१० साउन २०८३, आइतबार
उत्तरतर्फको व्यापारमा नयाँ विकल्प

विकल्पमा प्रयोग हुन थाल्यो मुस्ताङको कोरला नाका, धमाधम भित्रिँदै कन्टेनर

असोज ८, २०८२
काठमाडौं
विकल्पमा प्रयोग हुन थाल्यो मुस्ताङको कोरला नाका, धमाधम भित्रिँदै कन्टेनर

चीनतर्फका प्रमुख दुई नाका रसुवागढी र तातोपानीमा महिनौंदेखिको अवरोधका बीच मुस्ताङको कोरला नाका विकल्पका रूपमा प्रयोग हुन थालेको छ ।

गएको भदौ ३० देखि विकल्पका रूपमा मुस्ताङ भन्सार कार्यालय, नेचुङ (कोरला नाका)प्रयोग भइरहेको हो ।

यसबीचमा मंगलबारदेखि तातोपानी नाका पनि सञ्चालनमा आएको छ । अरनिको राजमार्ग अन्तर्गत कोदारीमा १८ दिनपछि पहिरो पन्छ्याएर बाटो खुलाइएको हो । यसै बाटोका कारण तातोपानी नाकाबाट आयात निर्यात ठप्प थियो ।

अहिले बाटो खुलेपनि मालबाहक गाडीहरू भन्सार कार्यालयसम्म नआएको तातोपानी भन्सार कार्यालयका प्रमुख राजेन्द्रप्रसाद चुडालले जानकारी दिए ।

नेपालबाट खाली कन्टेनरहरू मात्रै चीनतर्फ गएको तर, मालवाहक कन्टेनरहरू नेपालतर्फ नआएको उनको भनाइ छ । 

‘सोमबारदेखि बाटो एकतर्फी खुलेको छ । यहाँबाट खाली गाडीहरू गएका छन्’, उनले भने, ‘तर मालवाहक गाडीहरू भन्सारमा आइपुगेका छैनन् । बाटो थोरै बनाउनुपर्ने भएकाले काम भइरहेको छ ।’

व्यवसायीहरूले दुई महिनादेखि चीनका विभिन्न स्थानमा अलपत्र परेका सामानसहितका कन्टेनर री–रुट गरी मुस्ताङको कोरला नाकामा पुर्‍याएर नेपालतर्फ भित्र्याइरहेको नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष हेमलाल खरालले जानकारी दिए । अहिलेसम्म कोरला हुँदै ५० देखि ६० मालवाहक ट्रक नेपाल भित्रिएको उनको भनाइ छ । 

२०८० सालमा नै सञ्चालनमा आएको मुस्ताङ भन्सार कार्यालय, नेचुङ (कोरला नाका) भदौ ३० गतेदेखि पूर्णरूपमा प्रयोगमा आएको हो । यसअघि आयात निर्यातका लागि ठप्प रहेको, तर जिल्ला प्रशासन कार्यालयबाट जारी भएको प्रवेश अनुमति पत्रका आधारमा केही सामान वारपार हुने गरेको थियो ।

गत भदौ २१ गते भन्सार विभागले कर्मचारी नै खटाएर भन्सार कार्यालयलाई पूर्णरूपमा सञ्चालन गर्न निर्देशन दिएको थियो । 

अहिले मुस्ताङ हुँदै चीनतर्फका गाडीहरू नेपाल भित्रिने भएपछि कोरला नाकाबाट १० किलोमिटर नेपालतर्फ रहेको भन्सार कार्यालयबाट जाँचपासको काम भइरहेको उनले बताए । 

null

दशैंतिहारलाई लक्षित गरी ल्याइएका मालवाहक कन्टेनर चीनको विभिन्न स्थानमा अलपत्र परेका थिए । ती कन्टेनरलाई री–रुट गरी कोरला नाका हुँदै भित्र्याउने काम भइरहेको छ ।

कन्टेनरमा फलफूल, लसुन, जुत्ता, तयारी पोशाक, हल्का ज्याकेट र जर्सी, बेल्ट, घडी, खेलकुदका सामान, कस्मेटिक्स, तन्ना, रेडिमेड डसना, तिहारमा बाल्ने झिलिमिली विद्युतीय बत्तीसहित विद्युतीय उपकरणलगायतका सामानहरू रहेका छन् । 

विशेष गरी वर्षभरि सुस्त चलिरहने बजार दशैं, तिहार र छठ पर्वको समयमा बढी चलायमान हुने गर्दछ । यस वर्ष भने सबैभन्दा बढी बिक्री हुने समयमा नयाँ सामान नआउँदा व्यवसायी मारमा छ । 

यसरी मुस्ताङको कोरला नाकाबाट कन्टेनर ल्याउँदा  डेढदेखि दुई लाख अतिरिक्त खर्च लाग्ने व्यवसायीहरूको भनाइ छ । कोरला नाका हुँदै पोखरा भएर काठमाडौं ल्याउनका लागि ४ देखि ५ दिन लग्ने व्यवसयाीहरू बताउँछन् ।

यता काठमाडौंका प्रमुख र ठूला होलसेल बजारहरूमा नयाँ सामान नै नआएपछि पुरानै स्टकहरू चलाइरहेका छन् ।

दशैं तिहारमा तथा हिउँदका लागि उपभोग हुने सामानमध्ये करिब ७० प्रतिशत चीनबाट आयात हुने गरेको छ । त्यसमा पनि पछिल्लो दुई महिनादेखि चीनका प्रमुख नाकामा बाटो अवरुद्ध भएपछि भरिया लगाएर भए पनि व्यवसायीहरूले केही मात्रामा सामान ल्याएका थिए ।

काठमाडौंका प्रमुख होलसेल बजार महाबौद्ध खिचापोखरी, न्युरोड, इन्द्रचोक, भोटाहिटी, जमल लगायतका स्थानमा व्यवसायीहरूले अहिले पुरानै सामान बिक्री गरिरहेका छन् ।

बजारलाई चलायमान बनाउन आवश्यक पर्ने सामानका कन्टेनर अहिले पनि सहज रूपमा नेपाल भित्रिन पाएका छैनन् ।

यता तातोपानी नाका हुँदै भित्रिने गाडीहरू पहिरोका कारण रोकिएपछि दैनिक १ हजार ५ सयदेखि २ हजारको संख्यामा भरियाहरू खटिएर केही सामान नेपाल भित्र्याउँदै आएका थिए ।

सडक मार्ग अवरुद्ध हुँदा तिज, दशैं र तिहारलक्षित ५ सयभन्दा बढी कन्टेनर केरुङमा र तातोपानीमा १ हजार ६ सय सामान बोकेका कार्गो कन्टेनर चीनको ल्हासा–न्यालममा रोकिएका छन् । 

अहिले मुस्ताङबाट सामान भित्रिँदै आएपनि काठमाडौं भित्रिनका लागि पृथ्वीराजमार्गमा पहिरो गएका कारणले समयमै समान आइनपुग्ने व्यवसायीहरू बताउँछन् ।

 

salt training

कमेन्ट गर्नुहोस्