
चालु आर्थिक वर्षको दुई महिनामा वीरगञ्ज नाकाबाट १७ अर्ब तीन करोड मूल्य बराबरका वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात भएको छ ।
गत आवको सोही अवधिको तुलनामा चालु आवको दुई महिनामा १० अर्ब ९८ करोडभन्दा बढीको वस्तु तथा सामान निर्यात भएको हो । गत आवको पहिलो दुई महिनामा यस नाकाबाट ६ अर्ब पाँच करोड मूल्य बराबरको वस्तु तथा सामान निर्यात भएको थियो ।
वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले वीरगञ्ज नाका हुँदै चालु आवको दुई महिनामा निर्यात उत्साहजनक भएको बताए ।
‘गत आवको दुई महिनाको तुलनामा चालु आवको सोही अवधिमा यहाँबाट हुने निर्यात १८१ प्रतिशतले वृद्धि भएको छ’, उनले भने, ‘गत आवको दुई महिनामा यहाँबाट हुने वैदेशिक व्यापारको अनुपात १:२० रहेको अहिले सो अनुपातमा सुधार भएर १:६० मा पुगेको छ ।’
वीरगञ्ज नाका हुँदै चालु आवको दुई महिनामा आठ अर्ब ८४ करोड मूल्य पर्ने चार करोड २८ लाख २४ हजार ८७१ लिटर भटमासको तेल प्रशोधित निर्यात भएको छ । जबकी गत आवको सोही अवधिमा भने तीन लाख मूल्य पर्ने ४८० लिटर भटमासको तेल प्रशोधित निर्यात भएको थियो ।
त्यस्तै, चालु आवको दुई महिनामा एक अर्ब २४ करोड मूल्य पर्ने एक करोड २६ लाख ९५ हजार ७३२ लिटर फलफूलको जुस विदेशी मुलुकमा निर्यात भएको छ । जबकी गत आवको सोही अवधिमा भने एक अर्ब २९ करोड मूल्य पर्ने एक करोड ३६ लाख ४८ हजार १५५ लिटर जुस निर्यात भएको थियो ।
चालु आवको दुई महिनामा एक अर्ब १७ करोड मूल्य बराबरको तीन करोड ४१ लाख १३ हजार २३० लिटर सूर्यमुखीको प्रशोधित तेल निर्यात भएको छ । जबकी गत आवको सोही अवधिमा भने नगन्य मात्रामा मात्रै निर्यात भएको थियो ।