
दैलेखको डुङ्गेश्वर गाउँपालिकाका लेखा प्रमुख एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कर्णाली प्रदेश कार्यालयबाट खटिएको टोलीले उनलाई सेवाग्राहीसँग घुस लिएको नगदसहित कर्णाली प्रदेश राजधानी सुर्खेतबाट पक्राउ गरेको हो ।
गाउँपालिकाको सातौं तहका वरिष्ठ लेखा अधिकृत टङ्कबहादुर कार्कीलाई सुर्खेतको वीरेन्द्रनगर नगरपालिका– ९ मङ्गलगडी चोकबाट अख्तियारको कर्णाली प्रदेश कार्यालयको टोलीले आइतबार राति एक लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको हो ।
गाउँपालिकाको सडक स्तरोन्नति तथा निर्माण सम्पन्नको अन्तिम भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग लिएको उक्त रकमसहित पक्राउ गरी अनुसन्धान थालिएको अख्तियारको केन्द्रीय कार्यालयका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।