१५ असार २०८३, सोमबार
जेनजी आन्दोलनपछिको राजनीति

अविलम्ब विशेष महाधिवेशनमा जानुपर्छ नेपाली कांग्रेस

असोज ५, २०८२
काठमाडौं
अविलम्ब विशेष महाधिवेशनमा जानुपर्छ नेपाली कांग्रेस

जनअधिकार, सामाजिक न्याय र आर्थिक समुन्नतिका निम्ति आठ दशकदेखि निरन्तर संघर्षरत नेपाली कांग्रेस नेपालको सबैभन्दा पुरानो, लोकप्रिय र प्रभावशाली लोकतान्त्रिक राजनीतिक दल हो, जसले देशको राजनीतिक, सामाजिक र आर्थिक परिवर्तनमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ ।

२००३ सालमा स्थापना भएको यो दलले नेपालको लोकतान्त्रिक आन्दोलन, संविधान निर्माण र लोकतन्त्रको स्थापना एवं पुनःस्थापनामा अग्रणी तथा निर्णायक योगदान पुर्‍याएको छ । बी.पी. कोइराला, सुवर्ण शमशेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाजस्ता नेताहरूको नेतृत्वमा यो दलले राणाशासनको अन्त्य, पञ्चायती व्यवस्थाविरुद्धको संघर्ष र २०६२/६३ को जनआन्दोलनमा नेतृत्वदायी भूमिका खेलेको छ ।

त्यस्तै, सुशील कोइरालाको नेतृत्वमा पछिल्लो संविधान निर्माण गरेर देशको पुनःसंरचना समेत गरेको छ  । यद्यपि समय-समयमा दलभित्र आन्तरिक संकट, द्वन्द्व र विग्रह, नेतृत्वसम्बन्धी विवाद र नीतिगत मतभेदहरू देखा पर्ने गरेका छन्, जसले विशेष कदमहरूको माध्यमबाट समाधानको आवश्यकता सिर्जना गर्छ ।

यसमा राष्ट्रिय भेला, महासमितिको बैठक र कहिलेकाहीँ विशेष महाधिवेशनको समेत आवश्यकता पर्दछ । यस्ता आयोजनाहरूले दलको आन्तरिक लोकतन्त्रलाई बलियो बनाउन, एकता कायम गर्न र नयाँ राजनीतिक परिवेशमा दललाई सशक्त, सान्दर्भिक र अनुकूल बनाउन मद्दत पुर्‍याउँदछ ।

जीवन्त लोकतान्त्रिक राजनीतिक दलका निम्ति यी एक अपरिहार्य मञ्च हुन् । यस लेखमा यतिबेला नेपाली कांग्रेसका लागि विशेष महाधिवेशनको आवश्यकता र औचित्य किन छ भन्ने विषयमाथि थोरै चर्चा गर्नेछौं ।

अहिले हामी जेन्जी पुस्ताले गरेको अभूतपूर्व आन्दोलनको राप र तापमा छौं । जेन्जी एउटा त्यस्तो उमेर समूह हो, जो अभिव्यक्ति स्वतन्त्रता र सुशासनप्रति एकदमै सचेत र प्रतिबद्ध तथा आधुनिक प्रविधिबाट सुसज्जित र जानकार पनि छ । साथै, नागरिक जीवनलाई सुखद, सहज र आत्मसम्मानपूर्ण बनाउने दृढ संकल्पका साथ अघि बढेको छ । र, यसले भर्खरै देशमा स्थापित र प्रचलित मान्यतालाई भत्काउँदै सत्ता निर्माणको नयाँ मानक खडा गरेको छ ।

गज्जबको कुरा त के छ भने उसले नेपालको मौजुदा संविधानलाई सुरक्षित राखेर राष्ट्र नवनिर्माणको ऐतिहासिक यात्रा प्रारम्भ गरेको छ । र, संसदीय निर्वाचनको माध्यमबाट नेपालको बदलिएको राजनीतिलाई अघि बढाउने र संस्थागत गर्ने थप संकल्प लिएको छ ।

ऐतिहासिक सन्दर्भ र विशेष महाधिवेशनको पृष्ठभूमि

नेपाली कांग्रेसको स्थापनाकालदेखि नै आन्तरिक लोकतन्त्रको प्रत्याभूति र संगठनात्मक संरचनाको व्यवस्थापनलाई जोड दिइएको छ । दलको विधानले प्रत्येक चार वर्षमा महाधिवेशन आयोजना गरेर नेतृत्व चयन, नीति निर्माण र संगठन सुदृढीकरण गर्ने व्यवस्था गरेको छ ।

यस्ता महाधिवेशनहरूले दललाई गतिशील र कार्यकर्ताहरूलाई उत्साहित राख्न महत्त्वपूर्ण भूमिका खेल्छन् । तर, विशेष परिस्थितिमा (जस्तै आन्तरिक संकट, नेतृत्व विवाद वा राष्ट्रिय राजनीतिमा परिवर्तन) विशेष महाधिवेशनको आह्वान पनि गर्नुपर्ने हुन सक्छ । यसभन्दा अघि विशेष महाधिवेशनको आयोजना प्रायः निम्न कारणहरूले हुने गरेको छ:

१. आन्तरिक संकट र मतभेद : नेपाली कांग्रेस एक ठूलो र विविधतायुक्त दल हो, जहाँ विभिन्न विचारधारा र नेतृत्वका समूहहरू सक्रिय छन् । यी समूहहरूबीच गहिरो मतभेद उत्पन्न हुँदा दलको एकता र प्रभावकारितामा असर पर्छ । विगतमा बी.पी. कोइराला र सुवर्ण शमशेरबीचको मतभेद वा गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा देखिएका असन्तुष्टिहरूले विशेष महाधिवेशनको मागलाई बलियो बनाएका उदाहरणहरू छन् । यस्ता अवस्थामा विशेष महाधिवेशनले सहमति र एकताको आधार खोज्न सहयोग गर्छ । र, कहिलेकाहीँ भने पार्टी विभाजनको पीडा समेत झेल्नुपरेको छ । २०१४ र २०५९ यसका ज्वलन्त दृष्टान्त हुन् ।

२. नेतृत्व सम्बन्धी विवाद: नेतृत्वको उत्तराधिकार र नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठ्दा विशेष महाधिवेशन आवश्यक हुन्छ । हालको सन्दर्भमा, सभापति शेरबहादुर देउवाको नेतृत्वमाथि दलभित्र र बाहिरबाट प्रश्न उठिरहेको छ । उनको नेतृत्वमा दलले अपेक्षित सफलता हासिल गर्न नसकेको र गठबन्धन राजनीतिमा प्रभावकारी भूमिका खेल्न नसकेको आरोप लाग्ने गरेको छ । विशेष महाधिवेशनले नेतृत्व चयन प्रक्रियालाई पारदर्शी बनाउन र नयाँ नेतृत्वलाई अवसर प्रदान गर्न सक्छ । र, कहिलेकाहीँ यसलाई समय तथा राष्ट्रिय आवश्यकता मान्नुपर्ने हुन्छ ।

३. राष्ट्रिय राजनीतिमा बदलाव : नेपालको राजनीतिक परिदृश्य सधैं गतिशील रहन्छ । २०७२ को संविधान लागू भएपछि संघीयता, स्थानीय शासन र नयाँ राजनीतिक संरचनाहरूले दलहरूको कार्यशैलीमा परिवर्तन ल्याएको छ । सङ्घीय संरचनाले नयाँ अवसर र चुनौतीहरू सिर्जना गरेको छ, जसमा नेपाली कांग्रेसले आफूलाई अनुकूल बनाउनुपर्ने आवश्यकता उत्पन्न गरेको हो । त्यस्तै, विशेष महाधिवेशनले दलको रणनीति र नीतिलाई समयानुकूल बनाउन सहयोग गर्छ । र, दलको घेरा बाहिर रहेको ठूलो जमातलाई दलमा समाहित हुन मार्ग प्रशस्त गर्दछ ।

४. संगठन सुदृढीकरण : समय-समयमा दलको संगठनात्मक संरचनामा सुधार, परिवर्तन र कार्यकर्ताहरूमा उत्साह भर्न विशेष महाधिवेशन उपयोगी हुन्छ । यो मञ्चले दलको संरचनालाई पुनर्गठन गर्न, नयाँ कार्यकर्ताहरूलाई अवसर प्रदान गर्न र पुराना नीतिहरूलाई समयानुकूल बनाउन सहयोग गर्छ । विशेष महाधिवेशनले कार्यकर्ताहरूलाई एकताबद्ध गर्न र दलको आधारलाई बलियो बनाउन महत्त्वपूर्ण भूमिका खेल्छ । र, यी सबै कार्यहरूले दलको दायरा फराकिलो पार्ने र जनमत बढाउने लाभ प्राप्त हुन सक्छ ।

राजनीतिक परिवेश र विशेष महाधिवेशनको आवश्यकता

हालको नेपाली राजनीति अस्थिर र जटिल मोडमा प्रवेश गरेको छ । २०७२ को संविधान लागू भएपछि सङ्घीय व्यवस्थाले नयाँ अवसर र चुनौतीहरू सिर्जना गरेको हो । सङ्घीयता, स्थानीय शासन र गठबन्धन राजनीतिले नेपाली कांग्रेसलाई आफ्नो रणनीति र संगठनात्मक संरचनालाई पुनः परिभाषित गर्न बाध्य बनाएको छ । यद्यपि दलभित्रका आन्तरिक समस्याहरू, नेतृत्वको कार्यक्षमता र नीतिगत अस्पष्टताले यो प्रक्रियालाई थप जटिल बनाएको छ । निम्न बुँदाहरूले हालको सन्दर्भमा विशेष महाधिवेशनको आवश्यकतालाई प्रष्ट पार्छ र अपरिहार्यता झल्काउँछ ।

१. नेतृत्वको कार्यक्षमतामाथि प्रश्न

यतिबेला सभापति शेरबहादुर देउवाको नेतृत्वमाथि दलभित्र र बाहिरबाट प्रश्न उठिरहेका छन् । उनको नेतृत्वमा नेपाली कांग्रेसले पछिल्ला निर्वाचनहरूमा अपेक्षित सफलता हासिल गर्न नसकेको र गठबन्धन राजनीतिमा प्रभावकारी भूमिका खेल्न नसकेको आरोप लाग्ने गरेको छ । खासगरी चुनावी गठबन्धन एउटा दलसँग गर्ने र सत्ता समीकरण अर्को दलसँग गर्ने कार्य विरोधाभासपूर्ण थियो नै । त्यसमाथि सत्तामा पुगेपछिको अकर्मण्यता निकै ठिठलाग्दो थियो ।

२०७९ को आम निर्वाचनमा नेपाली कांग्रेसले गठबन्धनको नेतृत्व गरे पनि अपेक्षित परिणाम प्राप्त गर्न नसकेकाले नेतृत्वमाथि तत्कालै प्रश्न उठेको थियो र कतैबाट पनि यसको चित्त बुझ्दो जवाफ आएन । तत्कालीन समयमा पनि पार्टीका साथीहरूद्वारा गरिएको सत्प्रयासलाई नेतृत्वमा रहेका साथीहरूको साथ प्राप्त भएन । विशेष महाधिवेशनले परम्परागत नेतृत्व चयन प्रक्रियालाई पुनः परिभाषित गर्न र नयाँ नेतृत्वलाई अवसर प्रदान गर्न सक्छ ।

२. आन्तरिक गुटबन्दी र एकताको आवश्यकता

नेपाली कांग्रेसभित्र विभिन्न गुटहरूको प्रभाव स्पष्ट छ । देउवा समूह, कोइराला समूह र बन्दै गएको वा बन्न सक्ने नयाँ समूहबीचको अनुत्पादक द्वन्द्व एवं तनावले दलको एकता कमजोर भएको छ । यी गुटहरूबीचको असमझदारीले दलको संगठनात्मक शक्ति र कार्यकर्ताहरूको मनोबलमा असर परेको छ । विशेष महाधिवेशनले यी गुटहरूलाई एक मञ्चमा ल्याएर वा उभ्याएर सहमति कायम गर्न र दललाई एकताबद्ध बनाउन महत्त्वपूर्ण भूमिका खेल्न सक्छ ।

३. युवा पुस्ताको दबाब र जेन्जी भावना

नेपाली कांग्रेसभित्र युवा पुस्ताले नयाँ नेतृत्व र नीतिगत परिवर्तनको माग गरिरहेका छन् । युवा पुस्ताले दललाई आधुनिक, गतिशील र जनमुखी बनाउन जोड दिइरहेका छन् । नयाँ पुस्ताले सङ्घीय संरचनामा दलको प्रभावकारी उपस्थिति र डिजिटल मैत्री पार्टीको आवश्यकतामाथि जोड दिएका छन् । यसमा उमेर प्रमुख कुरा वा शर्त भने होइन, तर एजेन्डा र गतिशीलताचाहिँ हो । विशेष महाधिवेशनले युवा भावना बुझ्ने र समेट्ने नयाँ नेताहरूलाई अवसर प्रदान गर्ने र दलको भविष्यलाई सुरक्षित राख्दै नयाँ दिशा दिन सक्ने नेतृत्व चुन्ने वा त्यस भावनालाई उच्च सम्मान दिन सक्छ भन्ने हाम्रो विश्वास हो ।

४. राष्ट्रिय राजनीतिमा प्रभावकारी भूमिका

नेपालको वर्तमान राजनीतिक परिदृश्यमा नेपाली कांग्रेसले विपक्षी दलको रूपमा मात्र उभिने कि वर्तमान परिवर्तनलाई संसदीय निर्वाचनका माध्यमबाट संस्थागत गर्ने, एउटा बाटो रोज्नुपर्ने अवस्था छ । आफ्नै कमजोरी र अकर्मण्यताले उत्पन्न अहिलेको राजनीतिक परिवेशमा परिपक्व, जिम्मेवार र सुझबुझपूर्ण भूमिकाको आवश्यकता देखिन्छ । लोकतन्त्रका आधारभूत मान्यतालाई अक्षुण्ण राख्दै नेपाली समाजका अपेक्षाहरूलाई आत्मसात गरेर अघि बढ्नु मात्र बुद्धिमानी हुनेछ । जे हुनु थियो भइसक्यो, अब झन् अग्रगामी सोच राखेर अघि बढ्नुको विकल्प छैन ।

हामीले बुझ्नुपर्छ, हामीले २०१५ सालमा संसदीय निर्वाचन किन स्वीकार गर्यौं, जबकि हाम्रो माग संविधानसभाको निर्वाचन थियो । त्यस्तै, २०३७ सालमा सम्पन्न जनमत संग्रहको नतिजा किन स्वीकार गर्यौं, जबकि चुनावको नतिजा धाँधलीपूर्ण थियो । तसर्थ अवरुद्ध हुन पुगेको लोकतान्त्रिक प्रक्रिया र संविधानलाई सुचारु गर्नका लागि साथै नेपाली कांग्रेसलाई जेन्जी भावना अनुकूल बदल्न पनि विशेष महाधिवेशन अपरिहार्य आवश्यकता हो ।

salt training

कमेन्ट गर्नुहोस्