२३ असार २०८३, मंगलबार
जेनजी आन्दोलन

सम्हालिन खोज्दै सिंहदरबार– कर्मचारीको ध्यान जलेका गाडी तह लगाउनेदेखि खरानी टकटक्याउनेसम्म

भदौ २९, २०८२
काठमाडौं
सम्हालिन खोज्दै सिंहदरबार– कर्मचारीको ध्यान जलेका गाडी तह लगाउनेदेखि खरानी टकटक्याउनेसम्म

देशको प्रमुख प्रशासनिक अड्डा सिंहदरबारमा बल्ल चहलपहल शुरू भएको छ । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते मंगलबार सिंहदरबारस्थित विभिन्न मन्त्रालय जलाइएपछि आइतबारबाट मन्त्रालयहरूमा चहल–पहल देखिएको हो ।

आगजनीका कारण जलेका कतिपय मन्त्रालयका सवारी साधनको इन्जिन नम्बर, चेसिस नम्बर, नम्बर प्लेट खोजी गर्न कर्मचारीहरूले खरानी टकटक्याइ रहेका थिए भने कतिपय कर्मचारीहरू कार्यालयको खरानी सफा गरिरहेका थिए ।

null

जलेर ध्वस्त भएका मन्त्रालयअगाडि कर्मचारीदेखि बाहिरबाट सिंहदरबार आएका सेवाग्राहीहरू फोटो खिच्न व्यस्त देखिएका थिए ।

पूर्णरूपमा आगजनीबाट ध्वस्त भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय पुरानो गृहमन्त्रालय परिसरमा गृह मन्त्रालयकै लागि बनाइएको नवनिर्मित भवनमा आइतबारदेखि सञ्चालनमा आएको छ ।

जलेको पुरानो गृहमन्त्रालय

अन्तरिम सरकारकी नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आइतबार सोही नवनिर्मित भवनमा पदभार ग्रहण गरेकी छन् ।

मुख्यसचिव एकनारायण अर्यालका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा आगजनीबाट कति क्षति भयो, त्यसको विवरण संकलनको काम जारी नै रहेकाले अहिले नै यकिन भन्न सकिने अवस्था छैन ।

आइतबार १२ बजेतिर प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पुग्दा भवनमा सुरक्षित रहेका कतिपय फर्निचरसहितका सामानहरू कार्यालय सहयोगीले ओसारिरहेका थिए ।

नयाँ भवनमा सार्नका लागि ध्वस्त भएको प्रधानमन्त्री कार्यालयबाट ती सामानहरू बोकेर पिकअपमा अनलोड गर्दै थिए । यसअघि पनि २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पले क्षतिग्रस्त हुँदा अहिले सञ्चालनमा प्रयोग भएको गृहमन्त्रालयमा प्रधानमन्त्री कार्यालय सञ्चालनमा आएको थियो ।

पुरानो प्रधानमन्त्री कार्यालय

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणद्वारा रेनोभेट गरेपछि २०७७ फागुन ३ गते उक्त कार्यालय उद्घाटन भएको थियो । कार्यालय सञ्चालनमा आएपछि त्यहाँ पुनः गृह मन्त्रालय सञ्चालनमा आएको थियो ।

भदौ २४ गतेको प्रदर्शनका क्रममा गृहमन्त्रालयको ७५ प्रतिशत भूभाग जलेको छ ।

गृहमन्त्रालयका सचिव गोकर्णमणि दुवाडीका अनुसार अहिले क्षतिको विवरण आइसकेको छैन । ‘विवरण संलकनको काम जारी रहेकाले एकदुई दिन अझै समय लाग्छ,’ दुवाडीले लोकान्तरसँग भने ।

गृह मन्त्रालयको ग्राउन्ड फ्लोरमा भने केही क्षति भएको छैन । आइतबार लोकान्तरकर्मी त्यहाँ पुग्दा सुरक्षित रहेका फर्निचर तथा अन्य अभिलेखहरू पिकअपमा ओसार्ने काम भइरहेको थियो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय पछाडि रहेको परराष्ट्र मन्त्रलायको भवनमा आइतबारदेखि गृह मन्त्रालय सञ्चालनमा आएको छ ।

पुरानो गृहमन्त्रालय

साविकमा त्यहीँ सञ्चालन भएको परराष्ट्र मन्त्रालय पछि अर्थ मन्त्रलायको अपोजिट तथा गृह मन्त्रालयको पछाडि रहेको भवनमा सञ्चालित छ ।

तर, ३ महिनादेखि परराष्ट्र मन्त्रालयको दुई/तीनवटा शाखाको रूपमा प्रयोग गरिएको भवनमा अब गृहमन्त्रालय सञ्चालन  हुने भएको हो ।

आइतबार त्यहाँ पुग्दा पराष्ट्र मन्त्रालयका फर्निचरसहितका सामानहरू बाहिर निकालिएको थियो भने गृहका सामानहरू भित्र राख्ने काम भइरहेको थियो ।

परराष्ट्रका ती शाखा त्रिपुरेश्वरस्थित राहदानी विभाग र कन्सुलर सेवा विभाग रहेको कार्यालयमा सञ्चालन  हुने त्यहाँ भेटिएका एक कर्मचारीले बताए ।

गृह मन्त्रालयको क्षतिको यकिन विवरण नआए पनि २१ वटा चारपाङ्ग्रे गाडी पूर्णरूपमा जलेर नष्ट भएको गृहको आन्तरिक व्यवस्थापन शाखाका एक कर्मचारीले बताए ।    

सिंहदरबार प्रवेश गरेलगत्तै शुरूमै आउने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पनि क्षति भएको छ । मन्त्रालयको आन्तरिक व्यवस्थापन शाखा र कर्मचारी प्रशासन शाखा पूर्णरूपमा जलेर नष्ट भएको छ ।

‘ती दुई कोठामा रहेका सबै फर्निचरसहित अन्य अभिलेख जलेर खरानी भएको छ,’ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आन्तरिक व्यवस्थापन शाखाका स्टोरकीपरले लोकान्तरसँग भने, ‘त्यसबाहेक ३० वटा चारपाङ्ग्रे, २ वटा बस र १ सय वटा दुईपाङ्ग्रे सवारी साधन जलेर पूर्ण रूपमा नष्ट भएको छ ।’

null

आइतबार उक्त मन्त्रालय पुग्दा मन्त्रालयका कर्मचारीहरूले जलेर पूर्णरूपमा ध्वस्त भएका सवारी साधनको नम्बर प्लेट मिलाउने, इन्जिन तथा चेसिस नम्बर मिलाउने तथा भिडाउने काम गरिरहेका थिए ।

त्यसैगरी, कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा पनि आगजनीका कारण क्षति पुगेको छ । उक्त मन्त्रालयका स्टोरकिपर लोमस आचार्यका अनुसार ८ वटा चारपाङ्ग्रे गाडी जलेर पूर्णरूपमा नष्ट भएका छन् भने १७ वटा चार पाङ्ग्रे गाडीमा तोडफोड भएको हुनाले मर्मत गर्नुपर्ने अवस्थाका छन् ।

त्यसैगरी, १३ वटा स्कुटर र ५० वटा मोटरसाइकल पनि जलेर पूर्णरूपमा नष्ट भएको उनले बताए । ७ वटा मोटरसाइकल चोरी भएको उनले बताए ।

null

‘७ वटा जति मोटरसाइकल चोरी भएको छ । नम्बर प्लेट निकालेर मोटरसाइकल चोरी भएको देखिएको छ,’ आचार्यले लोकान्तरसँग भने, ‘त्यति मात्र होइन, सद्दे भएका मोटरसाइकलको टायरदेखि ब्याट्रीसम्म निकालेर चोरी गरिएको छ ।’

आगजनीबाट जोगिएका गाडीहरूबाट जे जति निकाल्न सकिने पार्टहरू थिए, ती सबै निकालेर लगेको उनले बताए ।

‘बिहीबारसम्म सद्दे रहेको सवारीसाधन शुक्रबार चोरी भएको छ,’ आचार्यले थपे, ‘कसैले टायर खोलेर लगेका छन् भने अधिकांशको ब्याट्री खोलेर लगेका छन् ।’

त्यसबाहेक मन्त्रालयको ७ वटा कोठाको झ्याल फुटाइएका छन् भने ३ वटा ल्यापटप समेत चोरेर लगेको उनले बताए ।

‘क्षति भएको सबै विवरण संकलन गर्नका लागि मन्त्रालयकी सहसचिव डा. जानुका पण्डितको नेतृत्वमा कार्यदल गठन भएको छ,’ उनले थपे, ‘अहिले प्रारम्भिक क्षतिको मात्र विवरण आएको छ । उक्त कार्यदलले विवरण संकलन गरेपछि यकिन तथ्यांक आउँछ ।’

त्यसैगरी, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पनि व्यापक क्षति भएको छ । आगजनीबाट मन्त्रालयको पहिलो र दोस्रो तल्ला पूर्णरूपमा क्षति भएको छ । 

मन्त्रालयका स्टोर किपर रमेश भुसालका अनुसार २३ वटा चारपाङ्ग्रे गाडी पूर्णरूपमा जलेर नष्ट भएको छ भने ४ वटा गाडीमा तोडफोड भएको छ ।

५५ वटा मोटरसाइकल जलेर पूर्ण रूपमा ध्वस्त भएको छ भने २ वटा ल्यापटप, केही कोटसहितका सामानहरू समेत चोरी भएको उनले बताए ।

‘कतिसम्म भने हाम्रो मन्त्रालयमा पार्क गरेर राखिएका गाडी प्रधानमन्त्री कार्यालय अगाडि लगेर जलाएको पाइएको छ,’ उनले थपे, ‘मन्त्रालयमा बिजुली, पानी, इन्टरनेट सबै ठप्प छ ।’

null

शिक्षा मन्त्रालयमै रहेको राष्ट्रिय सतर्कता केन्द्रमा पनि व्यापक क्षति भएको छ ।

केन्द्रका सचिव सरजुकुमार वैद्यका अनुसार ९ थान चार पाङ्ग्रे गाडी पूर्णरूपमा जलेर नष्ट भएको छ भने ४ वटा गाडीमा तोडफोड भएको छ ।

‘१ थान गाडी भ्यालीबाहिर फिल्डमा गएका कारण मात्र जोगियो,’ सचिव वैद्यले लोकान्तरसँग भने, ‘त्यसैगरी, १० थान मोटरसाइकल र ४ थान स्कूटर पूर्णरूपमा नष्ट भएको छ ।’

त्यसैगरी, १० थान ल्यापटप अहिलेसम्म नभेटिएको हुनाले चोरी भएको हो कि भन्ने आशंका रहेको उनले बताए ।

४१ थान कम्प्युटरमा तोडफोड भएको छ भने २४ थान प्रिन्टर, ५ थान स्क्यानर, १३ थान टेबल, २१ थान कुर्सी, ११ थान दराज, १० थान एसी, डिजिटल बोर्डसहित कोठाका झ्यालहरू समेत तोडफोड भएको उनले बताए ।

त्यसैगरी, अर्थ मन्त्रालयको भवनमा केही क्षति नभए पनि सवारीसाधनमा भने व्यापक क्षति पुगेको छ । अर्थ मन्त्रालयको स्टोर शाखाका एक कर्मचारीका अनुसार १५ थान गाडी पूर्ण रूपमा जलेर नष्ट भएको छ ।

३८ थान मोटरसाइकल र १८ थान स्कुटर समेत जलाएर पूर्णरूपमा नष्ट भएको उनले बताए ।

null

त्यसैगरी, प्रधानमन्त्री कार्यालय अगाडि रहेको टहरोमा सञ्चालित बजेट महाशाखाअन्तर्गतको एनआरएको कार्यालय र अर्थ मन्त्रालयको गोदाम समेत जलेर खरानी भएको उनले बताए ।

‘मन्त्रालयका पछिल्लो ५ वर्षका सबै कागजातसहित फाइलको अभिलेख त्यही गोदाममा राखिएको थियो । सबै जलेर खरानी भएको छ,’ उनले थपे, ‘त्यसैगरी, टीभी, मनिटर, ल्यापटपसहितका सामानहरू चोरी भएको छ ।’

ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयको भवनमा पनि क्षति हुनुका साथै सवारी साधनहरू जलेर नष्ट भएको छ । मन्त्रालयका उपसचिव पशुपति महतका अनुसार क्षति संकलनका लागि कार्यदल गठन भएको छ ।

उक्त कार्यदलले विवरण संकलन गरेपछि मात्र यकिन भन्न सकिने उनले बताए ।

त्यसैगरी, युवा तथा खेलकुद मन्त्रालयको भवनमा खासै क्षति नभए पनि सवारी साधनमा भने व्यापक क्षति भएको छ ।

मन्त्रालयका स्टोर किपर रवीन्द्र शाहीका अनुसार ११ थान चारपाङ्ग्रे सवारी साधन पूर्णरूपमा जलेर नष्ट भएको छ भने २ वटा गाडीमा तोडफोड गरिएको छ ।

त्यसैगरी, ९ थान दुईपाङ्ग्रे सवारी पूर्णरूपमा नष्ट भएको छ भने १ थान मोटरसाइकलमा आंशिक क्षति पुगेको उनले बताए ।

त्यसैगरी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको स्टोर शाखाका एक कर्मचारीका अनुसार १३ थान मोटरसाइकल जलेर पूर्णरूपमा नष्ट भएका छन् भने २ थान हराएका छन् ।

null

१७ थान चारपाङ्ग्रे सवारी साधनमध्ये ५ थान पूर्ण रूपमा सुरक्षित रहे पनि १२ वटा तोडफोड भएको उनले बताए ।

त्यसबाहेक अन्य मन्त्रालयका भवनमा भने खासै क्षति भएको छैन ।

थप तस्वीरहरू :

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्