
७० मेगावाटको दूधकोशी—२ (जलेश्वर) जलविद्युत् आयोजनाका लागि लगानी सम्झौता भएको छ।
लक्ष्मी सन्राइज बैंक लिमिटेडको अगुवाइमा सहवित्तीयकरणमा सहभागी बैंकहरू र दूधकोशी हाइड्रोपावर नेपाल प्रालिबीच लगानी सम्झौता भएको हो ।
सोलुखुम्बुस्थित दूधकोशी नदीमा निर्माण गर्ने ७० मेगावाटको अर्धजलासय दूधकोशी- २ (जलेश्वर) जलविद्युत आयोजनामा लगानी सम्झौता गरिएको हो ।
सो आयोजनाको कुल लागत १५ अर्ब रुपैयाँ रहेको छ । यो सहकार्यले नेपालको नवीकरणीय उर्जा परिदृश्यमा महत्त्वपूर्ण भूमिका खेल्ने कम्पनीले जनाएको छ ।
दूधकोशी—२ (जलेश्वर) जलविद्युत् आयोजनाले २०७७ असोज ७ गते विद्युत् विकास विभागबाट विद्युत् उत्पादनको अनुमति लिनुका साथै २०७८ मंसिर ६ गते नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद बिक्री सम्झौता समेत गरिसकेको छ ।
कम्पनीको मुख्य प्रवर्द्धकका रूपमा आयु मलुन हाइड्रोपावर, कदम केसी, किरण मल्ल, अभिज्ञा मल्ल, विक्रम गौतम, विकास गौतम, अरुण अग्रवाल, नरेन्द्र गुप्ता, डा. हिमाल भट्टराई तथा विभिन्न प्राइभेट इक्विटी भेन्चर क्यापिटल रहेका छन् ।
सो परियोजना निर्माणका लागि लक्ष्मी सन्राइज बैंकको नेतृत्वमा सहवित्तीयकरणमा सहभागी बैंकहरूले परियोजना लागतको ७० प्रतिशत लगानी गर्ने प्रतिवद्धता जनाएका छन् भने बाँकी ३० प्रतिशत रकम सो कम्पनीका संस्थापकबाट लगानी हुनेछ ।
सहवित्तियकरणमा एभरेष्ट बैंक सह–अगुवा बैंक र सानिमा बैंक सदस्य बैंकको रूपमा रहेका छन् भने कुल प्रोजेक्ट फाइनान्स १० अर्ब ५० करोड रुपैयाँ रहने छ ।
सो आयोजना जुलाई २०२९ भित्र निर्माण सम्पन्न भई विद्युत् उत्पादन भएपश्चात वार्षिक करिब ४१७ गिगावाट आवर इनर्जी विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जडान हुनुको साथै देशकै ठूलो स्वतन्त्र उर्जा उत्पादक मध्यको रूपमा रहने कम्पनीले जनाएको छ ।