
नेपाली बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । पछिल्लो आठ ८ दिनमा मात्रै सुनको मूल्य प्रतितोला साढे १२ हजार रुपैयाँले वृद्धि भएको हो । आठ दिनअघि प्रतितोला १ लाख ९९ हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार २ लाख १२ हजारमा कारोबार भयो ।
सुनको मूल्य २ लाख नाघेसँगै बजारमा कारोबारमा ब्रेक लागेको व्यवसायीहरूले बताएका छन् । अन्तर्राष्ट्रिय स्तरमा बढेको सुनको मूल्यले नेपालमा पनि ठूलो प्रभाव पारेको उनीहरूको भनाइ छ ।
पहिलेदेखि घटिरहेको सुनको व्यापारलाई अन्तर्राष्ट्रिय स्तरबाटै मूल्य बढेर अझै बढी खुम्चाएको सुनचाँदी व्यवसायी तथा नेपाल सुनचाँदी व्यवसायी महासङ्घका संस्थापक अध्यक्ष माणिक रत्न शाक्यले बताए । अहिले बाध्यकारी अवस्थामा मात्रै व्यवसायीहरूले नयाँ सुन खरिद गरिरहेको उनको भनाइ छ ।
बाँकी अवस्थामा पुरानै सुनको कारोबार भइरहेको उनले बताए । ‘बैंकबाट नयाँ सुनको लागि माग नै छैन । बाध्यकारी अवस्थामा मात्रै कोही–कोहीले नयाँ सुन खरिद गरिरहेका छन् । अन्यथा सबैले पुरानै सुनको कारोबार गरिरहेका छन् । नयाँ सुन खरिद गर्ने आट नै घटिसकेको छ’, लोकान्तरसँग उनले भने, ‘पहिले नै सरकारले ल्याएको विलासिता करले गर्दा नै सुनको व्यापार घटिसकेको थियो । अहिले झन् मूल्य बढेर घटेको छ ।’
तथ्यांकमा हेर्दा हरेक वर्ष नेपालमा सुनको आयात घट्दै गएको देखिन्छ । नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ३७.२८ प्रतिशतले बढेको थियो । सुनको मूल्य बढेसँगै आर्थिक वर्ष २०८०/८१ को तुलनामा गत आर्थिक वर्षमा सुनको आयात २३.२ प्रतिशतले घटेको केन्द्रीय बैंकको तथ्यांकले देखाउँछ ।
गत वर्ष कुल १९ अर्ब ९२ करोड ५७ लाख रुपैयाँ बराबरको १६.२२ किलोग्राम सुन आयात भएको थियो । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा भने २५ अर्ब ९३ करोड ४७ लाख बराबरको सुन नेपाल भित्रिएको थियो ।
आर्थिक वर्ष २०७९/८० मा कुल ४३ अर्ब ८८ करोड ६४ लाख रुपैयाँ बराबरको सुन नेपाल भित्रिएको थियो । राष्ट्र बैंकको तथ्यांक हेर्दा हरेक वर्ष सुनको मूल्य बढ्दै गइरहेको र आयात घट्दै गइरहेको देखिन्छ ।
यस वर्षको चाडपर्वमा सुनको माग र आपूर्तिमा ठुलो ब्रेक लागेको व्यवसायी बताउँछन् । दशैँ–तिहारजस्ता चाडपर्वमा सुनको खपत तिजकै समयमा आकलन गर्ने पुरानै अनुभवले यो वर्ष शून्यजस्तै कारोबार हुने महासङ्घका पूर्वअध्यक्ष शाक्यले बताए ।

उनका अनुसार सुनचाँदीको व्यापार व्यवसायलाई सरकारले चलायमान बनाउन न सक्नुका साथै आफ्नै नीतिहरूले राजस्व गुमाउने काम गरेको छ । ‘हामीले सुनको मूल्य बढाउन वा घटाउन मिल्दैन । तर, हामीले सुनचाँदीको व्यापार व्यवसायलाई सहज र सरल बनाइदिन सक्छौं । तर, सरकारका नीतिहरूले यस क्षेत्रलाई कमजोर र सुकाउने काम गर्यो,’ उनले भने, ‘सरकारका १/२ नीतिहरूले यस क्षेत्रलाई चलायमान बनाउन सक्छ भने बिगार्न र व्यापारलाई ध्वस्त पार्न पनि सक्छ ।’
अन्तर्राष्ट्रिय स्तरमै सुनको मूल्य बढे पनि नेपालमा त्यसको सबैभन्दा ठुलो प्रभाव परेको नेपाल सुन–चाँदी शिल्प व्यवसायी सङ्घका निवर्तमान अध्यक्ष तथा विशिष्ट सदस्य अर्जुन विश्वकर्मा बताउँछन् । सरकारले विलासिता कर लगाएर सुनको कारोबारमा कमी आएको समयमा सुनको मूल्य बढेपछि झन् कारोबार खुम्चिएको उनको भनाइ छ । ‘सुनको मूल्य बढेर सबैभन्दा ठुलो प्रभाव हामीलाई परेको छ । किनभने पहिले नै सरकारले सुन व्यवसायमा ठूलो धक्का लगाइसकेको थियो । ग्राहकहरू सुनको पसल देख्नेवित्तिकै तर्सिने अवस्थामा पुगिसकेका छन्,’ उनले भने, ‘मूल्य बढेर झन् नयाँ सुन खरिद गर्नेहरू पनि खरिद गरिरहेका छैनन् ।’
चालू आर्थिक वर्षदेखि सुनचाँदीको व्यापार खुम्चिँदै गएको उनको भनाइ छ । अहिले मूल्य बढेर झन् उपभोक्ताहरू पुरानै गरगहना बिक्री गर्ने र स्वरूप परिवर्तन गर्ने गरिरहेको उनले बताए ।
सुनलाई लगानीको रूपमा नहेरेर नेपाल पछि पर्यो : अर्थशास्त्री भट्टराई
सुनलाई गरगहनाको रूपमा मात्रै हेरिनु नेपालका लागि दुर्भाग्य भएको अर्थशास्त्री अनलराज भट्टराई बताउँछन् । सुनलाई लगानीको रूपमा नहेरेर नेपाल धेरै पछि परेको उनको भनाइ छ ।
‘सुनलाई हामीले कहिल्यै लगानीको रूपमा हेरेनौं । केबल गहनाको रूपमा मात्रै हेर्यो । यद्यपि, नेपालले धार्मिक एवं सांस्कृतिक रूपमा सुनको सञ्चिति गर्दै गएको देखिन्छ । विश्वका अधिकांश राष्ट्रहरूले सुनमा लगानी गरेर कहाँबाट कहाँसम्म पुगिसकेका छन्,’ उनले भने, ‘नेपालले पनि सुनमा लगानी गर्न दिनुपर्ने थियो । लगानी गर्न नदिएर अहिले हामी धेरै पछि परेका छौं ।’
अधिकांश स–साना नीतिहरूमा सुधार गर्दै गएपछि मात्रै देशको अर्थतन्त्रको आधार फराकिलो र सुधार हुँदै जाने भट्टराई बताउँछन् । अन्य राष्ट्रहरूले जस्तै लाइसेन्स दिएर सुनचाँदी डिलरहरूलाई कर्जा दिने सुविधासमेत दिन सक्ने विकल्प पनि राम्रो हुने उनको भनाइ छ । ‘अन्य मुलुकहरूमा सुनका डिलरहरूले लाइसेन्स लिएर कर्जा दिन्छन् । हाम्रोमा त्यसो गर्न मिल्दैन । कसैले काँचो सुन राख्न मिल्दैन । यस्ता स–साना नीतिहरूले हामीलाई पछाडि पारिरहेको छ,’ उनले भने, ‘सुनमा सबै लगानी गर्न नमिल्ने गरी केही प्रतिशत गर्न दिनुपर्छ । त्यसले हाम्रो लगानी बढाउनुका साथै हामीलाई बलियो पनि बनाउँदै लग्छ । यद्यपि, सुनमा मात्रै लगानी गरेर सम्पन्न भइँदैन ।’