
हाम्रो बारी, आँगन र जंगलमा सजिलै भेटिने तितेपातीलाई धेरैले बेकारको झारपात ठान्छन् । तर, उर्लाबारीका युवा विनोद भण्डारीले यही झारपात ठानिएको तितोपनलाई उद्यमको रूप दिएका छन्, अर्गानिक साबुनको रूपमा ।
विदेशमा केही वर्ष बिताएर फर्किएका विनोदको मूल पेशा ट्याटु आर्ट हो । उर्लाबारीमै उनले आफ्नो स्टुडियो सञ्चालन गर्दै आएका छन् । तर, सिर्जनशीलतामा रमाउने उनको मन केवल ट्याटुमा सीमित रहेन । ‘एउटा यस्तो उत्पादन चाहिएको थियो, जसलाई आफ्नै ब्रान्ड बनाएर बजारमा स्थापित गर्न सकियोस्,’ उनी भन्छन् । यही खोजले उनलाई तितेपातीको साबुनसम्म पुर्यायो । बजारमा पाइने अधिकांश ‘हर्बल’ साबुनमा नाम मात्र हर्बल हुने तर वास्तविक गुण नहुने देखेपछि उनले प्रयोग शुरू गरे ।
६ महिनाअघि उनले घरेलु उद्योग दर्ता गरेर घरको एउटा कोठालाई सानो प्रयोगशालामा रूपान्तरण गरे । साबुन बनाउने प्रक्रिया पूर्णतया प्राकृतिक छ । मिक्लाजुङको पहाडी भेगमा पाइने ताजा तितेपाती आफैं वा साथीभाइ/छिमेकीको सहयोगमा संकलन गर्छन् । त्यो रसलाई नरिवलको तेलबाट बनेको सोप–बेसमा मिसाइन्छ । त्यसपछि पुदिनाको तेल, भिटामिन–ई र ग्लिसिरिन थपिन्छ, जसले साबुनलाई छालामैत्री र स्वास्थ्यवर्द्धक बनाउँछ ।
शुरूआतमा सानो स्तरमा बनेको यो प्रयोग आज दैनिक २००–३०० वटा साबुन उत्पादनसम्म पुगेको छ । कुनै ठूला मेसिन वा कारखाना नभई घरकै कोठाबाट शुरू भएको व्यवसाय अहिले विराटनगर, काठमाडौं, पोखरा, दमक, इटहरीजस्ता शहरका अर्गानिक स्टोरसम्म फैलिएको छ ।
विनोदले परीक्षणका लागि केही साबुन अमेरिका पठाएका छन् । प्रतिक्रिया उत्साहजनक छ—ग्राहकहरूले यसले छालाको एलर्जी, डण्डीफोर, दाग हटाउन सहयोग पुर्याएको र शरीरलाई शीतलता प्रदान गर्ने अनुभव सुनाएका छन् ।
बजारमा १०० देखि १५० रुपैयाँमा पाइने यो साबुनले केवल आम्दानी मात्र होइन, रोजगारी पनि सिर्जना गरेको छ । तितेपाती संकलनमा कहिलेकाहीँ छिमेकीहरूलाई सहभागी गराएर उनीहरूलाई साबुन वा केही रकम दिने प्रचलन विनोदले बनाएका छन् ।
ट्याटु आर्ट र साबुन उत्पादन—दुई फरक क्षेत्रमा समानान्तर यात्राले उनलाई युवा उद्यमीहरूको लागि प्रेरणादायी बनाएको छ । ‘एउटा व्यवसाय गर्न अर्को छोड्नुपर्छ भन्ने छैन, सन्तुलनमा राखेर दुवै अघि बढाउन सकिन्छ,’ उनी भन्छन् ।
बजारमा माग बढ्दै गएपछि उत्पादनलाई अझै व्यावसायिक विस्तार गर्ने योजना उनले बनाएका छन् । विनोदको प्रयासले प्रमाणित गरेको छ— उद्यमशीलता भन्नाले ठूलो लगानी वा जटिल प्रविधि मात्र होइन, सिर्जनशील सोच र आत्मविश्वास नै पर्याप्त हुन्छ ।
जंगलको ‘झार’ ठानिएको तितोपातीलाई उनले आकर्षक प्याकेजिङसहित अर्गानिक बजारको ‘लक्जरी’ साबुनमा रूपान्तरण गरेका छन् । यसरी तितोपनलाई सुगन्धमा बदल्ने विनोद भण्डारीको यात्रा केवल व्यवसायिक होइन, प्रेरणादायी कथा पनि हो ।