
काठमाडौं महानगरपालिकाभित्रका विद्यालय भोलि आइतबारदेखि खुल्ने भएका छन् ।
देशमा सिर्जित अवस्था र परिस्थितिका कारण शिक्षण सिकाइ क्रियाकलाप प्रभावित भइरहेकामा जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट जिल्लामा लगाइएको कर्फ्यू तथा निषेधाज्ञा (निषेधित क्षेत्र सम्बन्धी आदेशबाहेक) हटाएको हुनाले विद्यालय सञ्चालन हुने महानगरले जनाएको छ ।
महानगरले सबै शिक्षक तथा कर्मचारी आइतबारदेखि विद्यालयमा उपस्थित हुने, तर उक्त दिन विद्यार्थीलाई विद्यालयमा नबोलाउन भनेको छ ।
विद्यालयमा उपस्थित भई विद्यालयको प्रशासनिक कार्यका साथै सरसफाइ सम्बद्ध कार्य गर्ने, विद्यालयमा कुनै प्रकारको क्षति देखिएमा काठमाडौं महानगरपालिकामा सोको विवरण उपलब्ध गराउने, विद्यार्थीका अभिभावकसँग सम्पर्क गरी विद्यार्थीको अवस्था बुझ्ने, अवस्था सामान्य नहुन्जेल आफ्ना बालबालिकालाई विद्यालयमा ल्याउन र लैजाने कार्य गर्न अनुरोध गर्न पनि महानगरले भनेको छ ।
अभिभावकले आफ्ना विद्यार्थी विद्यालयमा ल्याउने लैजाने गरी जिम्मा लिएमा र परिस्थिति पनि सामान्य देखिएमा त्यस्ता विद्यार्थीलाई सोमबारदेखि विद्यालयमा ल्याई मनोसामाजिक परामर्श सँगसँगै अध्ययन अध्यापन गर्न गराउन भनिएको छ ।
विद्यालयमा अभिभावकसँग आउन र जान नसक्ने विद्यार्थीलाई भर्चुअल क्लासमार्फत् सहजीकरण गर्न महानगरले भनेको छ ।