२८ जेठ २०८३, बिहीबार
विशेष स्टोरी

एक दिनको विध्वंशले निजी क्षेत्रमा खर्ब बढीको क्षति, आन्तरिक लगानी समेत जोगाउन मुस्किल

असोज १२, २०८२
काठमाडौं
एक दिनको विध्वंशले निजी क्षेत्रमा खर्ब बढीको क्षति, आन्तरिक लगानी समेत जोगाउन मुस्किल

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनले निजी क्षेत्रमा झन्डै एक खर्बको क्षति पुगेको छ । आन्दोलनका नाममा गरिएको तोडफोड र आगजनीले ठूलादेखि साना व्यापार–व्यवसायमा अपूरणीय क्षति पुगेको हो ।

देशभर भएको तोडफोड र आगजनीबाट निजी क्षेत्रमा करिब ८० अर्बको क्षति भएको नेपाल उद्योग वाणिज्य महासंघले प्रारम्भिक अनुमान गरेको छ । तर, यकिन तथ्यांक आइसक्दा एक खर्ब नाघ्ने अनुमान व्यवसायीहरूले गरेका छन् । 

आन्दोलनका क्रममा साना व्यवसायीदेखि ठूला व्यावसायिक घरानाहरूसम्ममा आक्रमण गरिएको थियो । आन्दोलनबाट प्रभावित निजी क्षेत्रका व्यवसायीहरूले आफ्नो मनोबल बढाउन सकिरहेका छैनन् ।

बुधबारसम्म बिमा कम्पनीहरूमा कुल २३ अर्ब ३९ करोड २७ लाख रूपैयाँ बराबरको क्षतिको दाबी परेको बिमा प्राधिकरणले जनाएको छ । निजी क्षेत्रमा सबैभन्दा बढी काठमाडौं उपत्यकामा क्षति भएको प्रारम्भिक अनुमान छ । यसका साथै उपत्यका बाहिरका ठूला शहरहरूमा पनि ठूलो क्षति भएको छ । 

कुन व्यावसायिक घरानामा कति भयो क्षति ? 

चर्चित व्यावसायिक घराना चौधरी समूह (सीजी) का उद्योग र निजी निवासमा समेत तोडफोड र आगजनी गरिएको छ ।

काठमाडौंको सतुंगलस्थित चौधरी ग्रुपको ‘सिजी इलेक्ट्रोनिक्स डिजिटल पार्क’ गोदाम, सीजी नेटको सर्भर तथा डाटा सेन्टर र मोटर शोरुममा तोडफोड तथा आगजनी गरिएको थियो ।

यसका साथै चौधरी समूह अन्तर्गतकै थापाथलीस्थित सिजी मोटर्सको शोरुममा पनि आगजनी गरिएको थियो । अहिलेसम्म सिजीअन्तर्गतका उद्योग–व्यवसायमा मात्रै करिब ५ अर्ब रूपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ । 

नेपालको अर्काे व्यापारिक घराना शंकर समूहले साढे ८ अर्ब लगानीमा खोलेको हिल्टन होटलमा पनि तोडफोड र आगजनी गरिएको थियो । उक्त होटल पूर्णरूपमा जलेर ध्वस्त हुँदा साढे ८ अर्बकै क्षति भएको अनुमान गरिएको छ । 

अटो व्यवसायी तथा नाडा अटो मोबाइल्स एसोसिएसन अफ नेपालका पूर्व अध्यक्ष ध्रुव थापाको घर र गाडीको शोरुममा आगजनी तथा तोडफोड गरिएको थियो । पोखरामा रहेको थापाको घर र शोरुममा आगजनी हुँदा साढे १६ करोडको क्षति भएको अनुमान गरिएको छ ।

व्यक्तिगत घर जलेपछि थापा अहिले भाडाको घरमा बसिरहेका छन् । 

आन्दोलनका क्रममा अर्का व्यवसायी तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालको लगानी रहेको चन्द्रागिरि केबुलकार र मौलाकालिका केबुलकारको कार्यालयमा समेत आगजनी र तोडफोड गरिएको थियो ।

नेपालका अर्का ठूला व्यवसायी मीनबहादुर गुरुङको ठूलो सुपर मार्केटको सञ्जाल रहेको भाटभटेनीमा आगजनी, तोडफोड, चोरी तथा लुटपाट भएको छ । भटभटेनीकै विभिन्न १२ वटा स्टोरहरू पूर्णरूपमा क्षति भएका छन् भने ८ वटामा आंशिक क्षति भएको छ । हालसम्म २० वटा स्टोरमा करिब  १० अर्ब ८५ करोड बराबरको क्षति भएको अनुमान गरिएको छ ।

भाटभटेनी

अर्का व्यवसायी पवन गोल्यानको गोल्यान टावर बानेश्वरमा पनि तोडफोड र आगजनी गरिएको थियो ।  यसका साथै व्यवसायी उपेन्द्र महतोको निजी आवासमा समेत लुटपाट तथा तोडफोड र आगजनी गरिएको थियो । यी कसैले पनि क्षतिको विवरण सार्वजनिक गरेका छैनन् । 

अर्बौं लगानी रहेको टेलिकम कम्पनी एनसेलको काठमाडौंको लैनचौरस्थित मुख्य कार्यालयमा समेत आगजनी र तोडफोड गरिएको छ ।

कम्पनीमा रहेका महत्त्वपूर्ण सामग्री, कागजात, सवारी साधनहरूमा आगजनी गरिएको थियो । एनसेलमा अर्बौंको क्षति भएको अनुमान गरिएको छ । तर, आधिकारिक रूपमा एनसेलले क्षतिको विवरण सार्वजनिक गरेको छैन । 

एनसेल

अर्का व्यवसायी तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष शेखर गोल्छाको निजी निवासमा समेत तोडफोड र आगजनी गरिएको थियो । सितापाइलास्थित गोल्छाको घर तोडफोड र आगजनी गरिएको हो । उनले आफ्नो व्यक्तिगत घरमा भएको नोक्सानीको कुनै हिसाब गर्न नमिल्ने बताएका छन् । 

थापाथली स्थित सेन्ट्रल बिजनेस पार्क, तीनकुने स्थित कान्तिपुर कम्प्लेक्स र काठमाडौंका साना तथा ठूला व्यावसायिक भवन र निजी निवासहरूमा आगजनी र लुटपाट भएको थियो । 

होटल क्षेत्रमा मात्रै करिब २५ अर्बको क्षति 

आन्दोलनले देशभरका दुई दर्जन होटलहरूमा करिब २५ अर्बभन्दा बढीको क्षति भएको आकलन गरिएको छ । होटल संघ नेपालले झन्डै २ दर्जन होटलहरूमा ठूलो क्षति पुगेको जनाएको छ ।

संघका अनुसार काठमाडौं उपत्यका, पोखरा, बुटवल, भैरहवा, झापा, मोरङ (विराटनगर), धनगढी, महोत्तरी, दाङ तुलसीपुर लगायतका क्षेत्रमा सञ्चालित स्वदेशी तथा विदेशी ब्रान्डका चेनमा खुलेका होटलमा तोडफोड, आगजनी, लुटपाटबाट करिब २५ अर्ब बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

होटलहरूले व्यहोर्नु पर्ने बैङ्क–वित्तीय संस्था लगायतका आर्थिक दायित्व नियमित रूपमा तिर्न बुझाउन असमर्थ रहने देखिएको समेत संघको भनाइ छ । यसका साथै यी होटलहरूबाट करिब दुई हजारभन्दा बढी कामदार–कर्मचारीको चाडपर्वको समयमा रोजीरोटीमा समेत प्रत्यक्ष प्रभाव परेको छ ।

हिल्टन होटल

अटोमोबाइल्स क्षेत्रमा कहाँ कति भयो क्षति ? 

जेनजी आन्दोलनबाट अटोमोबाइल्स क्षेत्रमा ठूलो धक्का लागेको छ । भदौको पहिलो सातामा देशकै ठूलो अटो शो सम्पन्न भएको थियो । अटो शोमा हजारौं सवारी साधन बूक भएका थिए ।

ती बूक भएका गाडीहरू नेपाल भित्रिन नपाउँदै आन्दोलनबाट काठमाडैंको प्रमुख अटो बजारका रूपमा चिनिने थापाथलीमा एकै दिन गाडीका शोरुमहरूमा तोडफोड र आगजनी भयो । 

काठमाडौंको थापाथलीमा रहेको सिजी मोटर्स, टाटा मोटर्स, सुजुकी र ह्युन्डाइको शोरुमहरूमा तोडफोड र आगजनी गरिएको थियो । शोरुमहरूमा रहेका नयाँ गाडी  जलाइएका छन्, जहाँ अर्बौंको क्षति भएको आकलन गरिएको छ । यद्यपि आधिकारिक क्षतिको विवरण नाडा अटोमोबाइल्स एसोसिएसन आफ नेपालले संकलन गरिरहेको जनाएको छ । यसका साथै स्पेयर पार्टस तथा पुराना गाडीहरूमा पनि क्षति पुगेको छ ।  

null

कुन जिल्लामा कति भयो क्षति ? 

सुदूरपश्चिम प्रदेशमा कञ्चनपुर जिल्लामा व्यवसायीहरूको करिब ३५ करोडको क्षति भएको कञ्चनपुर उद्योग वाणिज्य संघको प्रारम्भिक अनुमान छ ।

संघले निकालेको प्रारम्भिक तथ्या‌ंकअनुसार ३५ करोड ४४ लाख रूपैयाँ बराबरको आगजनी तथा तोडफोडबाट क्षति भएको छ । 

कञ्चनपुर जिल्लामा सबैभन्दा बढी होटलहरूमा क्षति भएको देखिन्छ । त्यस्तै, ब्युटी पार्लरदेखि कपडा सिलाउने पसलहरूसम्म तोडफोड र लुटपाट गरिएको छ । जहाँ सीएनजी र डायमन्ड क्यासिनोमा १७/१७ करोडको क्षति भएको छ । 

कैलाली जिल्लाको टीकापुरमा निजी क्षेत्रमा कुनै पनि क्षति नभएको टिकापुर उद्योग वाणिज्य संघका महासचिव नवराज रिमाल बताउँछन् ।

सार्वजनिक सम्पत्तिमा अत्यधिक क्षति भएको तर, निजी सम्पत्ति र व्यवसायमा केही नभएको उनको भनाइ छ । कैलाली जिल्लाभरिमा निजी क्षेत्रमा भाटभटेनी, ट्याम्पल रिसोर्ट र जल्सा होटलमा क्षति भएको कैलाली वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्करराज ओझाले बताए । त्यसबाहेक अन्य व्यवसायीहरूको ठूलो क्षति नभएको उनको भनाइ छ । 

कञ्चनपुर र कैलालीबाहेक सुदूरपश्चिम प्रदेशका बझाङ, दार्चुला, डोटी, डडेल्धुरा, बाजुरा, दार्चुला र बैतडीमा कुनै पनि निजी क्षेत्रमा क्षति नभएको जिल्ला वाणिज्य संघहरूले स्पष्ट पारेका छन् । 

लुम्बिनी प्रदेशमा बाँके, अर्घाखाँची, पश्चिम नवलपरासी, बर्दिया, रूपन्देही, कपिलवस्तु र दाङ जिल्लाहरूमा आन्दोलनबाट प्रभावित भएका छन् । निजी क्षेत्रका संस्था, कार्यालय तथा व्यापार व्यवसायमा आगजनी र तोडफोड गरिएको छ । 

बाँके जिल्लाको कोहलपुर– ११ त्रिभुवन चोकमा रहेको कोहलपुर उद्योग वाणिज्य संघको कार्यालयमा तोडफोड गरिएको छ । कोहलपुर उद्योग वाणिज्य संघको कार्यालयमा ढुंगा प्रहार गरी केही सिसा फुटाइएको संघका उपाध्यक्ष चिरञ्जीवी ओलीले जानकारी दिए । यसबाहेक कोहलपुरमा नगरपालिका कार्यालयसँगै जोडिएका केही सटरमा पनि तोडफोड भएको उनको भनाइ छ । 

‘संघको कार्यालयमा सामान्य ढुंगा प्रहार भएको छ । सिसाहरू फुटेका छन् । त्यसबाहेक पालिका कार्यालयसँगै जोडिएका केही सटरहरूमा पनि तोडफोड भएको छ’, उनले भने, ‘त्यसबाहेक निजी क्षेत्रमा केही क्षति भएको अहिलेसम्म जानकारीमा आएको छैन । अधिकांश सरकारी संरचना र नेताहरूको घरमा तोडफोड र आगजनी भएको छ ।’ 

रूपन्देहीको बुटवलमा तीन ठूला होटलहरू र एउटा सुपर मार्केटमा ठूलो क्षति भएको बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले बताए । ठूलो आगजनी र तोडफोड भएकाले विवरण संकलन भइरहेको उनको भनाइ छ । 

बुटवलको ठूलो तारे होटल ‘ड्रिम इन्टरनेसनल’, ड्रिमल्यान्ड गोल्ड रिसोर्ट, होटल टुलिप र भाटभटेनी सुपर मार्केटमा ठूलो क्षति भएको छ ।

यसका साथै केही हार्डवेयर पसलहरूमा पनि तोडफोड भएको छ । रूपन्देहीकै तिलोत्तमा उद्योग वाणिज्य संघको कार्यालयमा समेत तोडफोड र आगजनी भएको छ । संघको कार्यालयमा मात्रै करिब ३६ लाखको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

यसका साथै दाङ, बर्दघाट र परासीमा रहेका उद्योग वाणिज्य महासंघका जिल्ला संघहरूको कार्यालयमा तोडफोड भएका छन् । यसबाहेक ठूलो व्यावसायिक क्षति भने नभएको व्यवसायीहरूले बताएका छन् । 

गण्डकी प्रदेशमा कास्की जिल्ला र केही प्रमुख शहरहरूमा निजी क्षेत्रमा क्षति भएको उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचनले बताए । गण्डकी प्रदेशमा सबैभन्दा बढी कास्की जिल्लामा क्षति भएको र क्षतिको तथ्यांक संकलन भइरहेको उनको भनाइ छ । 

नवलपरासीमा केही व्यक्तिको घरबहेक अन्य निजी व्यापार, उद्योग तथा संस्थाहरूमा क्षति नभएको नवलपुर उद्योग वाणिज्य संघका महासचिव बुद्धि सागरले जानकारी दिए । त्यस्तै, स्याङ्जा जिल्लाभरिमा पनि कुनै पनि निजी सम्पत्ति तथा व्यापार व्यवसायमा क्षति नभएको स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष माधव श्रेष्ठले जानकारी दिए । 

तनहुँ जिल्लामा व्यक्तिगत स्टुडियोबोहक निजी क्षेत्रमा आन्दोलनबाट क्षति नभएको तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष वैकुण्ठनाथ मिश्रले जानकारी दिए । यसबाहेक तनहुँ जिल्लाभरिमा कुनै पनि ठूलो निजी सम्पत्तिमा क्षति भएको जानकारी नरहेको उनले बताए । 

बागमती प्रदेशमा सबैभन्दा बढी क्षति काठमाडौं उपत्यकामा भएको छ । काठमाडौं उपत्यकाबाहेक चितवन, मकवानपुर, रामेछाप जिल्लामा पनि क्षति भएको उद्योग वाणिज्य संघ बागमती प्रदेशका उपाध्यक्ष गुणराज श्रेष्ठले जानकारी दिए । 

यता मधेश प्रदेशमा वीरगञ्जबाहेक अन्य जिल्लाहरूमा ठूलो क्षति नभएको उद्योग वाणिज्य संघ मधेश प्रदेशका अध्यक्ष अशोककुमार तिमनीले जानकारी दिए । यसबाहेक निजी क्षेत्रमा भएको क्षतिको विवरण संकलन भइरहेको उनको भनाइ छ । 

पूर्वमा केही होटल र भाटभटेनीमा ठूलो क्षति भएको देखिन्छ । इटहरि जिल्लामा रहेको नेपालरिका होटल, र्‍याडिसन होटल र भाटभटेनी सुपर मार्केटमा आगजनी र तोडफोड भएको उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका उपाध्यक्ष भीमबहादुर पौडेलले जानकारी दिए ।

नेपालरिका होटलमा करिब ३० करोडको क्षति भएको आकलन गरिएको छ । व्यवसायी मोती दुगडको लगानी रहेको र्‍याडिसन होटलमा करिब २५ लाख बराबरको क्षति भएको अनुमान गरिएको छ । 

null

पुन: उठ्ने कि पलायन हुने भन्नेमा अन्योलता ! 

जेनजी आन्दोलनबाट ठूलो क्षति भोगेका निजी क्षेत्रका प्रतिनिधिहरूले आफ्नो आत्मबल बढाइरहेका छन् । ठूलो क्षतिका बाबजुद पुन: उठ्ने हिम्मत देखाइरहेका छन् । निजी क्षेत्रलाई उठ्नका लागि सरकारले सुरक्षा र राज्य संयन्त्रहरूको प्रत्याभूति गराउनुपर्ने नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकाल बताउँछन् ।

सरकारले व्यवसायीहरूलाई सुरक्षाको प्रत्याभूति दिलाउन सकेमा मात्रै व्यवसायीहरू पुन: उठ्ने उनको भनाइ छ । ‘राज्यले व्यवसायीहरूको लगानी सुरक्षित छ भन्ने कुराको ग्यारेन्टी गर्न सक्नुपर्छ । होइन भने, व्यवसायीहरूले कसरी लगानी गर्ने ? यस्तो आन्दोलन पुन: नहोला भन्ने छैन’, उनले भने, ‘त्यसैले सबैभन्दा पहिलो राज्यले सुरक्षाको प्रत्याभूति गर्नुपर्छ ।’ 

आन्तरिक लगानी नै सुरक्षित नभएको स्थानमा व्यवसायीहरूले पुन: लगानी गर्नका लागि सोच्नुपर्ने बाध्यता आएको नाडा अटो मोबाइल्स एसोसिएसन अफ नेपालका पूर्व अध्यक्ष ध्रुव थापा बताउँछन् ।

पोखरामा रहेको घर र गाडीको शोरुम ध्वस्त भएर भाडाको घरमा बसिरहेका थापा राज्यले सुरक्षाको प्रत्याभूति नदिएसम्म उठ्न नसक्ने बताउँछन् । 

‘कुनै व्यक्तिको निजी सम्पत्ति सुरक्षित नभएको स्थानमा विदेशी लगानीको त कल्पना नगर्दा पनि हुन्छ । हामीले आफ्नो आन्तरिक लगानीलाई पनि सुरक्षित गर्न सकेनौं’, थापाले भने, ‘सरकारमा जोसुकै भए पनि लगानीकर्ताको लगानी सुरक्षित गर्ने जिम्मेवारी राज्यको हो । अहिले त लगानी मात्रै होइन, मानवीय क्षतिको पनि डर त्यत्तिकै छ ।’ 

आन्दोलनले व्यवसायीहरूलाई पलायन समेत गर्ने उनको बुझाइ छ । भएको लगानीलाई जोगाउन र व्यवसायीलाई पलायन हुन नदिन राज्यले सुरक्षाको प्रत्याभूति दिलाउनुपर्ने उनको भनाइ छ ।

जेनजी प्रदर्शनका क्रममा आफू र आफ्नो परिवार समेत प्रभावित भए पनि निराश वा विचलित नभएको नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष शेखर गोल्छाले बताए । अझै सशक्त भएर देशमा रोजगारी सिर्जना र लगानी गर्न प्रतिबद्ध रहेको उनको भनाइ छ ।

पढ्नुहोस्, यो पनि :

६५ वर्षमा नेपाली पत्रकारिताले भोगेको संकट– सत्ता, विद्रोही र प्रदर्शनकारीको सधैं निशानामा !

सेनाले उद्धार गर्नुअघि मन्त्री क्वार्टरमा के भएको थियो ? भैरवनाथ गणभित्र मन्त्रीले के भोगे ?

प्रहरीका ४८६ युनिटमा क्षति, ३३३ सवारी जले, १२ सय ४७ हतियार लुटियो
 

salt training

कमेन्ट गर्नुहोस्