१४ असार २०८३, आइतबार

एनसेलले प्रहरीमा दियो सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैती सम्बन्धी उजुरी

भदौ ३०, २०८२
काठमाडौं
एनसेलले प्रहरीमा दियो सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैती सम्बन्धी उजुरी

काठमाडौंको लैनचौरस्थित एनसेलको मुख्य कार्यालय ‘एनसेल आइकन’मा यही भदौ २४ गते भएको तोडफोड, आगजनी र डकैतीमा संलग्नलाई कारबाहीको माग गर्दै प्रहरीमा उजुरी परेको छ ।

घटनापछि कम्पनीको सम्पत्तिमा ठूलो क्षति पुगेको भन्दै सोमबार एनसेलले जिल्ला प्रहरी परिसर, काठमाडौंमा उजुरी दर्ता गराएको हो ।

यी घटनासँग संलग्नलाई पक्राउ गरेर आवश्यक अनुसन्धान गरी कानूनको दायरामा ल्याई हदैसम्मको सजाय गर्न माग गरिएको छ । साथै, उनीहरूबाट डकैती गरी लगिएको सामान फिर्ता दिलाउन, आगजनीबाट क्षति भएको सम्पत्तिको क्षतिपूर्ति समेत दिलाई भराई पाऊँ भनी उजुरी दिइएको एनसेलले जनाएको छ ।

कम्पनीको सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीलाई एकैठाउँमा राखेर जलाउने धम्की दिई उनीहरूलाई कोठामा थुनी भवनमा तोडफोड तथा आगजनी गरिएको एनसेलको भनाइ छ । 

भवनको अगाडि भागको सिसा फुटाई कार्यालयभित्र प्रवेश गरि ग्राउन्ड फ्लोरमा रहेको कम्पनीको ग्राहक सेवा केन्द्र र रिसेप्सनमा रहेका कार्यालय प्रयोजनमा प्रयोग भएका उपकरण, भवनको प्रत्येक तलामा प्रवेश गरी कार्यालयमा प्रयोग भएका प्रत्येक समान आगजनी तथा तोडफोड, कम्पनीका सक्कल प्रमाणपत्र, अनुमतिपत्र, जग्गाधनी प्रमाणपूर्जा एवं महत्त्वपूर्ण अन्य कागजात आगजनी गर्नुका साथै नगद र कम्पनीका सेफ समेत लुटेर लगेको उजुरीमा उल्लेख गरिएको छ । 

एनसेलले आफ्नो कार्यालयको दशवटै तलामा रहेका बहुमूल्य विद्युतीय समान, कम्प्युटर, टेलिभिजन, प्रिन्टर, फ्रिज, ओभन, कफी भेन्डर मेसिन लगायत कार्यलयको काममा प्रयोग हुने सबै सामान डकैती गरेर लगेको जनाएको छ ।

कर्मचारीलाई वितरण गरेको प्रत्येक लकर फोडी ल्यापटप तथा अन्य व्यक्तिगत सामान तथा गहना डकैती गरेको, मिटिङ हलमा रहेको टिभी, मोनिटर तथा भवनको दोश्रो तलामा रहेको फिटनेशका सामान बाहिर फालि केही उपकरण आगजनी गरिएको रु अधिकांश उपकरण डकैती लगेको एनसेलले जनाएको छ ।

कम्पनीका आफ्नै र तेश्रो पक्षबाट भाडामा लिएका महँगा मोटर गाडीका साँचो नियन्त्रणमा लिई पालैपालो भवनको आँगनमा ल्याई जलाएको र केही सवारी साधन भवनको कम्पाउन्ड बाहिर बाटोमा ल्याई आगो लगाई पूर्ण रूपमा ध्वस्त गरेको र कम्पनीका कर्मचारीका गाडी समेत तोडफोडका साथै आगजनी गरी ठूलो आर्थिक तथा भौतिक नोक्सानी गरेको उजुरीमा खुलाएको छ ।

कम्पनीले घटनामा पुगेको क्षतिको विवरण तथा लुटिएका सम्पत्तिको सूची प्रहरीलाई उपलब्ध गराएको छ । साथै, घटनाको क्रममा कैद भएका सम्पूर्ण सीसीटीभी फुटेज पनि अनुसन्धानमा सहयोग पुर्‍याउने उद्देश्यले प्रहरीलाई हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ ।

तोडफोड, आगजनी, डकैतीबाट कम्पनीको सम्पत्तिमा भएको वास्तविक क्षति यकिन गर्न मूल्यांकनको काम भइरहेको हुँदा अनुसन्धानको सिलसिलामा सोको थप विवरण उपलब्ध गराउने पनि कम्पनीले उजुरीमा भनेको छ ।

salt training

कमेन्ट गर्नुहोस्