३० जेठ २०८३, शनिबार
आन्दोलनले दिएको पीडा

उत्साह हराएको दशैं: घरसँगै जल्यो वर्षौंको पसिना र पुरानो त्यो माहोल

असोज १५, २०८२
काठमाडौं
उत्साह हराएको दशैं: घरसँगै जल्यो वर्षौंको पसिना र पुरानो त्यो माहोल

नेपाली अटोमोबाइल्स क्षेत्रमा सफल व्यवसायीका रूपमा परिचित ध्रुव थापाले गत वर्षको दशैं निकै उत्साहपूर्ण माहोलमा मनाएका थिए । सधैँ जस्तै थापाको घरमा दशैंको टीका थाप्नका लागि आफन्तहरूको भीड थियो ।

तर, यसपालिको दशैंमा थापा परिवारमा उत्साह छैन । आफन्तहरू छन्, परिवारका सम्पूर्ण सदस्यहरू पनि छन्, तर केवल छैन पहिलेजस्तो माहोल र खुसी ।

जेनजी आन्दोलनका क्रममा आगो झोसेर उनको घर ध्वस्त पारिएको छ ।

करिब ३५ वर्षदेखिको मेहनतले बनाएको घर क्षणभरमै आन्दोलनकारीले खरानी पारिदिएको दृश्य उनको मानसपटलमा अझै घुमिरहन्छ ।

१७ वर्षकै उमेरमा ‘सेकेन्ड ह्यान्ड’ मोटरसाइकल बिक्री गर्दै व्यावसायिक यात्रा शुरू गरेका ध्रुव थापा फोर्ड र म्याक्सस गाडीका आयातकर्ता हुन् ।

यसका साथै पोखरामा थापाले अन्य दुई गाडीको डिलर पनि चलाइरहेका छन् । २०७८ सालमा नाडा अटोमोबाइल्स एसोसिएसन आफ नेपालको अध्यक्षमा निर्वाचित भएका थापाले नेपालको अटोमोबाइल्स क्षेत्रमा प्रभावकारी छाप छाडेका छन् ।

नेपालको आटोमोबाइल्स क्षेत्रको ठूलो संस्था नाडाको नेतृत्व गरेका थापा करिब डेढ वर्षदेखि अभिभावकको भूमिकामा थिए । भदौ २३ को जेनजी आन्दोलनमा भएको मानवीय क्षतिका कारण रातभर निदाउन नसकेका थापाले भोलिपल्टको घटना कल्पना पनि गरेका थिएनन् ।

भोलिपल्ट पोखरामा रहेको थापाको ५ तले घरमा तोडफोड र आगजनी भयो । यति मात्रै नभएर घरमा काम गर्ने महिला पनि जलेर मृत्युवरण गर्न बाध्य भइन् ।

नजिकिँदै गरेको चाडपर्वकै अगाडि थापाको घर मात्रै जलेन, उनी भित्रको उत्साह र उमंग पनि जलेर खरानी भयो । ‘मेरो ३५ वर्षदेखिको मेहनत र पसिनाले जोडेको घर एक छिनमै सबै खरानी बनाइदिए’, थापाले सुनाए । थापाको घरमा मात्रै साढे १६ करोड बराबरको क्षति भएको छ । 

थापाको घर जलेपछि उनी भाडाको घरमा बसिरहेका छन् ।

आफ्नो घरमै चाडपर्व मनाउन नसक्ने अवस्था आइलागेको छ । धार्मिक र सांस्कृतिक आस्थाका कारण दशैं मनाइरहेको तर, उत्साह र उमंग भने नरहेको उनले बताए ।

‘दशैं त मनाइँदैछ । तर, दशैंमा हुने उत्साह र उमंग केही छैन । भर्खरै यत्रो विध्वंश भएको छ’, उनले भने, ‘पारिवारिक माहोल उत्साहपूर्ण छैन । चाडपर्व हो, मनाउनु पर्छ । तर, त्यो खालको उमंग रहेन ।’ हरेक वर्षझैँ चाडपर्वमा पारिवारिक घुमघाम यस वर्ष नहुने थापाले बताए । 

००००

थापा राजनीतिक व्यक्ति होइनन् । आन्दोलनका क्रममा आफू मात्रै नभएर समग्र निजी क्षेत्रमाथि नै ठूलो आक्रमण भएको उनको बुझाइ छ । 

‘राजनीतिक मान्छे पनि थिइनँ । न कुनै भ्रष्टाचार मुद्दा मामिलामा जोडिएको थिएँ’, उनले भने, ‘व्यापारी भएकै कारणले मेरो घर जल्यो । यसको दोष कसलाई दिने ?’

null

युवा पुस्तालाई नेपालमै केही गर्नुपर्छ र सम्भावना छ भनेर प्रेरित गर्ने थापासँग अहिले युवालाई सम्भावना देखाउने कुनै आधार छैन । 

‘१७ वर्षको उमेरदेखि कलेज पढ्दै उद्यम गर्न शुरू गरेको थिएँ । कति आरोह–अवरोह र जोखिम पार गरेर यो स्थितिमा आइपुगेको हुँ । नेपालमै सम्भावना धेरै छ भन्दै अभिप्रेरित गर्थें, तर अहिले मसँग कुनै जवाफ छैन,’ थापाले भने । 

अझै पनि आफू पुन: उठ्ने उनको आत्मविश्वास छ । व्यवसायी भइसकेपछि हार्ने र निराश हुने छुट आफूलाई नरहेको उनी बताउँछन् । 

‘जे नहुनु थियो, भयो । अझै पनि उठ्छु । अहिलेसम्मको मेरो व्यावसायिक यात्राले निकै कठिन परिस्थितिबाट उठ्न सिकाएको छ । अब अझै सशक्त भएर उठ्छु ।’

थापाको भनाइ जस्ताको त्यस्तै

‘म कुनै राजनीतिक मान्छे थिइनँ । न कुनै भ्रष्ट वा तस्कर । १७ वर्षको उमेरदेखि कलेज पढ्दै उद्यम गर्न शुरू गरेको थिएँ । कति आरोह–अवरोह र जोखिम पार गरेर यो स्थितिमा आइपुगेको हुँ । मैले आफूले मात्रै व्यवसाय गरिनँ, अरूलाई पनि सिकाएँ । नेपालमै उद्यम गर्नुपर्छ भन्दै अभिप्रेरित गर्दै आएँ ।

व्यवसायको केही हिस्सा समाजका लागि पनि योगदान गरिरहेको छु । पहिलेदेखि नै सामाजिक र मानवीय सेवामा आफ्नो जीवनको महत्त्वपूर्ण हिस्सा दिइरहेको छु ।

७२ सालको भूकम्पको बेला होस् वा कोभिडको समयमा विभिन्न सामाजिक संघ–संस्थाहरू मार्फत पनि देश र समाजलाई दु:ख पर्दा आफ्नो व्यापार व्यवसाय छाडेर मानवीय सेवालाई पहिलो प्राथमिकतामा राखेर योगदान गर्दै आएको छु ।’

आजका दिनसम्म आफूले जानेर वा बुझेर कुनै गलत कार्य गरेको जस्तो लाग्दैन तर, यस्तो गरिरहँदा पनि आज आफू बस्ने घर र अफिस जलाइँदा मन पनि जल्दो रहेछ ।

जलेको घरको आगोसँगै मेरा ती सबै उत्साह पनि जलेर खरानी भएका छन् । जलेर खण्डहर भएको घर हेर्दा नेपालमा बसेर व्यवसाय गर्नु नै गल्ती भएछ कि भन्ने लागिरहेको छ ।

मेरा बुवा–बाजेहरूले आर्जेको जग्गामा बनाइएको यो घरसँग मेरो ३५ वर्षदेखिको मेहनत र पसिना जोडिएको थियो, तर एकछिनमा सबै खरानी बनाइदिए ।

सम्पत्ति र घर गुमाउनुको पीडा त एकातिर छँदै थियो, त्योभन्दा धेरै पीडा हाम्रो परिवारकै सदस्य भएर बसेकी (घरमा काम गर्ने) बहिनीलाई गुमाउनु पर्दा भइरहेको छ ।

घटना हुनुभन्दा केही क्षणअघि मात्रै हामी सबै परिवारलाई खाना बनाएर खुवाएकी ती बहिनी एकछिनमै बर्बरतापूर्वक जिउँदै आगोमा जलाएर मारिन्छिन् भनेर कल्पना पनि नगरेको वीभत्स घटना व्यहोर्नुपरेको छ ।

घरमा मान्छे छन् भन्ने जानकारी हुँदाहुँदै तलबाट आगो लगाउने काम जेनजीले गरेका हुन् वा त्यहाँभित्र अरू नै कोही थिए, समयक्रमले बताउँदै जाला । तर, जोसुकै हुन्, ती क्रूर अपराधीहरू भोलिका दिनमा कुनै राजनीतिक खोल ओडेर उम्किन नपाऊन् ।

यो देश निर्माण गर्न हाम्रो पुर्खाको पनि महत्त्वपूर्ण योगदान छ । उनीहरूकै सन्तान हौं हामी । यसैले हामीलाई यो देशको अझ बढी माया छ ।

यो अत्यन्त पीडादायी क्षणमा हामीप्रति सहानुभूति प्रकट गर्दै हाम्रो आत्मबल कायम राख्न महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहनुभएका सम्पूर्ण महानुभावप्रति हृदयदेखि नै आभार प्रकट गर्दछु । यहाँहरूले प्रदान गर्नुभएको उत्प्रेरणाका वचनहरूले हामीलाई पहिलेको भन्दा पनि अझै सशक्त भएर अगाडि बढ्ने हौसला मिलेको छ ।

salt training

कमेन्ट गर्नुहोस्