोहनी, किबोर्डमा सुनिल सिंहको साथ रहेको थियो ।
आगामी सेप्टेम्बर महिनाको पलेँटीमा प्रसिद्ध कण्ठशिल्पी ज्ञानु राणालाई निम्त्याइएको नेपालयले जानकारी गराएको छ ।